१६ चैत्र २०८० शुक्रबार
अर्थ

पुँजी वृद्धिको चटारोमा बैंक

काठमाडौं–आगामी साढे ११ महिनाभित्र चुक्ता पुँजी ८ अर्ब पु¥याउनुपर्ने बाध्यात्मक स्थिति भएपछि वाणिज्य बैंकहरु पुँजी वृद्धिको चटारोमा छन् । धेरैजसो बैंकले हकप्रद सेयर निष्कासन वा बोनस सेयर वितरण गरेर चुक्ता पुँजी बढाउने योजना बनाएका छन् । केहीले भने मर्जर तथा एक्विजिसनको बाटो अपनाएका छन् ।

२९ वाणिज्य बैंकमध्ये सिटिजन्सले चुक्ता पुँजी बढाउन ५५ प्रतिशत हकप्रद सेयर निष्कासन गरिसकेको छ । गत आइतबारसम्म आवेदन दिनेले मात्र उक्त सेयर पाउने बैंकको भनाइ छ । यसअघि एनआइसी एसिया बैंकले २५ प्रतिशत हकप्रद सेयर जारी गरेको थियो ।
यसैगरी, सानिमा बैंकले पनि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ । आगामी आइतबारसम्म उक्त हकप्रद सेयर खरिदका लागि निवेदन दिन सकिने व्यवस्था बैंकले गरेको छ ।

एनआइसी एसिया, सिटिजन्स र सानिमा बैंकबाहेक अन्य १३ बैंक हकप्रद सेयर निष्कासनको अन्तिम तयारीमा जुटेका छन् । उक्त हकप्रद सेयर निष्कासनका लागि केही बैंकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत लिएका छन् भने केही लिने अन्तिम तयारीमा छन् ।
२०७४ को असार मसान्तभित्र चुक्ता पुँजी न्यूनतम ८ अर्ब रुपैयाँ हुनुपर्ने बाध्यात्मक व्यवस्था केन्द्रीय बैंकले गरेको छ । त्यही उद्देश्य पूरा गर्न उनीहरुले हकप्रद सेयर निष्कासनको बाटो अबलम्बन गरेका हुन् ।

सेन्चुरी बैंकले हकप्रद सेयर निष्कासनका लागि १८ गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने सार्वजनिक सूचना निकालेको छ । उक्त बैंक ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने अन्तिम तयारीमा छ । मेगा बैंकले साउन २७ गतेदेखि २५ प्रतिशतका दरले हकप्रद सेयर निष्कासन गर्दैछ ।

नेपाल धितोपत्र बोर्डले पनि हकप्रद सेयर निष्कासन प्रक्रियालाई सहज बनाएको छ । बोर्डले अधिकतम १२ दिनभित्र हकप्रद सेयर निष्कासनको स्वीकृति दिइसक्ने बताएको छ । यसअघि हकप्रद सेयर निष्कासनकोे स्वीकृतिका लागि १ महिनासम्म लगाउने गरेको थियो ।
केन्द्रीय बैंकले तोकेको अवधिभित्र चुक्ता पुँजी नपु¥याउने समयसम्म क्रेडिट रेटिङ प्रक्रिया पनि सहज बनाइएको छ । लगातार नाफामा सञ्चालित बैंकहरुले क्रेडिट रेटिङ गर्नु नपर्ने व्यवस्था गरिएको बोर्डका प्रवक्ता निरज गिरीले बताए । यसअघि क्रेडिट रेटिङ गर्न ३ महिनासम्म लाग्ने गरेको थियो ।

क्रेडिट रेटिङ गर्न लामो समय लागेका कारण हकप्रद सेयर निष्कासनमा ढिलाइ हुँदै आएको थियो । हकप्रद सेयर निष्कासनका लागि फास्ट ट्र्याकमा काम हुन थालेपछि बैंकरले केही सहज महसुस गरेका छन् । हालसम्म सबैभन्दा धेरै लक्ष्मी बैंकले चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ भने सबैभन्दा कममा हिमालयन बैंकको १४.२८ प्रतिशत छ ।

नेपाल एसबिआई बैंकले प्रिमियममा २ अर्ब ६० करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्ने निर्णय गरेको छ । नेपाल बंगलादेश बैंकले चुक्ता पुँजीको ८० प्रतिशत, सानिमा, कृषि विकास र माछापुच्छे« बैंकले चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेका छन् ।
सनराइज, प्राइम, सेन्चुरी बैंकले चुक्ता पुँजीको ३० प्रतिशत तथा सिद्धार्थ र मेगा बैंकले २५ प्रतिशतको अनुपातमा हकप्रद सेयर जारी गर्दै छन्। नेपाल बैंकले २३.७४ प्रतिशत हकप्रद सेयर जारी गरेर चुक्ता पुँजी बढाउँदै छ ।

केही वाणिज्य बैंकले वित्तीय संस्थालाई खरिद गरिसकेपछि हुन आउने चुक्ता पुँजीपछि हकप्रद सेयर जारी गर्देै छन् । सनराइज बैंकले नारायणी नेसनललाई खरिद गरिसकेको छ । उक्त बैंकले हकप्रद सेयर जारी गर्दैछ । मर्ज, एक्विजिसन वा थप नयाँ सेयर निष्कासन (एफपिओ) को बाटोमा स्ट्यान्डर्ड चार्टर्ड र एभरेस्ट बैंक गए भनेमात्र हकप्रद आवश्यक नहुन सक्छ । बोनस सेयर दिएर यी दुई बैंकले पुँजी बढाउन सक्ने सम्भावना पनि त्यत्तिकै छ ।

चुक्ता पुुँजी कम भएका बैंकले हकप्रद सेयर निष्कासन गर्ने सम्भावना भएकाले पनि लगानीकर्ता त्यस्ता कम्पनीको सेयर खरिद गर्न आकर्षित भएका छन् । पछिल्लो समय कम चुक्ता पुँजी भएका स्ट्यान्डर्ड चार्टर्ड, एभरेस्ट लगायत बैंकको सेयर मूल्य बढेको छ ।

 

प्रकाशित: १२ श्रावण २०७३ ०५:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App