९ आश्विन २०७७ शुक्रबार
अर्थ

नेपाली चिया प्रतिबन्ध गर्ने भारतीय ब्यापारीको चेतावनी

इलाम- भारतीय व्यापारीले नेपाली अर्थाेडक्स चियामा गुणस्तर नभएको भन्दै भारत आयातमा रोक लगाउन दबाब दिएपछि देशभरका चिया उद्योगी झस्किएका छन्। आउँदो अक्टोबरमा हुने नेपाल–भारत पारबहन सम्झौता नवीकरणको केही महिनाअघि त्यहाँका व्यापारीले यस्तो माग गरेपछि उद्योगीमात्र होइन, किसानमा समेत यसको तरंग छाएको छ।

८० प्रतिशत भारत निकासी भइरहेको नेपाली चियाको व्यापार रोकिए अर्बाैको अर्थतन्त्रमा धक्का लाग्ने देखिएको छ। दार्जिलिङ टी एसोसिएसनको अगुवाइमा भारतीय चिया व्यापारीहरूले राष्ट्रपति प्रवण मुखर्जीलाई समेत नेपाली चिया आयातमा रोक लगाउन माग गरिसकेका छन्। दार्जिलिङ आएका मुखर्जीलाई एक कार्यक्रम नै आयोजना गरी गत १४ जुलाईमा उनीहरूले नेपाली चिया भारतको नाममा खुला व्यापार हुँदा भारतीय चिया बिक्रीमा असर पुगेको जनाएका थिए। त्यही समारोहमा गोर्खा टेरिटोरियल एड्मिनिस्ट्रेसन (जिटिए) अध्यक्ष विमल गुरुङले समेत नेपाली चिया भारतका नामका बेच्दा भारतीय चियाको गुणस्तरमा असर गरेको भन्दै आयात प्रतिबन्ध गर्न माग गरेका थिए।

नेपालको अर्थाेडक्स तयारी चिया भारतको उत्पादनमा मिसाएर भारतकै चियाका नाममा बिक्री हुने गरेको छ। यस्तो चियाको धेरै हिस्सा भारत र केही तेस्रो मुलुकसमेत पुग्छ। एसोसिएसनले १४ जुलाईयता पनि पटक–पटक नेपालको चिया अर्गानिक नभएको र गुणस्तर पनि कम भएकाले भारतको चियालाई असर गरेको बताइरहेको छ। एसोसिएसनले 'दार्जिलिङको चिया पिउन पूर्ण सुरक्षित र अर्गानिक भएपनि नेपालको चिया पिउन असुरक्षित र अर्गानिक नभएको' भनाइ सार्वजनिक गरेको छ। भारतीय पक्षबाट यस्तो भनाइ आएपछि पूर्वी पहाडी जिल्लाका चिया उत्पादक किसान र उद्योगी चिन्तामा छन्। उनीहरू भारतले नेपाली चियामा रोक लगाए यहाँको उत्पादन बिक्री नहुने र बिक्री भएपनि मूल्य कम हुने बताउँछन्। तर, भारतीय व्यापारीले भने नेपालबाट भारत पुग्ने चिया 'नेपालकै चिया'का रूपमा बिक्री गर्न चाहिँ बाधक नबन्ने बताएका छन्।

नेपालमा बर्सेनि अढाई करोड किलो तयारी चिया उत्पादन हुने गरेको चिया तथा कफी विकास बोर्डको तथ्यांक छ। यो उत्पादनमध्ये आर्थिक वर्ष २०७१/०७२ मा १ करोड १३ लाख २० हजार किलो चिया निर्यात भएको छ। ८० लाख किलो नेपालमै खपत हुने गरेको छ। बर्सेनि १ करोड ८१ लाख ४५ हजार किलो क्रस टियर कर्ल (सिटिसी) र ४९ लाख २३ हजार किलो अर्थाेडक्स चिया उत्पादन हुने गरेको बोर्डले जनाएको छ।

