coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

लम्की नहरबाट थप छ हजार हेक्टरमा सिँचाइ

राष्ट्रिय गौरवको रानी जमरा कुलरीया सिँचाइ आयोजनाको लम्की बिस्तार नहरमा पानी परीक्षण गरिएको छ। नहर निर्माण कार्य सम्पन्न भएपछि पानी परीक्षण गरिएको आयोजनाका सूचना अधिकारी प्रेम लासिबाले जानकारी दिए।

कैलालीको पूर्वी क्षेत्रमा रहेका रानी, जमरा र कुलरीया गरी तीनवटा परम्परागत कुलालाई आधुनिकीकरण गर्ने उद्देश्यले यो आयोजना सन् २०११ मा सुरु भएको हो। योसँगै आयोजनाले थप खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्‍याउने भन्दै लम्की विस्तार नहरको निर्माण गरेको हो।

मुख्य नहरको डुँडेझारीबाट पश्चिम पथरिया नदीसम्म १४ दशमलव ६५ किलोमिटर नहर निर्माण भएको छ। जसमध्ये ६ किलोमिटर नहरको संरचना पक्की रहेको छ। नहर निर्माण भएपछि लम्कीचुहा नगरपालिकाको तीनवटा वडाको ६ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको सूचना अधिकारी लासिबाले बताए।

२०७३ साउन २३ गते आयोजनासँग सम्झौता गरी कालिका/कुमार जेभीले नहर निर्माणको काम थालेको थियो। २०७५ असार ३१ गते भित्रै निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख भए पनि विविध कारणले नहर निर्माणको काममा ढिलाइ भएको निर्माण पक्षले जनाएको छ। नहर निर्माणको काम गरिरहँदा छ पटक म्याद थप भएको थियो।

निर्माण कम्पनीका प्रतिनिधि सचित्र पोखरेलले रुख कटान र त्यसको जरा उखेल्ने र जग्गाको मुआब्जा वितरण गर्ने कार्यमा समेत ढिलो भएका कारण नहर निर्माणको काम ढिलो हुन गएको बताए। ‘रुख कटान र मुआब्जा वितरणले धेरै समय काम रोकियो’ उनले भने-‘जसका कारण समयमा काम सम्पन्न गर्न सकिएन।’

नहर निर्माणका क्रममा २ हजार ६८८ रुख काटिएका थिए भने ३० हेक्टर नम्बरी र १५ दशमलव ५ हेक्टर ऐलानी गरी ४५ दशमलव ५ हेक्टर जमिनको मुआब्जा वितरण गरिएको थियो। आयोजनाले मुआब्जा बापत ८५ करोड रूपैयाँ वितरण गरेको जानकारी दिएको छ।

ढिलै भए पनि नहर निर्माण भएपछि स्थानीय किसान खुशी भएका छन्। उनीहरू बाह्रै महिना सिँचाइ सुविधा पाउने भएपछि खुशी भएका हुन्। लम्की चुहा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष हरिप्रसाद चौधरीले नहरले किसानको आयस्तर वृद्धि हुने बताए। उनले किसानलाई नगदे बालीतर्फ आकर्षित गर्न वडा कार्यालयले विभिन्न कार्यक्रम ल्याउने जानकारी पनि दिए। ‘किसानलाई नगदेबालीतर्फ आकर्षित गर्ने कार्यक्रम ल्याउछौं’ उनले भने-‘अब सिँचाइको समस्या रहेन।’

आयोजनाले आगामी दिनमा नहरको पानीलाई किसानका खेतसम्म पुर्‍याउने योजना बनाइरहेको छ। सूचना अधिकारी लासिबाले नहरको पानी किसानका खेतसम्म पुर्‍याउन पाँच ठाउँमा संचरना निर्माण गरिएको जानकारी दिए। उनले सोही संरचनाबाट नहरको पानी किसानका खेतसम्म पुर्‍याइने बताए।

‘कतिपय ठाउँमा पुरानै कुलो छन्। त्यसैबाट पानी पठाउँछौं। कतिपय ठाउँमा भने कुलो निर्माण गर्छौं’ उनले भने-‘हाम्रो उद्देश्य किसानले सिँचाइ सुविधाको भरपुर उपभोग गरुन भन्ने हो।’

कर्णाली चिसापानीस्थित मुख्य इन्टेकबाट पानी झण्डै २३ किलोमिटर पश्चिम पथरिया नदीसम्म पु¥याइएको छ। अहिले परीक्षणका रूपमा नहरमा पठाइएको पानीलाई पथरिया नदीमा फालिएको छ। कर्णाली नदीको पानी पथरिया नदीसम्म पुगेपछि स्थानीयले अचम्म मानेका छन्। उनीहरू कहिल्यै कल्पना नगरेको कुरा सिँचाइ आयोजनाले सम्भव पारेको भन्दै खुशी देखिन्छन्। ‘कर्णालीको पानी हाम्रा खेतसम्म पुग्छ भन्ने कुरा हामीले कहिल्यै सोचेकै थिएनौं’ स्थानीय कमला चन्द ठकुरीले भनिन्-‘यो हाम्रा लागि ठूलो खुशीको कुरा हो।’

उनीजस्तै धेरै किसानले कर्णाली नदीको पानी खेतसम्म पुग्नुलाई ठूलो उपलब्धि ठानेका छन्। निरन्तर कुलो सञ्चालन भए तरकारी खेती, पशुपालन लगायतका कुराबाट मनग्ये आम्दानी हुने उनीहरू बताउँछन्।

कर्णाली चिसापानीस्थित मुख्य इन्टेकबाट करिब साढे आठ किलोमिटर टाढा रहेको डुँडेझारीसम्म नहर निर्माणको काम समेत सम्पन्न भैसकेको छ। सोही ठाउँबाट नहर दक्षिणतर्फ रहेको कटासेबाट रानी, जमरा र कुलरीया कुलामा मिसाइने छ। यी तीनवटै कुला मार्फत पानी किसानका खेतसम्म पुग्नेछ। डुँडे झारीदेखि कटासेबीचको भागमा आयोजनाअन्तर्गतको विद्युत् गृह निर्माणको काम भैरहेको छ। जहाँ ४ दशमलव ७ मेगावाट विद्युत् उत्पादन हुने बताइएको छ। विद्युत्गृह निर्माणको काम सम्पन्न नभएकाले दक्षिणतर्फको नहरमा भने पानी पठाइएको छैन। 

प्रकाशित: १७ पुस २०७९ ०१:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App