८ वैशाख २०८१ शनिबार
अर्थ

नागढुंगा सुरुङमार्ग निर्माण एक वर्षपछि धकेलिने

नागढुंगा सुरुङमार्ग निर्माणको काम थप एक वर्ष धकेलिने भएको छ। सुरुङमार्गको निर्माण पहिलो पटक थप गरिएको समयसीमा भित्र सम्पन्न नहुने लगभग निश्चित जस्तै छ। सुरुको ठेक्का सम्झौता अनुसार यो आयोजना २६ अप्रिल २०२३ भित्रै निर्माण सम्पन्न हुनुपर्ने थियो। यो परियोजनामा अहिलेसम्म पनि सुरुङको ब्रेक थ्रु र फिनिसिङ लगायतका काम अधुरै भएकाले पनि तोकिएको समयमा नसकिने भएको हो। यो परियोजनाको लागि पहिलो चरणमा ८६ दिन मात्रै म्याद थप गरिएको थियो। यो परियोजनाको म्याद सन् २०२३ को जुनसम्म रहेको छ तर सो अवधिसम्म पनि आयोजनाको सुरुङको ब्रेक थ्रुको काम मात्रै सकिने सम्भावना रहेको छ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका डेपुटी प्रोजेक्ट डाइरेक्टर माधवप्रसाद अधिकारीले निर्माणाधीन सुरुङ अबको पाँच महिनाभित्रै ब्रेक थ्रु (सुरुङ छेड्ने) भइसक्ने बताए। ‘हामीले अबको पाँच महिनाभित्रै सुरुङमार्गको ब्रेक थ्रु गर्ने लक्ष्य राखेका छौं,’ उनले भने ‘२६ सय ८८ मिटरको मुख्य सुरुङ खन्नुपर्नेमध्ये अहिलेसम्म १७ सय ८२ मिटर खनिसकेका छौं। बाँकी ९ सय २ मिटर सुरुङ पनि छिट्टै सक्नेछौं।’

डेपुटी प्रोजेक्ट डाइरेक्टर अधिकारीले सुरुङमार्गको सम्पूर्ण काम सम्पन्न गर्न कम्तिमा पनि अझै एक वर्ष म्याद थप गर्नुपर्ने बताए। ‘सुरुङ खनेर मात्रै काम सकिदैन। सुरुङको भुइँ ढलानदेखि आवश्यक सम्पूर्ण संरचना तयार पार्नसमेत थप एक वर्ष लाग्ने देखिन्छ,’ उनले भने ‘सुरुङमार्गमा सवारी साधन गुडाउनुपर्ने भएकाले पनि केही समय बढी लाग्नेछ।’

यो सुरुङमार्ग निर्माणको क्रममा गत असोजमा सुरुङमा स्कुजिङ (आन्तरिक पहिरो) गएकाले निर्माण अवधि केही समय लम्बिएको हो। स्कुजिङको कारणले एक सय मिटर सुरुङमा क्षति भएको थियो। केही समय अघि स्थानीयको अवरोधको कारणले एक साता समय परियोजना निर्माणको काम रोकिएको थियो। डेपुटी प्राजेक्ट डाइरेक्टर अधिकारीले अहिले सुरुङमार्गमा स्कुजिङको समस्या समाधान भइसकेको बताए।

‘अहिले सुरुङमार्गको लागि जग्गा प्रप्तिका लागि २५ करोड रूपैयाँ बजेट अभाव भएको छ। अर्काेतर्फ कार्यालयले आवश्यक खर्च पनि बजेटको अभाव देखिएको छ,’ उनले भने। मुख्य सुरुङको कुल लम्बाइ २६ सय ८८ मिटरमध्ये हालसम्म १७ सय ८२ मिटर खन्ने काम भएको छ।

आयोजनाले आइतबार सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार मुख्य सुरुङको काठमाडौंतर्फ ८ सय ५१ मिटर र धादिङतर्फ ९ सय ३१ मिटर खनिएको छ। इभाक्युएसन टनेलतर्फ दुई हजार ४६ मिटर खनिएको छ। जसमध्ये काठमाडौंतर्फ १०९८ मिटर र धार्दिङतर्फ ९ सय ४७ मिटर खनिएको हो। आयोजनाका अनुसार मुख्य सुरुङमार्ग, इभाक्युएसन टनेल, वर्किङ अडिट र क्रस प्यासेजतर्फको मात्रै भौतिक प्रगति ७३.३० प्रतिशत भएको छ। टनेलको भुइँ ढलान भने ९ सय ५७ मिटर अर्थात् ३४ प्रतिशत सकिएको छ। आयोजनाको हालसम्मको समष्टिगत भौतिक प्रगति ४७.९० प्रतिशत र समष्टिगत वित्तीय प्रगति ४९.५९ प्रतिशत भएको छ।

यो परियोजनाअन्तर्गत तीन वटा अन्डरपास निर्माणको काम सकिएको छ। त्यसैगरी बक्स कल्भर्ट पनि चार वटै सम्पन्न भएको छ। ओभरपास संरचनाको काम तीन वटा पुलको काम पनि सकिएको छ। निर्माण गर्नुपर्ने फ्लाईओभरको मुआब्जा तथा क्षतिपूर्ति दिने काम अहिलेसम्म ९५ प्रतिशत सकिएको छ। फ्लाईओभरको पाँच वटा सबस्ट्रक्चरमध्ये अहिलेसम्म दुई वटाको मात्र काम सकिएको छ। अन्य तीन वटा सब-स्ट्रक्चरको काम अझै भइरहेका छन्।

धादिङ र काठमाडौंतर्फ ५-५ सय मिटर सडक, दुई फ्लाइओभर र सुरुङ मार्ग तथा मुआब्जासहित उक्त आयोजनामा करिब साढे २२ अर्ब लागत लाग्नेछ। यो परियोजना निर्माण गर्ने ठेक्का जापानी कम्पनी हाज्मा आन्दो कर्पाेरेसनले पाएको छ। सुरुङ मार्ग निर्माण गर्न जापान सरकारले ०.०१ प्रतिशत व्याज दरमा ४० वर्षका लागि ऋण दिने सम्झौता भइसकेको छ। यो आयोजना निर्माणमा जापानी सहयोग नियोग जाइकाले साढे १६ अर्ब ऋण र नेपाल सरकारको करिब ६ अर्ब गरी कुल साढे २२ अर्ब रूपैयाँ लाग्नेछ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ६ गते सुरुङ मार्ग शिलान्यास गरे पनि सुरुङ खन्ने काम झण्डै १४ महिनापछि मात्र सुरु भएको थियो। 

प्रकाशित: २५ पुस २०७९ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App