७ वैशाख २०८१ शुक्रबार
अर्थ

चन्द्रागिरिमा केबलकार सरर‍‍‍‍‍...(भिडियो)

काठमाडौं– धुलोको साम्राज्यमा पसेजस्तो लाग्ने कुइरीमण्डल सडक। एकसाथ गुड्छन्– लरी, ट्रिपर, बस, मोटरसाइकल र कारहरु। त्रिपुरेश्वरदेखि थानकोटसम्म पुग्दा लाग्छ नेपालमा फोक्सो बिगार्ने धुँवा एवं हिलो, भत्किएका सडकबाहेक अरु केही छैन।

तर थानकोटकै दक्षिण–पश्चिममा अवस्थित एक कुनोको वास्तविकता फरक देखिन्छ। धुलो, हिलो र धुँवा छोडेर २० मिनेट पैदल वा ३ मिनेट सवारी साधन कुदाएपछि केबल कारको ग्वान्डाला(डब्बा)सँगै एउटा बृहत् परियोजना देखिनेछ। त्यतिबेला तपाइँले भन्नुहुनेछ, 'वाउ!'

त्रिभुवन पार्कको पश्चिम—दक्षिण कुनो नजिकै चन्द्रागिरि चुचुरो पुग्न काडमाडौं फन पार्क लिमिटेडले निर्माण गरिरहेको केबलकार बहुउद्देश्यीय पर्यटन परियोजना नजिक पुग्नेको मुखबाट सुन्न पाइन्छ, 'नेपालमै यस्तो ?' हो, चन्द्रागिरि चुचुरो पुगेर विशाल काठमाडौं उपत्यका नियालेपछि हामीलाई पनि लाग्यो, 'गर्न सक्दा नेपाललाई स्विटजरल्याण्ड जस्तै बनाउन सकिने रहेछ।'

मौसमले लगाउनेछ काउकुती

चन्द्रागिरि त्यही पहाड हो जहाँबाट पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका हेर्दा मोहित भएर आफ्नो बनाउन रणनीति बनाएका थिए। यो त्यही पहाड हो जहाँ रक्सौलको बाटो हुँदै तीन दिन पैदल हिँडेर आएका न्युयोर्क टाइम्सका पत्रकार जोन ट्रोनबुल बास बसेका थिए। अमेरिका फर्केपछि सन् १९४० को दशकमा उनले लेखे, 'चन्द्रागिरीको चुचुरोबाट देखिने साधु उपत्यका र साङ्ग्रिला हेर्दा जुकाको टोकाइ र तीन दिनको पैदल हिँडाइको थकाइ सबै मेटिने रहेछ।'

अब काठमाडौंबाट चन्द्रागिरि उक्लन पैदल हिँडिरहनु पर्दैन। पहाडका बेँसी, उपत्यका र तराइको धुँवाधुलो, भिडभाड र गर्मीबाट लखतरान भएर आउनेहरुका लागि १० मिनेटको केबलकारे यात्राले २५ सय ४० मिटर अग्लो चन्द्रागिरी चुचुरोमा पुर्‍याएर आनन्दानुभूति दिन्छ। छिनमै हुस्सु, छिनमै वर्षा र छिनमै घाम लाग्ने चन्द्रागिरी चुचुरोको मौसम चमत्कारिक छ। केही बेरअघि बटम स्टेशनमा गर्मीले खलखल भएकाहरु चन्द्रागिरी चुचुरोकाे हुस्सुभित्र लुक्दा जाडोले आच्छु आच्छु भन्न थाल्नेछन्। दैनिक कार्य सञ्चालनको बोझबाट थाकेकाहरुलाई पुनर्ताजगी दिने यो मौसम प्रकृतिको अनुपम उपहार नै हो। यो बाहेक तपाइँले चन्द्रागिरि चुचुरोबाट देख्नुहुन्छ पूरै काठमाडौं उपत्यका, अनि मौसम खुलेका बेला उत्तरका हिमश्रृङ्खला पनि।

भिडियो

 

भिडियो: प्रबिन कोइराला

चन्द्रागिरि डाँडाबारे धार्मिक विषय र किंवदन्तीहरु पनि प्रशस्तै जोडिएका छन्। शिवले सतीदेवीको शव बोकेर पृथ्वी भ्रमण गर्दा चन्द्रागिरिमा निधार पतन भएको वर्णन स्वस्थानी कथामा छ। निधारलाई संस्कृतमा 'भाल' भनिने कारण उक्त स्थानमा भालेश्वर महादेव उत्पत्ति भएको व्याख्या छ। धार्मिक आस्थालाई अक्षुण्ण राख्न फन पार्क लिमिटेडले चन्द्रागिरी परियोजनाअन्तर्गत विशाल र सुन्दर भालेश्व महादेव मन्दिर स्थापना गरेको छ। त्यहाँ पहिलैदेखि स्थानीयले पूजा गर्दै आएका शिवका प्रतिमाहरुलाई जोगाएर स्थापित गरिएका छन्।

