७ वैशाख २०८१ शुक्रबार
अर्थ

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दुई साता देखि अन्तर्राष्ट्रिय उडान ठप्प

फाइल तस्बिर।

मुआब्जा सहित झण्डै ४३ अर्बको लागतमा निर्माण गरिएको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले उद्घाटनको ७ महिना बितिसक्दा पनि अझै गति लिन सकेको छैन।

यो विमानस्थलमा जडान गरिएको उपकरण अवतरण प्रणाली (इन्स्ट्रमेन्ट ल्याण्डिङ सिस्टम) सञ्चालनमा नआउँदा अन्तर्राष्ट्रिय उडान ठप्प भएका छन्। आन्तरिक उडानहरू समेत प्रभावित भएका छन्।

अत्याधुनिक र उत्कृष्ट प्रविधियुक्त भनिएको विमानस्थलमा हुस्सुका कारण करिब दुई साता देखि अन्तर्राष्ट्रिय उडानहरू ठप्प छन्। गत जेठ देखि उडान भर्दै आएको कुवेतको जजिरा एयरलाइन्सले हुस्सुको कारण देखाउँदै उडान रोकेको हो। हिमालयन एयरलाइन्सले पनि चार्टर उडान फिर्ता लगेको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए।

दाहालका अनुसार जजिराले १८ डिसेम्बर देखि उडान स्थगित गरेको छ भने हिमालयन एयरलाइन्सले २० डिसेम्बर देखि भैरहवाबाट गर्ने भनेको चार्टर उडान फिर्ता लगेको छ।

यो विमानस्थल २०७९ को जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। उद्घाटन सँगै जजिराले सुरुमा सातामा तीन दिन उडान भरेको थियो। त्यसपछि यात्रु संख्या बढ्ने अपेक्षा सहित उसले केही समय दैनिक उडान सुरु गर्‍यो। तर यात्रु नपाएपछि फेरी सातामा तीन दिन उडान भर्दै आएको थियो। त्यस्तै हिमालयन एयरलायन्सले गत कात्तिक १७ देखि चार्टर उडान सुरु गरेको थियो। हुस्सुको कारण देखाउँदै अहिले ती उडानहरू ठप्प छन्।

हवाई उडानकालागि सामान्यतया १ हजार ५ सय मिटर भिजिविलिटी आवश्यक पर्छ। तर जाडो मौसम सुरु भयसँगै भैरहवाको भिजिविलिटी ५/६ सयमा झर्ने गरेको विमानस्थलले जनाएको छ। त्यसोत यो विमानस्थलमा कम भिजिविलिटी हुँदा पनि विमानहरू उडान–अवतरण गर्न सकियोस भनेर क्याटोगरी–१ को आइएलएस जडान गरिएको छ।

आइएलएस एउटा रेडियो नेभिगेसन प्रणाली हो। यो प्रणालीले विमानलाई खराब मौसम तथा रातको समयमा होस या कम भिजिबिलिटीमा पनि अवतरण गर्न सघाउँछ। सामान्यतया यो सिष्टममा ८ सय मिटर वा केही कम भिजिविलिटी हुँदा पनि विमान उडान–अवतरण गर्न सकिने बताइएको छ। तर विमानस्थल उद्घाटन भएको महिनौँ बित्दा पनि अवतरण प्रणाली कार्यान्वयनमा ल्याउन नसक्दा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका हुन।

विशेष गरी यो विमानस्थल भारतीय सीमा नजिक रहेकाले उपकरण अवतरण प्रणाली सञ्चालनमा ल्याउँदा भारतीय आकाश पनि प्रयोग हुने भएकाले भारतको स्वीकृति आवश्यक पर्छ।

विमानस्थलका महाप्रबन्धक दाहालले भारतको स्वीकृति लिनु पर्ने अवस्थामा माथिल्लो निकायबाटै पहल र कुराकानी हुनुपर्ने बताए। भारतले सीमा नजिकैको नेपालको विमानस्थलकालागि आफ्नो आकाश प्रयोग गरी आइएलएस सञ्चालनमा सजिलै स्वीकृति दिने सम्भावना नदेखिएकाले सरकारको विशेष पहल हुनुपर्ने विमानस्थलका एक जना अधिकारी बताउँछन्। तर यो विमानस्थलको व्यावसायिक सञ्चालनका लागि प्राधिकरण र सरकारका बिचमै समन्वयात्मक भूमिका नदेखिएको गुनासो पनि ती अधिकारीले गरे।