निर्यातको पनि ८० प्रतिशत भारत नै जाने गरेको छ। भारतमा चिया निकासी हुन नपाउँदा इलाम, झापा, पाँचथर, धनकुटालगायत जिल्लामा व्यावसायिक चिया खेती गरिरहेका हजारौं किसान प्रभावित हुनेछन्। सन् २०१३ मा पनि त्यहाँका व्यापारीले दुवैखाले नेपाली चिया अर्गानिक नभए सन् २०१५ पछि खरिद नै नगर्ने जनाएका थिए। त्यसपछि दार्जिलिङ क्षेत्रको सबैजसो चिया अर्गानिक बनाउने लहरै चल्यो। पूर्वी पहाडका कतिपय किसान र बगानले पनि चियालाई अर्गानिक बनाउने प्रक्रिया सुरु गरे। तर, भारतमा नेपालको ननअर्गानिक चियाको खरिद नै भने रोकिएको छैन।

नेपाल चिया विकास निगमअन्तर्गतका सरकारी बगानमा बर्सेनि करिब २३ लाख किलो चिया उत्पादन हुने गरेको चिया बगान लिजमा लिएको त्रिवेणी सांघाई समूहले जनाएको छ। समूहका प्रमुख सुवास सांघाईले आफ्नो सबै उत्पादन भारतमै व्यापार हुने गरेकाले बिक्री रोकिए यहाँको धेरै उत्पादनमा असर हुने बताए। 'भारतका व्यापारीले नेपालको निर्यात रोके नेपाली चियाको मूल्यमा गिरावट आउँछ,' सांघाईले नागरिकसँग भने, 'सबै चिया अर्गानिक बनाउन सम्भव छैन, धेरै मेहनत गर्नुपर्छ।' उनले चियामा उच्च गुणस्तर कायम गर्न कम्तीमा ३ वर्ष लाग्ने भएकाले उत्पादनमा असर पुग्ने बताए।

उनले नेपालको चिया 'मेड इन नेपाल' लेखेरै निर्यात हुने भएपनि भारतकै व्यापारीले 'भारतको चिया'का नामका बेच्ने गरेको बताए। 'हामी त नेपालकै चियाको नाममा प्याक गरेर जाँचसमेत गराइ भारतमा बेच्छौं तर त्यहींका व्यापारीले उताको चियामा मिसाउँछन् र भारतको भनेर बेच्छन्,' उनले भने, 'गुणस्तरअनुसारको मूल्य कायम गरे बिक्रीमा समस्या नै आउँदैन नि!' सांघाईले नन्अर्गानिक चिया जर्मनीमा समेत बिक्री हुने गरेको बताए। मापदण्डभन्दा बाहिर वा मानवस्वास्थ्यलाई हानी गर्ने विषादी आफूहरूले प्रयोग नगर्ने गरेकाले यहाँको चियालाई गुणस्तरहीन नै भन्न चाहिँ नसकिने उनको तर्क छ।

निगमबाहेक पनि पूर्वी नेपालका दर्जनौं प्रशोधन कारखानाले उत्पादन गरेको तयारी चिया भारत नै निकासी भइरहेको छ। अन्तुभ्याली टी स्टेटअन्तर्गत इलामस्थित सूर्याेदय नगरपालिकाको इलाम टी प्रोड्युसर्स प्रालिले आफ्नो सबै उत्पादन भारतमा बेचिरहेकाले त्यहाँ बेच्न नपाए अन्योल हुने जनाएको छ। भारतीय व्यापारीले नेपाली चिया नलिने जनाउ दिएपछि बर्सेनि उत्पादन हुने ८ लाख किलो हाराहारी तयारी चिया बिक्रीमा समस्या आउने सम्भावना रहेको प्रबन्धक ओम काफ्लेले बताए। 'पहिला पनि अर्गानिक चियामात्रै लिने भन्ने भारतका व्यापारीको भनाइ हामीलाई आएको थियो। किसानलाई चिया अर्गानिक बनाउन आग्रहसहित पहल गर्दा सबै चिया अर्गानिक गर्न सकिएको छैन,' उनले भने, 'यहाँको सबै तयारी चिया भारतमै बेचिरहेकाले त्यहाँ बेच्न नपाए के गर्न सकिन्छ भन्ने सोचेकै छैन।'