दैनिक १ हजार यात्रु ओसार्ने क्षमता

कम्पनीका अनुसार बृहत् परियोजनाको केवलकार पहिलो र मुख्य प्रडक्ट हो। केबलकारमा ३८ वटा ग्वान्डला सञ्चालन छन्। एउटा मेन्टिनेन्स क्यारिएर र दुई लगेज क्यारियर पनि जडान गरिएका छन्। प्रत्येक ग्वान्डलामा ८ जनासम्म यात्रु चढ्न वा ६ सय ४० किलो तौल राख्न मिल्छ। त्रिभुवन राजमार्गबाट करिब १ किलोमिटरको दूरीमा केबलकारको बटम स्टेशन अवस्थित छ। बटम स्टेशनमा करिब २ सय कार, ४ सय मोटर साइकल र १ सय बस पार्किङ गर्न सकिने पूर्वाधार निर्माण गरिएको छ। बटम स्टेशनबाट साढे दुई किलोमिटर दूरीको उचाइमा ११ ओटा टावर गाडेर केबल तार टाँगिएको छ। प्रत्येक घन्टा १ हजार यात्रु बोक्ने क्षमता राख्ने केवलकारले बटम स्टेशनबाट चुचुरोसम्मको यात्रा गर्न सामान्यतः करिब १० मिनेट लगाउनेछ। हाइकिङ गरेर चन्द्रागिरिको डाँडामा पुग्नेहरुका लागि पनि कम्पनीले प्याकेज ल्याउने तयारी गर्दैछ। हाइकिङ गरेर चन्द्रागिरि उक्लिएकाहरुलाई केबलकार चढेर फर्किने सुविधा हुनेछ।

कम्प्युटरबाट निगरानी

कम्पनीका अध्यक्ष चन्द्र ढकाल निर्माण कम्पनीले केबलकारको सबै काम पूरा गरेर हस्तान्तरण गरिसकेको बताउँछन्। 'पटकपटकको परीक्षणमा सफल भएपछि निर्माण कम्पनीले हामीलाई हस्तान्तरण गरिसकेको छ,' ढकालले नागरिकन्युजसँग भने, 'सबै उपकरणहरु अन्तर्राष्ट्रिय स्तरका ल्याएका छौं। हामीलाई अष्ट्रियाको कम्पनीले उपकरण आपूर्ति गरेको हो।' रेस्टुरेन्टलगायत अन्य निर्माण कार्य नसकिँदा केवलकार सञ्चालनमा आउन ढिलाइ भइरहेको छ। अर्को महिनासम्ममा केवलकार सञ्चालनमा ल्याउने लक्ष्य सहित तयारी भइरहेको अध्यक्ष ढकालले जानकारी दिए।

केबलकारमा यात्रुको सुरक्षाका लागि टावर र डब्बाको निगरानी कम्प्युटर जडित प्रविधिबाट गरिनेछ। केबलकारको अहिलेसम्मको नयाँ संस्करण भएकाले त्यसलाई कम्प्युटराइज्ड गर्न सहज भएको कम्पनीको दाबी छ। 'यात्रुको सुरक्षालाई ध्यान दिँदै हामीले उच्च प्रविधि जडान गरेका छौं। यात्रुको सुरक्षालाई हामीले सबैभन्दा पहिलो प्राथमिकतामा राखेका छौं', कम्पनीका सेल्स एन्ड मार्केटिङ म्यानेजर विख्यात विक्रम राणाले नागरिकन्युजसँग भने।

दैनिक १२ घण्टासम्म केवलकार चलाउन सक्ने तयारी व्यवस्थापनले गरेको छ। सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर केबलकार राति पनि केही घण्टा चलाउन सकिने रणाको भनाइ छ।

केबलकार चढेर चन्द्रागिरि चुचुरोमा पुगेपछि पर्यटकका लागि अन्य सेवाहरु पनि छन्। भालेश्वर महादेव मन्दिर दर्शन, बहुउद्देश्यीय सम्मेलन केन्द्र, सांस्कृतिक डबली, भ्यु टावर, टावरबाट दूरबीन सेवा, आवासका लागि रिसोर्ट, बालबालिकाका लागि फन पार्क, गार्डेन, रेष्टुरेन्ट, बार, सोभेनियर सप तथा ब्राण्डेड पसलहरु सञ्चालनमा आउने छन्। सञ्चालनमा आएको केही समयअन्तरालमा शारीरिक अभ्यासमा आधारित जीप फ्लायर, क्लाइम्बिङ, स्विमिङ जस्ता खेलहरुका साथै एडुटेन्मेन्ट फोर–डी सिनेमा हल सञ्चालनमा ल्याउने योजनामा कम्पनीले काम गरिरहेको छ।

