coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दश वर्षपछि भेरी पुलको ठेक्का तोडियो

जाजरकोट र रुकुमपश्चिमको बीचमा बनाउन लागिएको भेरी नदिको पुल। तस्विर: गोविन्द केसी/नागरिक

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाअन्र्तगत जाजरकोट–रुकुम पश्चिम जोड्ने भेरी नदिको पुल निर्माण नहुँदा सम्झौता भएको १० वर्षपछि ठेक्का तोडिएको छ। जाजरकोटको भेरी नगरपालिका र रुकुमको चौरजहारी नगरपालिका जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण बन्न नसक्दा ठेक्का तोडिएको हो।  

चौरजहारी–जगतीपुर सडक योजनाअन्र्तगत महत्वकांक्षी रुपमा लिइएको भेरी नदिमाथिको पुल ठेकेदार कम्पनीलाई योजना कार्यालयले बनाउनका लागि २०७३ सालदेखि पत्रचार गर्दासमेत पुलको प्रगती नदेखिएपछि ठेक्का तोडिएको जनाइएको छ। पुल समयमा नबन्दा पुष्पलाल (मध्यपहाडी) राजमार्ग हुँदै रुकुमपश्चिम जान सल्लीबजार जानुपर्ने बाध्यता छ। समयमा पुल निर्माण भए राजमार्ग हुँदै रुकुम पुग्न सहज हुने थियो। पुल निर्माण नहुँदा रुकुम पुग्न धेरै लामो घुम्नुपर्छ। रुकुम पुग्न र चौरजहारी र जगतीपुरको विकासमा समेत पुल नहुँदा बाधा खडा भएको स्थानीयहरु बताउँछन्।  

राजमार्ग योजनाको कार्यालयले वर्षेनी पुल बनाउन पत्राचारदेखि राष्ट्रिय पत्रिका सूचना निकाल्दा समेत ठेकेदार कम्पनीले बेवास्था गरेका कारण ठेक्का सम्झौता तोडेको जनाइएको छ। योजना कार्यालयले २०६९ असार २९ गते वाईपि कन्ट्रक्सन प्राली ललिपुलसँग भ्याटसहित १४ करोड ८४ लाख २७ हजार ८ सय ८९ रुपैयाँ ५० पैसामा सम्झौता गरेको थियो। २०७३ चैत्र १० गतेसम्म १८ प्रतिशत काम गरेर २ करोड ७० भुक्तानी समेत लिइसकेको छ। २०७३ साल चैत्र १० गतेपछि काम नहुँदा भुक्तानी रोकिएको थियो। हालसम्म साइडमा २५ प्रतिशत काम भएको छ। ठेक्का सम्झौता तोडिएसँगै नयाँ ठेक्काको प्रकृया अगाडी बढाइएको राजमार्ग योजना कार्यालय दैलेखले जनाएको छ। काम गर्नका लागि योजना कार्यालयले पटक पटक पत्राचार र पत्रिकामा किन ठेक्का नतोड्ने? भनेर सूचना निकाल्नेदेखि काम नगर्नुको कारणसहित स्पष्टिकरण दिनका लागि  पत्रचार गर्दा समेत ठेकेदार सम्र्पकमा नआएको जनाईएको छ।  

पुलको काम नगर्ने कम्पनीलाई नियमअनुसार कालोसूचीमा राख्नका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेर पठाएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालय दैलेखले जनाएको छ। कम्पनीले पेश्की रकम २ करोड ६१ लाख लगेको थियो। ठेकेदार कम्पनीको बैंक ग्यारेण्टी जफत गरेको र पेश्की रकम सरकारी पैसा चलाएवापतको १० प्रतिशत ब्याज कार्यालयमा जम्मा गर्न पत्रचार योजना कार्यालयले गरेको जनाएको छ। त्यस्तै सम्झौता गर्दा ५ प्रतिशत कार्य सम्पादन जमानत ७४ लाख २२ हजारसमेत योजना कार्यालयले जफत गरेको छ। ठेक्का सम्झौता तोडिएसँगै नयाँ पुल निर्माणका लागि कति रकम लाग्छ मुल्यांकन गरेर कम्पनीबाट असुल गर्ने प्रकृयामा योजना कार्यालय लागिरहेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखका योजना प्रमुख युवराज पोखरेलले बताए। ‘समय खेर फालेर काम नगर्दा पत्राचार र सूचना निकाल्दा समेत अटेर गरेकाले भेरीको पुलको सम्झौता तोड्ने निर्णय लिएको हौं।’ योजना प्रमुख पोखरेलले भने, सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौता अनुसार काम नगरेको हुँदा  सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौताको शर्तअनुसार ठेक्का तोडिएको हो।’

 

प्रकाशित: २१ मंसिर २०७९ ०७:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App