निर्माण सम्पन्न भएको महिनौँ बित्दा पनि रुट फाइण्ड आउट गरी भारतसँग अनुमति लिन नसक्नु,आइएलएस प्रयोगकालागि आवश्यक प्रक्रिया पुरा नहुँनु, भारतीय दूतावासबाट लिनु पर्ने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्राप्त गर्न नसक्नु, अन्तर्राष्ट्रिय विमानस्थलमा उपलब्ध हुनु पर्ने सेवाहरु भिसा, स्वास्थ्य परीक्षण, बिमा, मेन पावर कम्पनीका शाखा समेतको व्यवस्था नगरिएकाले अन्तर्राष्ट्रिय उडानहरू नियमित हुन नसकेको ती अधिकारीले बताए।

अन्तर्राष्ट्रिय उडान नियमित गर्नुको साटो पर्यटक आगमनको मुख्य सिजनमै भएका उडानहरू समेत ठप्प हुँदा यहाँका पर्यटन व्यवसायीहरू आक्रोशित छन्। अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपकै प्रविधि छँदा छँदै विमानस्थल नियमित संचालन हुन नसक्नुमा सरकार जबाफदेही हुनुपर्ने उनीहरूको माग छ। नेपाल एशोसियशन ट्राभल्स एण्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुचारु गर्न माग गरेको छ।

नाट्टाका प्रदेश अध्यक्ष रचना पन्तको नेतृत्वमा पर्यटन व्यवसायीको टोलीले विमानस्थलका अधिकारीहरू समक्ष अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग गरे। अध्यक्ष पन्तले यो विमानस्थल लुम्बिनी प्रदेशवासी र समग्र पर्यटन क्षेत्रकालागि सान र मान दुवै भएकाले अन्तर्राष्ट्रिय उडानहरू नियमित गरी यसको गरिमा कायम राख्न माग गरिन। नाट्टा लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष विष्णु शर्माले ४० अर्ब बढीको लगानीमा निर्माण गरिएको विमानस्थल सञ्चालनमा लापरबाही गरिए त्यसले देशको अर्थतन्त्रमा ठुलो नोक्सानी हुने दाबी गरे। 

पर्यटन व्यवसायी शर्माले विमानस्थललाई मध्यनजर गरेर निजी क्षेत्रले सय अर्ब बढीको लगानी भैरहवा र आसपासको क्षेत्रमा गरेको भन्दै विमानस्थलको सफल संचालनकालागि बेलैमा ध्यान दिन आग्रह गरेका छन्। यहाँका पर्यटन व्यवसायीले गौतम बुद्ध विमानस्थललाई सफलता पूर्वक संचालन गर्न सके त्यसबाट यस क्षेत्रको मात्रै नभई सिङ्गो मुलुकको अर्थतन्त्रलाई नै सबल बनाउन मद्दत पुग्ने भन्दै सरकार र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन्।

२०२३ सालमा पहिलो पटक आन्तरिक विमानस्थलको रुपमा सञ्चालनमा आएको भैरहवा विमानस्थललाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा २०७१ साल माघ १ गते तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाले शिलान्यास गरेका थिए। करिब ८ बिगाहाकमा फैलिएको यो विमानस्थलको रनवे ३ हजार मिटर छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ सरह उडान–अवतरण क्षमताको विमानस्थलमा चार वटा न्यारोबडी र एउटा वाइड बडी गरी पाँच वटा जहाज पार्किङ क्षमता छ। 

हाल सम्म यो विमानस्थलबाट १५४ वटा अन्तर्राष्ट्रिय उडान भएका छन्। जसबाट १३ हजार ५९३ यात्रु आएका छन् भने १८ हजार २५ यात्रु बाहिरिएका छन्। यो विमानस्थलप्रति  आकर्षित गर्ने उद्देश्यले अवतरण शुल्क,बिसान शुल्क,सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा पहिलो बर्ष शतप्रतिशत छुटको व्यवस्था गरिएको छ। ग्राउन्ड ह्यान्डलिङमा ५० प्रतिशत छुट दिइएको छ।

प्रकाशित: १८ पुस २०७९ १४:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App