१६ चैत्र २०८० शुक्रबार
अर्थ

पञ्चेश्वर टार्दै भारत

काठमाडौं-पञ्चेश्वर विकास प्राधिकरण (पिडिए) को गभर्निङ बडी बैठक छल्न अनेकौं बहाना देखाउँदै आएको भारतीय पक्षले यसपालि पनि पुरानै प्रवृत्ति दोहोर्याएको छ। भारतीय जलस्रोत सचिव शशि शेखर कार्यव्यस्तता देखाउँदै आउन नमानेपछि सोमबार पोखरामा हुने भनिएको गभर्निङ बडीको चौथो बैठक पनि सर्ने निश्चित भएको छ।

नेपालका ऊर्जा र भारतीय जलस्रोत सचिवले बैठकको अध्यक्षता गर्ने पिडिएमा प्रावधान छ । भारतीय पक्षले सचिवको ठाउँमा अतिरिक्त सचिवलाई जिम्मेवारी दिएर पठाएपछि रद्द गरिने भएको नेपालका तर्फबाट बैठकमा सहभागी हुन गएका एक सदस्यले पोखराबाट जानकारी दिए ।

‘सचिव तहको पूर्ण बैठक नहुने भयो तर अतिरिक्त सचिवको उपस्थितिमा केही छलफल हुन सक्छ,’ ती सदस्यले आइतबार नागरिकसँग भने, ‘सचिव तहको बैठकमा अतिरिक्त सचिव आएपछि एक त ‘प्रोटोकल’ मिलेन, अर्को उच्च तहमा हुने निर्णय हुन सक्दैन । यसैले बैठक सर्ने भएको छ ।’

गभर्निङ बडीको तेस्रो बैठक पनि भारतकै कारण दुईपटक सरेको थियो । २०७२ पुस ७ र ८ गते काठमाडौंमा हुने भनिएको तेस्रो बैठक त्यति बेला भारतीय जलस्रोत सचिव प्रधानमन्त्री नरेन्द्र मोदीसँग अस्टे«ेलिया जानुपर्ने भन्दै माघ २० र २१ गतेका लागि तोकिएको थियो । तर, यो मिति पनि सारेर बैठक फागुनमा पु¥याइएको थियो ।

दुवै पक्षलाई पूर्वजानकारी दिएर वा समय लिएर नै बैठकमिति निर्धारण गरिए पनि भारतीय पक्षले सधैं अन्तिम समयमा अनेक बहाना झिक्ने गरेको ऊर्जा मन्त्रालयकै अधिकारी बताउँछन् । ‘बैठक हुने निश्चित भएपछि अन्तिम समयमा नआउनु भारतको हेपाहा प्रवृत्ति हो,’ ती अधिकारीले भने, ‘सचिव तहको बैठकमा अतिरिक्त सचिव पठाएर नेपाललाई तल पार्न खोजेको देखिन्छ, यो सार्वभौम राष्ट्रलाई मान्य हुँदैन।’ भारतका तर्फबाट जलस्रोत सचिव नआएपछि नेपालले नै बैठक नगर्ने निर्णय गरेको ती अधिकारीले बताए।

बैठक रद्द भएको वा सरेको विषयमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत महेन्द्रबहादुर गुरुङसँग जिज्ञासा राख्दा उनले प्रस्ट जानकारी दिएनन् । ‘बैठक हुन्छ–हुन्न अहिले नै भन्न सकिन्न, यस विषयमा भोलि (सोमबार) मात्र कुरा गरौंला,’ उनले भने । पञ्चेश्व बहूद्देश्यीय आयोजना निर्माणमा भारतकै चासो नभएकाले बैठक सर्न लागेको मन्त्रालयका अधिकारीको तर्क छ ।

बैठकमा आर्थिक तथा प्रशासनिक व्यवस्थापनलगायत विषयमा छलफल हुने तयारी थियो । शुक्रबार र शनिबार (असार १७ र १८) मा दुवै देशका ऊर्जा र जलस्रोत सहसचिवस्तरीय समिति बैठक बसेर गभर्निङ बडी बैठकका लागि एजेन्डा तय गरिएको थियो ।

बैठकमा जनशक्ति भर्ना तथा व्यवस्थापन, संरचनागत व्यवस्था, जनशक्तिसम्बन्धी नीतिलगायत थप विषयमा छलफल हुने भनिएको थियो । भारतकै कारण प्राधिकरण कार्यसमिति अहिलेसम्म पूर्ण भएको छैन । पिडिए गठन हुँदा नेपाल र भारतबाट ४÷४ अधिकारी रहने प्रावधान बनाइएको थियो । नेपालका तर्फबाट चारै जनाको नियुक्ति भए पनि भारतले वित्तीय क्षेत्र हेर्ने कार्यकारी निर्देशक पठाएको छैन ।
प्राधिकरणमा सिइओ गुरुङसहित कानुन, वातावरण तथा व्यवस्थापन हेर्ने कार्यकारी निर्देशक रुद्रप्रसाद सिटौला, दिलिपकुमार सडौला र बाबुराम अधिकारी नियुक्त भएका छन् । यस्तै भारतका तर्फबाट अतिरिक्त सिइओ एचके साहुसहित प्राविधिक र पुनःस्थापन तथा पुनर्वास हेर्ने कार्यकारी निर्देशक एके खा¥या र एम लाल नियुक्त भएका छन् ।

महाकाली नदीको शारदा ब्यारेज, टनकपुर ब्यारेज र पञ्चेश्वर आयोजना विकास गर्ने गरी २०५२ साल माघ २९ गते दुई सरकारबीच महाकाली सन्धि भएको थियो । पञ्चेश्वरमा भारतको चासो बढी भएकाले नेपालको मात्र प्रयासले आयोजना निर्माण सम्भव थिएन ।

आयोजना बन्ने कि नबन्ने भन्ने विवादमै २० वर्ष बित्यो । यो आयोजना नेपालभन्दा भारतले चाहेको खण्डमा मात्र निर्माण हुने यस क्षेत्रका जानकारले बताउँदै आएका छन् । यद्यपि, २०७१ साउन १८ गते भारतीय प्रधानमन्त्री मोदीले नेपालको संविधानसभा बैठकमा आवश्यक काम पूरा गरेर एक वर्षभित्र निर्माण सुरु हुने उद्घोष गरेका थिए।

 

प्रकाशित: २० असार २०७३ ०१:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App