१६ चैत्र २०८० शुक्रबार
अर्थ

कर्णाली राजमार्गको कान्तबिजोग

गोविन्द केसी

दैलेख— सुर्खेत, दैलेख, कालीकोट हुँदै जुम्लासम्म पुग्न दर्जनौं खहरे खोला पर्छन् । ती खहरे खोला नै कर्णाली राजमार्गका मुख्य बाधक बनेका छन् । दर्जनौं खहरे खोला राजमार्गतिर फर्किएपछि पिच बाटो नै तहसनहस बनाइदिन्छन् । ती खहरेमा पिसिसीबाहेक पुल निर्माण गरिएको छैन। त्यसमा पनि अझ पहिरो खस्ने उस्तै समस्या छ।

कर्णाली राजमार्ग यात्रा गर्ने कहिले पहिरो, कहिले हिलो त कहिले खोलानालामै रोकिँदा दिक्क छन् । पुल निमार्णका लागि ठेक्का दिइएका पुल पनि वर्षौंदेखि नबन्दा राजमार्ग हिँड्नै दिक्क लाग्छ । ठेकेदारको चरम लापरबाहीले पुलको प्रगति शून्य हुँदा सडक डिभिजन कार्यालयलाई टाउको दुखाइ भएको छ । वर्षातसँगै उर्लेर आएको खहरेले ल्याएका ढुंगा माटोले धेरै स्थानमा राजमार्ग बगरमा परिणत भएको देखिन्छ । बर्खा लागेसँगै कर्णाली राजमार्गमा यात्रा गर्नेको बिजोग कम्ती छैन।

सुर्खेतदेखि जुम्लासम्म पुग्दा १२ वटा पुल निर्माणाधीन छन्। जसमा १ पुल निर्माण सम्पन्न भएको छ भने अर्को सम्पन्न हुँदैछ । तर, १० वटा पुल कहिले बन्ने भन्ने ठेगानै छैन । दर्जनौंपटक ठेकेदारलाई पत्र काट्दासमेत पुल सुनुवाइ नगरी अटेर गरेको सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाले जनाएको छ।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार यो वर्ष नयाँ ३ वटा पुल फागुनमा सम्झौता भएको छ भने निर्माण पूरा भएका ६ वटा पुलको काम सन्तोषजनक देखिएको छैन । ६ मध्ये ४ वटा पुलमा ३ पटकसम्म म्याद थप्दासमेत कामको गति बढ्न नसकेको इन्जिनियर बताउँछन् । डिभिजन प्रमुख नारायणदत्त भण्डारीका अनुसार ३ वटा पुल १ वर्षभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता ठेकेदारले गरेका छन् । एउटा पुललाई ब्ल्याक लिस्टमा हाल्ने तयारी भइरहेको छ । १५ महिनादेखि साढे ३ वर्षसम्म म्याद गुज्रेका पुल रहेको सडक डिभिजन कार्यालय जुम्लाले जानकारी दिएको छ ।

सडक डिभिजन कार्यालय सुर्खेतले दैलेख खण्डमा निर्माणाधीन अवस्थामा रहेका ३ वटा पुलमध्ये २ वटा पुल ब्ल्याक लिस्टमा हाल्ने तयारी भइरहेको जानकारी दिएको छ । डिभिजन प्रमुख बेलबहादुर भुजेलका अनुसार निर्माणका लागि ठेकेदारलाई बारम्बार सचेत गराए पनि कुनै प्रगति नदेखिएपछि कारबाहीको तयारी गरिरहेको बताए । दैलेख खण्डमा निर्माणाधीन पुलमा गोठखोला पुल, कुमाले खोला पुल र ज्याक्सी खोला पुल रहेका छन् । गोठखोला र कुमाले खोला पुलमा विटी धर्मेन्द्र टौदह जेभीले क्रमशः २ करोड ५ लाख र १ करोड ९७ लाखमा ठेक्का लिएको थियो । सडक डिभिजनले यी दुवै  पुलको ठेक्का तोड्ने तयारी भइरहेको जनाएको छ । सिंह कविर सुनकोसी जेभीले ज्याक्सी खोलामा २ करोड ४ लाखले ठेक्का लिएको हो । तत्कालै पुल निर्माण गर्ने ठेकेदारले प्रतिक्रिया जनाएका छन् । ठेक्का अर्को पाटीलाई दिनु, बैंक ग्यारेन्टी फर्जी हुनु लगायत कारण पुल निर्माण हुन नसकेको डिभिजन प्रमुख बेलबहादुर भुजेलले बताए ।

