७ वैशाख २०८१ शुक्रबार
अर्थ

पश्चिममा साख गुमाउँदै निगम

पोखरा– पर्यटकीय गन्तव्य भएकाले काठमाडौं–पोखरा रुटमा निजी हवाइ कम्पनीले पर्याप्त मात्रामा उडान गरिरहेका छन् । पर्यटकीय हिसाबले सिजन र अफसिजनमा समेत एकाध बाहेक यो रुटमा निजी कम्पनीको उडान संख्या खासै घटबढ हुँदैन । दैनिक दर्जन हाराहारीमा यो रुटमा नियमित उडान भइरहेको छ । तर, यही रुटमा सरकारी वायुसेवा नेपाल वायुसेवाले उडान नगरेको महिनौं बितिसकेको छ ।

आम्दानीको हिसाबले पनि काठमाडौं–पोखरा रुट अब्बल मानिन्छ । तर, निगमले नियमित उडान गर्न नसक्दा यो रुटको कमाइ गुमाइरहेको छ । त्यस्तै पोखरालाई आधार मानेर उडान गर्ने पोखरा–जोमसोम रुटमा पनि निगमले उडान नगरेको करिब एक वर्ष हुन थालेको छ । पोखरा–जोमसोम पनि आम्दानीको हिसाबले महत्वपूर्ण रुट मानिन्छ । पोखरा–जोमसोम रुटमा अहिले निजी कम्पनीले सिजनका बेला एकैदिन दर्जनभन्दा बढी संख्यामा उडान गर्छन् ।

त्यस्तै अर्काे रुट पोखरा–मनाङमा उडान नभएको वर्षाै बितिसकेको छ । पोखरा–मनाङ रुटमा कुनै बेला सातामा चारवटासम्म उडान गर्दै आएको निगमले वर्षाैदेखि एउटा पनि उडान गरेको छैन । पोखरा–मनाङ रुटमा निजी कम्पनीले पनि उडान गर्दैनन् । कुनै पनि कम्पनीले उडान नगर्दा पोखरा–मनाङ हवाई सेवा वर्षाैदेखि अवरुद्ध छ । मनाङका बासिन्दाले लामो समयदेखि पोखरा–मनाङ रुटमा उडान गर्न अनुरोध गरिरहे पनि त्यसको सुनुवाइ कतै भएको छैन । कुनै बेला निकै चल्तीका रुटमा पर्ने काठमाडौं–पोखरा, पोखरा–जोमसोम र पोखरा–मनाङमा लामो समयदेखि नेपाल एयरलाइन्सको उपस्थिति नहुँदा पश्चिम क्षेत्रमा निगमको साख गुम्न थालेको पर्यटन व्यवसायीको भनाइ छ ।

मनाङका पर्यटन व्यवसायी बिनोद गुरुङ पश्चिम क्षेत्रमा निगमले कुनै पनि उडान नगर्दा दुर्गम क्षेत्रमा समस्या भएको बताउँछन् । ‘मनाङको हुम्दे विमानस्थलमा कच्ची धावनमार्ग हुँदासम्म उडान हुन्थ्यो । जब कालोपत्रे भयो, त्यसपछि कुनै पनि उडान भएको छैन,’ उनले भने, ‘न सरकारी न त निजी, दुवै क्षेत्रबाट मनाङको हवाइ सेवा बेवास्ता भएको छ ।’ अहिले मनाङसम्म मोटरबाटो पुगेर गाडी चल्न थाले पनि बिरामी, अशक्त र आपतकालीन अवस्थाका बिरामीलाई पोखरासम्म लैजानका लागि समस्या भएको उनले बताए । ‘गाडीको व्यवस्था पनि भरपर्दाे छैन । मोटरबाटो पनि सहज छैन,’ उनले भने, ‘हामीले बारम्बार पोखरा–जोमसोम उडान गर्न माग गरेका छौं । तर, यसको सुनुवाई कतै भएको छैन ।’