'यो पारिवारसहित घुम्ने, रमाउने र रिफ्रेसमेन्ट हुने टुरिजम डेस्टिनेशन हुनेछ,' राणाले भने, 'एउटा परिबार यहाँ केबलकार चढेर बिहान आएपछि बेलुकैसम्म मनोरञ्जनपूर्वक समय बिताउन सकुन् भन्ने हाम्रो प्रायास छ, अझ रात बिताउन चाहनेहरुका लागि हामीले रिसोर्ट निर्माण गर्दैछौं।'

सवा ३ अर्बको लगानी, ५ सयलाई रोजगारी

चन्द्रागिरि हिल परियोजनाको निर्माण पूरा गर्न ३ अर्ब २५ करोड रुपैयाँ लगानी हुने काठमाडौं फन पार्क लिमिटेडका निर्देशक अम्बिकाप्रसाद पौडेले बताउँछन्। परियोजना निर्माता काठमाडौं फन पार्क लिमिटेडमा आइएमई समूह, भाटभटेनी, अम्बिकाप्रसाद पौडेल, नवराज नेपाल, उत्तम नेपाल, उमा जिसीलगायतको लगानी छ।

उनका अनुसार यस आयोजनाको बटम स्टेशन(चन्द्रागिरिको फेदी)मा कम्पनीले आफ्नै स्वामित्वमा रहेको १ सय २० रोपनी जमीनमा केबलकारको तल्लो स्टेशन, पार्किङ, रेष्टुरेन्ट, ब्राण्डेड शप राख्ने पूर्वाधार निर्माण गरेको छ। माथिल्लो चुचुरोमा रहेको ३७ हेक्टर क्षेत्रफलको जमिन भने कम्पनीले सरकारसँग ४० वर्षका लागि भाडामा लिएको हो। परियोजनाले करिब ५ सय जनालाई प्रत्यक्ष रोजगारी दिनेछ। यो बाहेक काठमाडौंको चन्द्रागिरी नगरपालिका, मकवानपुरको चित्लाङ र फाखेल गाविसका बासिन्दा यस परियोजनाबाट प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन्।

परियोजनाको भवन, सडकलगायत पूर्वाधार निर्माण कार्य हाल सिई कन्स्ट्रक्सन, गौरा कन्स्ट्रक्सन, स्वच्छन्द कन्स्ट्रक्सनले निर्माण गरिहेका छन्। निर्माण कम्पनीहरुले पनि परियोजनाका पूर्वाधार निर्माणमा सयौं कामदारलाई दैनिक ज्यालादारी र मासिक तलबमा रोजगारी दिइरहेका छन्। गत वैशाखबाट सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि २०७२ वैशाखको भूकम्प र भारतको नाकाबन्दीले आयोजना निर्माणलाई पछि धकेलेको थियो।

बढ्न थाल्यो भिड, ७ सय हाराहारी भाडा

केवल कार सञ्चालनमा नअाइसके पनि चन्द्रागिरि नगरपालिका—६ स्थित केबलकारको बटम स्टेशनमा हेर्न आउनेको भिड दिन दिनै बढ्दो छ। केबलकार निर्माण भएको सुनेर धेरै उत्सुकहरु आफैँ त्यहाँ पुगिरहेका छन्। त्यहाँ पुग्ने र अहिलेसम्म मनकामना केबल कार मात्र चढेकाहरुका लागि भाडा दर विशेष चासोको विषय हो।

'हामीले रचना गरेको नयाँ गन्तव्यमा रमाइसकेपछि सेवाको तुलनामा सस्तै पर्ने भाडादर हामी निर्धारण गर्नेछौं,' निर्देशक पौडेलले भने, 'केबलकार नयाँ प्रविधि सहितको पछिल्लो परिमार्जित संस्करणको हो, अन्य पूर्वाधारहरु पनि उत्तिकै सशक्त छन्। सेवाग्राहीले अनुभव गरेपछि यी कुरा आफैँ थाहा पाउनु हुनेछ।' चन्द्रागिरि चुचुरो पुगेर फर्किन दुईतर्फी भाडा दर करिब ७ सय रुपैयाँ हाराहारी हुने अनुमान कम्पनीको छ।

प्रकाशित: ४ असार २०७३ ०५:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App