सडक भिडिजन कार्यालय जुम्लाका अनुसार सेरीघाटमा ट्रस्ट सहितको बेलिब्रिज निर्माण सम्पन्न भइसकेको छ । ६ करोड लागतमा उक्त पुल जगत निर्माण सेवाले सम्पन्न गरेको हो । जागृती तुलसी दुर्गा जेभीले १ करोड ३३ लाखमा कालेखोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ। निर्माण कम्पनीले छिट्टै पुल सञ्चालन हुने जनाएको छ । जुम्ला डिभिजनले सम्झौता गरेको ९ वटा पुलमध्ये ४ वटा पुल निर्माणाधीन अवस्थामा छन् । निर्माणाधीन अवस्थामा रहेका पुलमा खल्लाघाट, चाकुल्ला, घट्टेखोला र खुलालु खोलाका छन् । खल्लाघाट र चाकुल्ला खोला पुलमा राजेन्द्र निर्माण सेवाले ४ करोडमा सम्झौता गरे पनि निर्माण कार्य निकै ढिलाइ भएको छ ।

त्यस्तै घट्टेखोला पुलमा जागृत तुलसी दुर्गा जेभी १ करोड २० लाख, र कर्णाली नदी हुँदै सिमिकोट जाने खुलालु पुलमा १४ करोडमा ट्रस्ट बेलिब्रिज बन्न लागेको हो । बेलिब्रिजको कन्काई नेपाल प्रगति जेभीले ठेक्का लिएको छ । यी पुलमा ठेकेदारले सुस्त गतिमा काम गरिरहेको छ । ठेकेदारको लापरबाहीका कारण पुल निर्माणमा ढिलासुस्ती भएको डिभिजन प्रमुख भण्डारीले बताए । ४ वटा निर्माणाधीन कम्पनीलाई दिइएको पेस्की रकम पनि जफत गरिएको छ । डिभिजन कार्यालयका अनुसार चाकुल्ला खोला पुल पनि सूचीमा राखिन लागिएको जनाइएको छ ।

‘एक वर्षभित्र निर्माण सम्पन्न गर्ने प्रतिबद्धता आएपछि ३ वटा पुल निर्माणको म्याद थप गरेका छौं,’ डिभिजन प्रमुख भण्डारीले भने, ‘निर्माण कार्य सम्पन्न गर्नका लागि एक वर्ष समय दिएका छौं ।’ काम गर्नका लागि पत्रपत्रिकामा ३ पटकभन्दा बढी सूचना प्रकाशित भएका निर्माण कम्पनीलाई कारबाही गरिने उनले बताए । ‘काम छिटो सम्पन्न गराउँनका लागि चिठी धेरैपटक बुझायौं,’ भण्डारी भने, ‘तर, काम गर्नै मान्दैनन्। कालोसूचीमा हाल्नुबाहेक अरु उपाय नै भएन् ।’

फागुनमा सम्झौता भएका ३ वटा नयाँ पुलमा सिम्लेगाड, बालीगाड, छिवेना खोलामा रहेका छन् । ती पुलमा सूर्य कन्स्ट्रक्सन, जगत निर्माण सेवा, वर्माणी निर्माण सेवाले ४ करोडमा छुट्टाछुट्टै निर्माण सम्झौता गरेका छन् । निर्माण कम्पनीका ठेकेदारले नाकाबन्दी, प्राकृतिक प्रकोप लगायत कारणले पुल निर्माण हुन नसकेको प्रतिक्रिया जनाएका छन् ।

बिजोग राजमार्ग

राजमार्गको धेरैजसो ठाउँ हिलो र पहिरोले क्षतविक्षत छ । राजमार्गका सडक हिलोसँगै जलमग्न छन् । सुर्खेतबाट जुम्ला पुग्न निकै सास्तीपूर्ण यात्रा गरी गन्तव्यमा पुग्नुपर्छ । ‘धेरै ठाँउमा पहिरो र हिलोले गाडी गुडाउनै मुस्किल हुन्छ,’ यात्रु नैनबहादुर शाहीले भने, ‘कतै न कतै पहिरोले रोकेकै हुन्छ । सडकमा पिचभन्दा खाल्डाखुल्डी बढी छन् ।’ सडक बिग्रिएकाले समयमा गाडी नआउने गरेको रार्कममा रहेको ट्राफिक प्रहरी पोस्टका इन्चार्ज योगेन्द्र चन्दले बताए । ‘पानी परेपछि सडक अवरुद्ध भइहाल्छ,’ चन्दले भने, ‘धेरै स्थानमा पुलबीनाका खहरे खोला भएकाले राजमार्ग अवरुद्ध हुने गर्छ।’

प्रकाशित: १७ असार २०७३ ०२:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App