७ वैशाख २०८१ शुक्रबार
अर्थ

कोर बैंकिङ सिस्टम आपूर्ति तथा जडान प्रस्ताव माग: नेपाली कम्पनीलाई वञ्चित गर्दै नेपाल बैंक

नेपाल बैंक लिमिटेडले नेपाली आइटी कम्पनीलाई प्रतिस्पर्धाबाट वञ्चित गर्नेगरी ‘वेब’ मा आधारित कोर बैंकिङ सिस्टम आपूर्ति तथा जडान गर्न प्रस्ताव आह्वान गरेको छ। विदेशी कम्पनीसँगको मिलेमतोमा स्वदेशी कम्पनी अयोग्य हुने गरी इओआई (आशयपत्र) आह्वान गरेका कारण स्वदेशी कम्पनीहरूले आपत्ति जनाएका छन्।

डेस्कटपमा आधारित बैंकिङ सर्भर प्रयोग गर्दै आएको नेपाल बैंकले अन्तर्राष्ट्रिय कम्पनी मात्र योग्य हुने गरी आशयपत्र आह्वान गरेको हो। सरकारले ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने उद्घोष गरिरहँदा सरकारी स्वामित्वको बैंकले विदेशी कम्पनीलाई सहज हुने गरी सफ्टवेयर खरिद प्रक्रिया अघि बढाएको हो। आशयपत्रमा योग्य भएको कम्पनीले मात्र प्राविधिक र आर्थिक प्रस्तावमा भाग लिन पाउँछन्।

बैंकले करिब १० करोड रूपैयाँभन्दा बढी खर्च गरेर ‘वेब’मा आधारित कोर बैंकिङ सोलुसन जडान गर्ने तयारी गरेको छ। सार्वजनिक खरिद ऐनअनुसार परामर्श सेवाअन्तर्गत १० करोड रूपैयाँमाथिको टेन्डर आह्वान गर्दा नेपालीसहित अन्तर्राष्ट्रिय कम्पनीले प्रतिस्पर्धा गर्न पाउने व्यवस्था छ।

नेपाल बैंकले आह्वान गरेको आशयपत्रमा दुराशय देखिएको कम्युटर एसोसिएसन अफ नेपाल (क्यान फेडरेसन) का महासचिव चिरञ्जीवी अधिकारीले बताए। स्वदेशी कम्पनीले तयार गरेको वेबमा आधारित सफ्टवेयर अन्य बैंकले प्रयोग गरिरहेको अवस्थामा नेपाल बैंकले नेपाली आइटी कम्पनीलाई अयोग्य हुने गरी प्रस्ताव आह्वान गर्नु आपत्तिजनक भएको उनको दाबी छ।

‘नेपाली आइटी कम्पनीको प्रोडक्टमा गुणस्तर हुँदाहुँदै नेपाल बैंकले विदेशी कम्पनीलाई ल्याउन खोज्नु आपत्तिको विषय हो,’ क्यान फेडरेसनका महासचिव अधिकारीले भने, ‘यसमा सरकारको ध्यान जानुपर्छ।’ विदेशी कम्पनीको सफ्टवेयर प्रयोग गर्दा नेपाली पैसा विदेश जाने मात्र नभएर सुरक्षा चुनौती पनि थपिने उनको तर्क छ।

‘विदेशी सफ्टवेयर हुँदा डेटामा विदेशीको पहुँच हुन्छ,’ अधिकारीले भने, ‘यसले मुलुकका लागि पनि हित गर्दैन।’ नेपालीले बनाएको सफ्टवेयर गुणस्तरीय छ/छैन भन्ने विषयमा स्वतन्त्र विज्ञबाट मूल्यांकन गराएर यहाँ उत्पादन गर्न नसके मात्र विदेशबाट ल्याउनुपर्ने अधिकारीले बताए। ‘गुणस्तरीय प्रोडक्ट हुँदाहुँदै केकति स्वार्थले विदेशी कम्पनी ल्याउन खोजिएको छ,’ उनले भने, ‘यसमा सरोकारवालाको ध्यान जानुपर्छ।’

नेपाल बैंकले सफ्टवेयर खरिदको पहिलो चरणमा माग गरेको आशयपत्रमा नेपाली कम्पनी प्रतिस्पर्धा गर्न पाउने भए पनि ती कम्पनीमा काम गर्ने अधिकांश जनशक्ति विदेशी हुनुपर्ने उल्लेख छ। यो प्रावधानले नेपाली कम्पनी प्रतिस्पर्धाबाट बाहिरिने बाध्यात्मक स्थिति सिर्जना गरिएको छ। नेपाली आइटी कम्पनीमा स्वदेशी जनशक्ति कार्यरत छन्। कन्सल्टिङ फर्ममा काम गर्ने जनशक्ति अन्तर्राष्ट्रिय हुनुपर्ने प्रावधान छ। यसले नेपाली कम्पनी प्रतिस्पर्धाबाट बाहिरिने देखिन्छ।

