१५ चैत्र २०८० बिहीबार
अर्थ

छानबिन गरी दोषीलाई कारबाही गर्छु :  उपप्रधानमन्त्री थापा

धनगढी- उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले जिविस कैलालीको ढुंगा, बालुुवा र गिट्टीको टेन्डरमा मिलेमतो गरेर रकम बाँडीचुँडी खाएको विषयमा मन्त्रालयबाटै छानबिन गर्ने बताएका छन्। जिल्ला विकासको एक करोडभन्दा बढी रकम कम हुने गरी दर्ता भएको टेन्डर रोक्ने र आर्थिक चलखेलमा संलग्नलाई कारबाही गर्ने उनको भनाइ छ।

सुदूरपश्चिमको भ्रमण पूरा गरेर सोमबार काठमाडौं फर्कने क्रममा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री थापाले विभिन्न सञ्चार माध्यममा आएको जिविस कैलालीको टेन्डरमा मिलेमतोको विषयलाई गम्भीर रुपमा लिएको बताएका हुन्। 'तपाईं (पत्रकार)हरुले उठाएपछि मैले गम्भीर रुपमा लिएको छु, काठमाडौं पुगेर छानबिन सुरु गर्छु,' उनले भने। टोली गठन गरेर छानबिन थालिने उनको भनाइ छ। जनताकोे विकासका लागि खर्चिने रकम टेन्डर मिलेमतो गरी बाँडीचुडी खानु गम्भीर विषय भएको उनले बताए। 'छानबिन गरेर यो टेन्डर रोकिन्छ, यसमा संलग्नलाई कारबाही पनि गरिन्छ,' उनले भने। स्थानीय निकायको काम कारबाहीको विषयमा अध्ययन गर्न नै सुदूरपश्चिमको भ्रमणमा आएको उनले बताए। स्थानीय निकायको निर्वाचन नभएकै कारण जिविस लगायत स्थानीय निकायमा अनियमितता कम हुन नसकेको उनको भनाइ  छ।'अनियमितता र अराजकता हटाउन चाडोभन्दा चाडो स्थानीय चुनाव गराउनुपर्छ,' उनले भने।

यसैबीच स्थानीय बासिन्दाले जनताको विकासमा प्रत्यक्ष असर पार्ने जिविसको राजस्वमा एक करोढभन्दा बढी कम हुने गरि मिलेमतोमा दर्ता गरिएको टेन्डर रद्द गरी प्रतिस्पर्धात्मक ढंगले पुनः टेन्डर आह्वान गर्नुपर्ने माग राखेका छन्। नेपाली कांग्रेस कैलालीका महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महराले जिल्लाको विकासलाई प्रभाव पार्दै आन्तरिक स्रोतलाई कमजोर पार्ने गरी मिलेमतोमा भएको टेन्डर रद्द भई पुनः टेन्डर हुनुपर्ने बताएका छन्। प्रत्येक वर्ष १५–२० प्रतिशत रकम राजस्व बढेर जानुको साटो करिब १ करोड कम हुनुले आन्तरिक स्रोत कमजोर बनाएर परनिर्भरता बढाउन मद्दत गर्ने उनको भनाइ छ। 'प्रत्येक वर्ष बढेर जानुपर्नेमा १ करोड कममा टेन्डर पर्नुले कैफियत भएको स्पष्ट हुन्छ,' उनले भने, 'यसको छानबिन गरेर रद्द नभएमा जिल्लाको विकासमा नकरात्मक असर पर्ने छ।'

एमाले कैलालीका अध्यक्ष दिर्घ सोडारीले राजस्व कम हुने गरी टेन्डर दर्ता हुुनु गलत भएको बताए। मिडियामा कुरा उठेकाले टेन्डरमा केही समस्या भएको उल्लेख गर्दै यसबारे अध्ययन र पार्टीमा छलफल गरेर पार्टीको धारणा सार्वजनिक गर्ने उनको भनाइ छ। 'सरकारमा भएको पार्टीका नाताले पनि जनताको विकाससँग जोडिएको राजस्व कम गर्ने काममा हाम्रो चासो रहन्छ,' उनले भने।

जिविस कैलालीले खुटिया अन्तर्गतका खोलामा ढुंगा, बालुुवा र गिट्टी झिक्न खोलेको टेन्डरमा आर्थिक मिलेमतो भई चालु आवको भन्दा करिब १ करोड कम रकमको टेन्डर मात्र दर्ता भएको छ। कर्मचारी, ठेकेदार र राजनीतिक दलका केही प्रतिनिधि समेतको संलग्नतामा रकम बाँडिचुडी गरेर मिलेमतोमा एक करोडभन्दा बढी राजस्व घाटा हुने गरी टेन्डर दर्ता भएको हो।

चालु आवमा १ करोड ८१ लाखमा ठेक्का दिइएको खुटिया अन्तर्गतका खोलामा अगामी आवका लागि ढुंगा, गिटी संकलनका लागि खोलिएको टेन्डर ९२ लाखमा दर्ता भएको छ। मिलेमतोमा ४ वटा व्यवसायी कम्पनीका टेन्डरमात्र दर्ता गरिएको थियो। प्रक्रिया पुर्‍याउन कम्तीमा ३ वटाको टेन्डर पर्नुपर्ने प्रवाधान भएकाले सहमतिमा ठेक्का लिनेको भन्दा कम रकममा अन्य ३ टेन्डर दर्ता गरिएको हो।

प्रकाशित: ७ असार २०७३ ०४:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App