coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अर्थतन्त्र सुधार्न निजीक्षेत्रको आग्रह

उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग प्रधानमन्त्री दाहाल (माथि) र नेपाल उद्योग परिसंघका पदाधिकारी। तस्बिर ः नागरिक

बिग्रँदो अर्थतन्त्र सुधार्ने नीति अवलम्बन गर्न निजी क्षेत्रले नवगठित सरकारसँग आग्रह गरेका छन्। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको भोलिपल्टै मंगलवार निजीक्षेत्रका दुई संस्थाले प्रधानमन्त्री दाहाल र अर्थमन्त्री विष्णु पौडेललाई भेटेर उद्योगी व्यवसायीको मनोवल उकास्ने नीति अवलम्वन गर्न आग्रह गरे।

भेटमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रको पुनरुत्थान आफ्नो पहिलो प्राथमिकता रहेको बताए। मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय भएको जानकारी दिए। अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने बताए। अर्थमन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई राखेर छिट्टै समस्या समाधानमा पहल गर्ने प्रधानमन्त्री दाहालले प्रतिवद्धता व्यक्त गरे।  

निजी क्षेत्रसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि निजीक्षेत्रबाट सुझावको अपेक्षा गरेको बताए। प्रधानमन्त्री प्रचण्डले सरकारको मुख्य ध्यान अर्थतन्त्र सुधार्न मै रहेको बताए। ‘मन्त्रिपरिषद्को पहिलो बैठकबाटै हामीले अर्थतन्त्रलाई नै प्राथमिकतामा राखेका छौं,’ प्रचण्डले भने, ‘निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने छौं।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले प्रधानमन्त्री र अर्थमन्त्री समक्ष उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रूपमा देखापरेको चालुपुँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुुई वर्ष स्थगन गर्न आग्रह गरे। ‘तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्छ,’ गोल्छाले भने, ‘मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले अर्थतन्त्रको पुनरुत्थानमा ध्यान दिनुपर्छ।’ गोल्छाले अर्थतन्त्रमा बहुुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षा मार्फत पनि समस्या सम्बोधन हुन नसकेको र बैंकिङ समस्याको कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुुगेको बताए। ‘अर्थतन्त्रको संवेदनशीलता बुुझेर सोही अनुसार अर्थपूर्ण पहल हुने अपेक्षा गरेका छौं,’ गोल्छाले प्रधानमन्त्री समक्ष भने।  

नेपाल उद्योग परिसंघले प्रधानमन्त्री दाहाल र अर्थमन्त्री पौडेललाई व्यवसायीको मनोबल उकास्न तत्काल २ प्रतिशतसम्म प्रतिमहिना व्याजदर घटाउने र चालु पुँजी कर्जा निर्देशिका पुराना ग्राहकहरूका लागि २ वर्षसम्म स्थगित गर्न आग्रह गरे।

परिसंघका अध्यक्ष अग्रवालले मागमा आएको उच्च संकुचन, उच्च व्याजदर, लगानी योग्य पुँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको बताए। ‘अर्थतन्त्रलाई पुनर्जिवित गर्ने नीति अवलम्बन गर्न आवश्यक छ,’ अध्यक्ष अग्रवालले भने, ‘आयात प्रतिस्थापन गर्ने उद्योगहरूलाई प्रोत्साहन गर्र्ने नीति लिनुपर्छ।’ ६ वटा औद्योगिक क्षेत्र भारतको रुद्रपुर औद्योगिक क्षेत्रको मोडलमा सार्वजनिक निजी साझेदारीमा सक्दो छिटो कार्यान्वयनमा लैजान पनि अग्रवालले आग्रह गरे।  

परिसंघले अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रवद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाएको छ। अर्थमन्त्री पौडेलले परिसंघले दिएको सुझाव कार्यान्वयन गर्ने पतिवद्धता व्यक्त गर्दै अर्थतन्त्र उकास्न परिसंघसँग सहकार्य गर्ने बताए ।

प्रकाशित: १३ पुस २०७९ ०२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App