आशयपत्रमा सिबिएस विज्ञका रूपमा काम गर्ने टिम लिडर तथा परियोजना मेनेजर, डेपुटी टिम लिडर, कोर प्रोग्रामर, सिस्टम एनालिस्ट लगायत जनशक्ति अनिवार्य अन्तर्राष्ट्रिय हुनुपर्ने प्रावधान राखिएको छ।

नेपाली कम्पनीहरूमा आफ्ना नागरिकले काम गर्ने भएकाले विदेशी जनशक्ति मागेर स्वदेशी आइटी कम्पनीलाई प्रतिस्पर्धाबाट बाहिर राख्ने खेल भएको आइटी कम्पनी इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सिइयो) उमेश रघुवंशीले बताए। विदेशमा समेत सफ्टवेयर सप्लाई गरिरहेको इन्फोडेभलपर्सका सिइओ रघुवंशीले नेपाली कम्पनीलाई आउट गर्ने योजनामा प्रस्ताव आह्वान गरिएको आरोप लगाए।

‘नेपाल बैंकको टेन्डरमा दुराशय देखियो,’ उनले भने, ‘नेपालीले बनाएका सफ्टवेयर विदेशीमा प्रयोग भइरहेका छन्, नेपालमा किन प्रयोग नहुने? नेपाली आइटी कम्पनी मर्कन्टाइलले वेब सर्भर बेस सफ्टवेयर तयार गरेर म्यानमारका बैंकमा प्रयोग गरेको उनको तर्क छ। त्यसैगरी इन्फोडेभलपर्सले पनि भुटानमा बैंकिङ सफ्टवेयर आपूर्ति गर्दै आएको छ।

नेपाली आइटी इन्जिनियर तथा कम्पनीले विदेशमा गएर समेत काम गरिरहेको अवस्थामा स्वदेशमा नेपाली कम्पनीलाई निरुत्साहित गर्न खोजिएको नेपाली आइटी कम्पनीको गुनासो छ। ‘विदेशका बैंकमा सक्षम भएका आइटी कम्पनीलाई स्वदेशमै अयोग्य बनाउने खोजिएको छ,’ एक आइटी कम्पनीका सञ्चालकले भने, ‘नेपाल बैंकका उच्च अधिकारीको मिलेमतोमा यस्तो गरिएको हो।’ उनका अनुसार यहाँका धेरै कम्पनीले विदेशमा सफ्टवेयर आपूर्ति गर्दै आएका छन्।

विदेशी मुद्रा सञ्चितिमा चाप परिरहेको अवस्थामा विदेशी मुद्रा बाहिर जाने गरी खरिद प्रक्रिया अघि बढाइएको छ। आशयपत्रमा कोर प्राविधिक तथा व्यवस्थापन तालिम पनि विदेशमा गर्नुपर्ने उल्लेख छ। नेपाल बैंकका अधिकारीहरू भने आरोप स्वीकार गर्न तयार छैनन्। १० करोड रूपैयाँमाथिको सेवा खरिद गर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय आशयपत्र आह्वान गर्नुपरेको नेपाल बैंक लिमिटेडका प्रवक्ता प्रकाशकुमार अधिकारीले बताए। ‘सार्वजनिक खरिद ऐनको परिधिमा रहेर आशयपत्र आह्वान गरेका हौं,’ अधिकारीले भने, ‘विदेशी मात्र होइन नेपाली कम्पनीले पनि प्रतिस्पर्धामा भाग लिन पाउँछन्।’

अधिकारीले स्वीकार नगरे पनि नेपाल बैंकका अर्का एक उच्च अधिकारीले भारतीय कम्पनीसँगको मिलेमतोमा यो आशयपत्र माग गरिएको दाबी गरे। ‘इन्डियन कम्पनीसँग मिलेमतो गर्न खोजिएका हल्ला अफिसभित्र पनि चलेको छ,’ ती अधिकारीले भने, ‘उच्च व्यवस्थापनको निर्णय अनुसार यो निर्णय भएको हो।’

नेपाल बैंकले अहिले नेपाली आइटी कम्पनी मर्कन्टाइलले तयार गरेको डेस्कटपमा आधारित बैंकिङ सफ्टवेयर प्रयोग गर्दै आएको छ। अहिलेको सिस्टम पुरानो भएकाले अत्याधुनिक प्रविधिलाई प्रयोग गर्न लागिएको प्रवक्ता अधिकारीको भनाइ छ। ‘अन्तर्राष्ट्रिय मापदण्डको कोर बैंकिङ सिस्टम आवश्यक छ,’ उनले भने, ‘सुरक्षालगायतका कारण अद्यावधिक गर्न लागेका हौं।’

प्रकाशित: २४ पुस २०७९ ००:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App