७ वैशाख २०८१ शुक्रबार
अर्थ

मन्त्री श्रेष्ठको निर्देशन कार्यान्वयन होला?

उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले पुस ११ गते सपथग्रहण लगत्तै सिंहदबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हाले। मन्त्रीको कार्यभार सम्हाल्दै उनले कमीकमजोरी र समस्यालाई समाधान गर्दै अघि बढ्ने प्रण गरे। ‘जहाँ कमजोरी र समस्या छन् तिनलाई त्यहीं सच्चाउँदै अघि बढ्ने हो। समस्या समाधान गर्दै समृद्धिको फड्को मार्ने हो,’ मन्त्री श्रेष्ठले भौतिक मन्त्रालयमा कार्यभार सम्हाल्दै पुस ११ गते भने ‘संविधान, कानुन र नियमअनुसार हुनुपर्ने काम जनताले भनसुन नगरी, घुस नख्वाइकन हुने स्थिति सिर्जना गर्नुपर्छ। त्यसपछाडि मात्रै हामीले परिवर्तन भएको अनुभूति जनतालाई गराउन सक्छौं।’

मन्त्री श्रेष्ठ मन्त्रालयको कार्यभार सम्हालेका दिन त्यतिमा मात्रै सीमित रहेनन्। उनले नेपालको भौतिक पूर्वाधारले यहाँको सामाजिक आर्थिक संरचनामा गुणात्मक फड्को मार्न निर्णायक भूमिका निर्वाह गर्ने पनि बताए। ‘त्यस दिशामा अहिलेसम्म योजनागत काम भएका छन्। त्यसको समीक्षा गरेर हामीले गुणात्मक तीव्रताको साथ अघि बढाउनेछौं’ मन्त्री श्रेष्ठले भने।

मन्त्री श्रेष्ठले भौतिक मन्त्रीको कार्यभार सम्हालेको केही दिन अर्थात् पुस १२ देखि १५ गतेसम्म कार्यालय खुलेका बेलामा पनि मन्त्रालय गएनन्। मन्त्री श्रेष्ठ बरियता क्रम नमिलेको भन्दै मन्त्रालय नगएका हुन्। उनले भने बरियताभन्दा पनि स्वास्थ समस्याको कारणले नगएको स्पष्टीकरण दिइसकेका छन्। मन्त्री श्रेष्ठले पुस १७ गतेदेखि नियमित रूपमा भौतिक मन्त्रालय उपस्थिति भएर कार्यसम्पादन गर्दै आइरहेका छन्।

मन्त्री श्रेष्ठले पुस १७ गते भौतिक पूर्वाधार मन्त्रालयको भवनको अनुगमन गर्र्दै गल्लीहरूमा रहेका फोहोरदेखि शौचालयसम्मको अनुगमन गरे। मन्त्री श्रेष्ठले सोही दिन मन्त्रालयको सचिव महाशाखा प्रमुखहरूसँग मन्त्रालयको योजनाको ब्रिफिङ लिँदै कर्मचारीलाई तोकिएको समयसीमाभित्रै कार्यालयमा उपस्थित हुनेदेखि कार्यालय छोड्दासमेत रेकर्ड राख्नुपर्ने लगायतका निर्देशन दिएका थिए। मन्त्री श्रेष्ठले कुनै पनि फाइल कहाँ कहिले कस्तो अवस्थामा छ रेकर्ड राख्नुपर्ने र फाइल हुने वा नहुने तुरुन्त निर्णय गर्नुपर्ने निर्देशन दिएका थिए।

मन्त्री श्रेष्ठले पुस १९ गते यातायात कार्यालय ठूलो भर्‍याङ र यातायात व्यवस्था कार्यालय (मोसा) गुर्जुधाराको पनि अनुगमन/निरीक्षण गरे। मन्त्री श्रेष्ठले कार्यालय प्रमुखलाई निर्देशन दिँदै भने ‘जनताले धेरै दुःख पाएको गुनासो सुनेको छु, जनताले दुःख पाउनुभएन। जनताको हितमा काम गर्नुस्।’ मन्त्री श्रेष्ठले ४ बजेसम्म हुँदै आएको काम ५ बजेसम्म गर्न र नयाँ लाईसेन्स दिने प्रक्रिया छिटोछरितो ढंगबाट टुंग्याउन निर्देशन दिएका थिए।

‘गुणस्तरीय सेवामा नो कम्परमाईज, नियमपूर्वक काम गर्नुस्’ मन्त्री श्रेष्ठले भने ‘सबैं कर्मचारीको सम्मान र प्रतिष्ठा स्थापित गर्न चाहन्छु। राष्ट्रसेवक कर्मचारीले देश र जनताको सेवा गर्ने हो। कुनै सेवा सुविधा नपुगे, कर्मचारी अपुग भए वा कुनै समस्या भए मलाई भन्नुस् तर जनतालाई दिने सेवा सुविधामा कुनै कमिकमजोरी नहोस्।’

प्रकाशित: २२ पुस २०७९ ०१:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App