उनका अनुसार पोखरा–मनाङ रुटमा कुनै बेला नेपाल वायुसेवा निगमले सातामा ४ वटासम्म उडान गथ्र्यो । त्यो संख्या घट्दै सातामा एक उडानमा झरेको थियो । तर, वर्षाैदेखि एउटा पनि उडान भएको छैन । ‘करोडौं रुपैयाँ खर्च गरेर कालोपत्रे गरिएको विमानस्थलको धावनमार्ग अहिले बेकामे बनेको छ । सरकारी लगानी खेर गएको छ,’ उनले भने, ‘करोडौं रुपैयाँ नोक्सान भएको छ । तर, जहाज चलेका छैनन् ।’
नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्टस (नाट्टा) पश्चिमाञ्चल च्याप्टरका अध्यक्ष दील गौतम सरकारी वायुसेवाले चल्तीकोे रुटमा उडान नगरेर साख गुमाएको बताउँछन् । ‘सबै निजी कम्पनीसँग दुर्गममा उड्ने जहाज छैनन् । निगमसँग दुर्गमका गन्तव्यसम्म उड्ने जहाज भए पनि ती रुटमा उडान भएको छैन,’ उनले भने, ‘आम्दानीका हिसाबले पनि अब्बल गन्तव्यमा उडान नगर्दा निगमले आम्दानी गुमाएको छ ।’ पोखरालाई आधार मानेर गरिने काठमाडौं, जोमसोम र मनाङका गन्तव्य आम्दानीका हिसाबले गतिला मानिए पनि पश्चिममा यी रुटमा उडान नहुँदा निगमप्रति विश्वसनियता गुम्न थालेको उनले बताए ।

‘अहिले त नेपाल एयरलाइन्सको जहाजको उडान र टिकटबारे सोध्न पनि आउन छाडिसकेका छन् । चल्तीको रुटलाई बेवास्ता गरिएको छ,’ उनले भने, ‘उडान थाल्न जति ढिला भयो, त्यति नै निगमले नागरिकको विश्वसनियता गुमाउँछ ।’ दुर्गमका गन्तव्यमा निजी कम्पनीले मनलाग्दी भाडा असुलिरहेका बेला सरकारी जहाजले उडान नगर्दा सर्वसाधारण ठगिन पुगेको उनले बताए । ‘दुर्गमका गन्तव्यमा उडान नगर्दा निजी क्षेत्रको मनपरि बढिरहेको छ,’ उनले भने ।

निगमका पोखरा प्रमुख विजय बस्नेत पोखरालाई आधार मानेर नियमित उडान नभएको महिनौं भइसकेको बताउँछन् । केही महिनाअघिसम्म निगमले चीनबाट ल्याएको जहाजबाट पोखरा–काठमाडौं रुटमा उडान गरे पनि त्यो समेत नियमित हुन नसकेको उनले बताए । ‘निगमसँग दुर्गमका गन्तव्यमा उड्ने जहाज नै निकै कम छन् । त्यसले गर्दा उडान भर्न नसकिएको हो,’ उनले भने, ‘सबैभन्दा ठूलो समस्या नै जहाज अभाव हो ।’

उनका अनुसार निगमसँग अहिले दुर्गममा उड्न सक्ने एउटा मात्र ट्विनअटर जहाज मात्र छ । दुई ट्विनअटरमध्ये एउटा बिग्रेको छ । अर्काे एउटाले कर्णालीका गन्तव्यमा मात्र उडान गरिरहेको छ । चीनबाट आएको जहाज पनि बिग्रेपछि पोखरा–काठमाडांै उडान पनि नियमित हुन नसकेको उनले बताए । ‘पोखरा–काठमाडौं रुटमा निजी क्षेत्रले पनि उडान गरिरहेका छन् । निगमले आम्दानीको रुट हुँदाहुँदै पनि कर्णालीको दुर्गम क्षेत्रमा सेवा दिन चाहेकाले यहाँ अभाव भएको हो,’ उनले भने, ‘बिग्रेका जहाज मर्मतपछि यो रुटमा उडाउने योजना छ ।’ पोखरामा नियमित उडान नभएपछि निगमका यहाँका कर्मचारीलाई कामको चाप समेत नभएको उनले बताए । ‘निगमका अन्तर्राष्ट्रिय र केही आन्तरिक टिकट काट्ने र व्यवस्थापनको काम गर्छौं । उडान नभएकाले विमानस्थल धाउनु परेको छैन,’ उनले भने ।

 

प्रकाशित: ११ श्रावण २०७३ ०८:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App