४ वैशाख २०८१ मंगलबार
अर्थ

चेपेखोला जलविद्युत् निर्माणको काम अनिश्चित

स्थानीय नागरिक र जनप्रतिनिधिसहितले गरेको तोडफोडसँगै गोरखा र लम्जुङ जिल्लामा निर्माणाधीन ७ मेगावाटको चेपेखोला जलविद्युत् आयोजना निर्माणको काम ठप्प भएको छ।

जलविद्युत् आयोजना निर्माण गर्दा खोलाको पानी नहरमा नजाने भन्दै स्थानीयबासीले आयोजनाको क्याम्प तथा अन्य निर्माण उपकरणमा आगजनी तथा तोडफोड गरेर ३ करोड ४० लाख रूपैयाँ बराबरको क्षति गरेका थिए। चम्पावती हाइड्रोपावर लिमिटेडका बोर्ड निर्देशक रामेश्वर लामिछानेले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरेर जनप्रतिनिधि सहितको स्थानीयको समूहले आयोजनास्थल तथा क्याम्पमा तोडफोड गर्दा साढे तीन करोड रूपैयाँ बराबरको क्षति भएको बताए।

 ‘जनप्रतिनिधिसहितका स्थानीयको तोडफोडको कारणले निर्माणाधीन जलविद्युत् आयोजना निर्माणको काम गत मंसिर २४ गतेदेखि ठप्प छ,’ उनले भने ‘राज्यले एकातर्फ तोडफोड गरेर आयोजना क्षति गर्नेलाई कानुनी दायरामा ल्याउन सकेको छैन, अर्काेतर्फ सुरक्षित ढंगले काम गर्ने वातावरण समेत पाएका छैनौं।’

कम्पनीका बोर्डका निर्देशक लामिछानेले राइनास नगरपालिकाका उपप्रमुख पुष्पराज खनाल सहितका राइनास सिँचाइ योजना जल उपभोक्ता समिति र स्थानीयबासी समेतको संलग्नतामा आयोजनाको विद्युत्गृह निर्माण स्थल र साइट अफिसमासयौं मानिसहरू गएर तोडफोड र आगजनी गरेको बताए।

‘जनप्रतिनिधिसहितका जिम्मेवार व्यक्तिहरूको उपस्थितिमा आगजनी तथा तोडफोडको घटना भए पनि अहिलेसम्म आवश्यक कारबाहीको प्रक्रिया अघि बढेको छैन,’ उनले भने ‘सरकारले निजी क्षेत्रलाई प्रवर्द्धन गर्ने नीति विपरीत हामीमाथि आक्रमण भएको अनुभूति गरेका छौं।’

कम्पनीका बोर्ड सदस्य लक्ष्मण अर्यालले आयोजना प्रवर्द्धक कम्पनीका तर्फबाट आगजनी र तोडफोडमा संलग्नहरूमाथि कारबाही र आगजनीबाट भएको क्षतिपूर्तिको लागि जोडदार माग गरेका छन्। ‘घटना घटेपछि पनि विना अनुमति निर्माणस्थलमा जाने र काम रोकेर आवासमा बसिरहेका कामदारलाई धम्क्याउने लगायतका गतिविधि भएका छन्,’ उनले भने ‘आयोजनास्थलमा रहेका जनशक्ति र भौतिक सम्पत्तिमा क्षति हुन सक्ने देखिएकाले सरकारसँग सुरक्षाको उचित प्रत्याभूति गराउन माग गरेका छन्।’

कम्पनीले तोडफोड र आगजनीको अगुवाई गर्ने व्यक्तिहरूलाई आयोजनाले विद्युत्गृहबाट निस्कने पानी नहरको मुहानभन्दा माथि चिल्ली खोला र चेपेखोलाको दोभानभन्दा माथि फाल्ने कुरा पटक-पटक जानकारी गराएको दाबी गरेको छ। ‘यसअघि पनि स्थानीय जनतालाई नहरको पानीमा कुनै समस्या नहुने जानकारी गराएका थियौं। त्यति हुँदा पनि त्यस्तो घटना हुनु र संवादका माध्यमबाट समस्या समाधानका लागि पहल गर्दा सहमतिमा नआउनु दुःखद पक्ष हो’ बोर्ड सदस्य अर्यालले भने।