जिल्लाका सूर्याेदय नपालगायत केही गाउँका ८ बगान र कारखाना करिब २ वर्षअघि भारतकै एकड कम्पनीले किनेको थियो। त्यहाँ उत्पादन हुने लाखौं किलो तयारी चिया अहिले भारतमै बिक्री भइरहेको छ। नेपालमा चिया उत्पादन गर्ने दर्जनौं सहकारी संस्था पनि छन्। उनीहरूले करोडौं रुपैयाँ लगानी गरी चिया कारखानासमेत स्थापना गरेका छन्। उनीहरूले उत्पादन गरेको तयारी चिया भारतमै बिक्री हुन्छ। तयारी चिया बेच्न नपाए संस्थालाई भयंकर समस्या आइलाग्ने कन्यामस्थित कन्याम चिया उत्पादक सहकारीका सदस्य महेश अर्यालले बताए। 'भारतले चिया नलिए करोडौं रुपैयाँ लगानीमा सहकारीले स्थापना गरेका कारखानाको चिया बिक्रीमा अन्योल त पुग्छ नै, हजारौं व्यावसायिक किसान समस्यामा पर्नेछन्।' उनले अन्य देशभन्दा भारतमा चिया बेच्न यहाँका किसानलाई सजिलो भइरहेको बताए।

पूर्वी नेपालबाट तयारी मात्र नभइ हरियो चियापत्ती पनि भारतका कारखानामा प्रशोधनका लागि जान्छ। जिल्लाको पूर्वी अन्तु, समालबुङ, पशुपतिनगरलगायत गाउँहरूबाट सीमा जोडिएको भारतको दार्जिलिङस्थित ओकाइटी, खोलागोदामलगायत कारखानमा हरियो पत्ती बिक्री हुने गरेको छ। तर, हरियोपत्ती र सिटिसी चियाको हकमा भने उताका व्यापारीले अहिलेसम्म केही नभनेको सूर्याेदय नपास्थित गोर्खा टी स्टेट सञ्चालक उदय चापागाईंले बताए। 'उताका व्यापारीले केही महिनाभित्र हुन लागेको दुवै देशको पारवहन सम्झौता नवीकरणलाई असर गर्नेगरी यस्तो चेतावनी दिएको हुनसक्छ,' चापागाईंले भने, 'पारवहन सम्झौता नै प्रभावित भए चियामात्र होइन, अन्य वस्तु आयात–निर्यातमा पनि समस्या आउन सक्छ।'

२०५६ सालसम्म विदेशबाट धेरै चिया आयात हुने गरेकामा त्यसयता यहाँबाट आन्तरिक खपतभन्दा बढी निर्यात हुन थालेको थियो। नेपालले आव २०७१/०७२ मा चिया निर्यातबाट २ अर्ब ७२ करोड ८८ लाख रुपैयाँ भिœयाएको बोर्डको तथ्यांक छ। तर, बर्सेनि ५ करोड रुपैयाँको तयारी चिया भने विदेशबाट आयात हुन्छ। इलाममा उत्पादन हुने करिब ४० लाख किलो अर्थाेडक्स तयारी चियामध्ये बर्सेनि ३ लाख किलोजति मात्रै अर्गानिक रहेको होट्पा पूर्वअध्यक्षमसेत रहेका उद्योगी चापागाईंले बताए।

बोर्डका अनुसार आव २०७१/०७२ मा झापामा सबैभन्दा बढी १ करोड ८२ लाख ६२ हजार, इलाममा ४१ लाख ४६ हजार, पाँचथरमा ३ लाख ५२ हजार र धनकुटामा १ लाख ७७ हजार किलो तयारी चिया उत्पादन भएको छ। तेह्रथुममा ७ हजार ६ सय र अन्य जिल्लामा १ लाख ७१ हजार किलो चिया उत्पादन भएको बोर्डको तथ्यांक छ। बोर्डको तथ्यांकमा १४ हजार किसान चियाखेतीमा आबद्ध देखाइएपनि केन्द्रीय चिया सहकारी संघले २५ हजार र उद्योगीहरूले २१ हजार किसान यसमा आबद्ध रहेको बताएका छन्। देशको १४ हजार ५ सय ९६ हेक्टरमा नेपाल चिया विकास निगमलगायत अन्य चिया बगान छन्। ११ हजार ५ सय ६७ हेक्टरमा साना किसानको चिया खेती छ। यहाँ उत्पादित केही परिमाणको चिया भने जर्मनी, अमेरिका, जापान, चेक गणतन्त्र, स्लोभाकिया, फ्रान्स, चीन, बेलायत, अस्ट्रिया र युरोपका अन्य देशमा बिक्री हुने गरेको छ।

प्रकाशित: ९ श्रावण २०७३ १०:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App