यही हिउँद याममा आयोजना निर्माणको काम सुरु गर्न नसकेको खण्डमा आयोजनाको करिब ३० करोड रूपैयाँ लागत बढ्ने जनाएको छ।

यो आयोजना गोरखाको सिराञ्चोक गाउँपालिका र लमजुङको दुधपोखरी गाउँपालिका सीमानामा बाँध रहेको छ। आयोजनाका सम्पूर्ण संरचना सिराञ्चोक गाउँपालिकाको वार्ड नम्बर १ र २ मा रहेको हो। यो आयोजना विदेश र स्वदेशमा कार्यरत नेपाली इन्जिनियरहरूसहितको लगानीमा निर्माणाधीन अवस्थामा रहेको छ। चम्पावती हाइड्रोपावर लिमिटेडले विगत २ वर्षदेखि निर्माण गर्दै आइरहेको छ। आयोजनाको भौतिक प्रगति करिब ६५ प्रतिशत छ भने झण्डै ९० करोड बराबरको लगानी भइसकेको छ। आयोजनाले विद्युत् उत्पादन मिति २०८० साउन ३ गतेभित्र निर्माण कार्य सकेर परीक्षण समेत गरी राष्ट्रिय प्रसारण लाइनमा विद्युत् जडान गर्ने लक्ष्य राखेको छ।

‘तोडफोड र आगजनीमा जनप्रतिनिधिहरू स्वयंले अगुवाई गरे भने स्थानीय तहमा क्रियाशील राजनीतिक पार्टीको नेतृत्वकर्ताहरू नै संलग्न थिए भन्ने कुरा प्रहरी प्रशासनलाई पनि राम्रोसँग थाहा छ,’ कम्पनीका बोर्ड सदस्य अर्यालले भने, ‘आयोजनाका सामाजिक सञ्जालहरूमा भेटिने आगजनीका फोटो तथा भिडियो, विभिन्न सञ्चार माध्यममा दिइएका अन्तर्वार्ताहरूलाई हेर्दा पनि सो कुरा स्पष्ट हुन्छ।’ उनले आयोजनाको हकमा स्वीकृत वातावरणीय प्रतिवेदनमा पावर हाउस क्षेत्र भनेर तोकिएको स्थान (टोपोम्यापमा उल्लेख गरिएको क्षेत्रमा) नै पावरहाउस अन्तर्गतका संरचना निर्माण भइरहेको बताए।

‘अर्कोतर्फ आगजनी गर्ने पक्षले उचालेको विषय नहरको इन्टेकभन्दा २०० मिटर तल पानी खसाल्न लाग्यो भन्ने छ त्यो सत्य होइन’ उनले भने, ‘आयोजनाको विद्युत्गृहबाट निस्कने पानी नहरको इन्टेकभन्दा माथि चिल्ली खोला र चेपे खोलाको दोभानभन्दा माथि लगेर फाल्ने भनेर वातावरणीय प्रतिवेदनमा उल्लेख भएअनुसार नै अहिलेको डिजाइनमा विद्युत्गृहको टेलरेसबाट पानी जान्छ। जुन नहरको इन्टेकभन्दा १६० मिटर माथि रहेको छ।’

कम्पनीले विद्युत्गृहको टेलरेसबाट पानी निस्कने लेभल र नहरको मुहान(इन्टेक) को लेभल करिब २ मिटरको फरकमा रहेको जनाएको छ। जलविद्युत् आयोजनाको पानीको निस्कने लेभल ६३६.१२ मिटरमा छ। नहरको इन्टेकमा पानीको लेभल ६३३.४ छ। 

प्रकाशित: २० पुस २०७९ ०१:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App