१३ माघ २०७९ शुक्रबार
अर्थ

कमलामाई मन्दिरको उत्पत्तिस्थलको पर्यटन प्रवर्द्धनमा जोड

कमलामाई नगरपालिकाले कमलामाई मन्दिरको उत्पत्तिस्थल क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न उच्च प्राथमिकता दिने भएको छ।

प्रचारप्रसारको अभावले प्रख्यात मन्दिरको उद्गमस्थल ओझेलमा परेको जनाउँदै नगरपालिकाले पर्यटन प्रवर्द्धनमा जोड दिएको  हो। गौमती  र कमला खोलाको संगमस्थल कनपा–५ मा कमलामाई मन्दिर छ। यसको उत्पत्तिस्थल कमलामाई नगरपालिका–८ माईशीर हो।

विपी राजमार्ग निर्माणसँगै यातायातको सुविधा पुगेपछि माईस्थानमा रहेको मन्दिरमा चहलपहल बढेको भए पनि यसको उद्गमस्थलबारे कतिपय बेखबर छन्। यहाँ पनि मन्दिर बनाइएको छ। प्राकृतिक देवीदेवताहरूको शिला छन्। कमलामाई देवीले पानी पोखेको ठाउँबाट उम्रिएको पानी माईपोखरीमा जम्मा गरिएको छ। मन्दिर क्षेत्र पहाडले घेरिएको छ। चुरे क्षेत्रको सबैभन्दा अग्लो ठूलडाँडा यहीं नजिकै छ। ऐतिहासिक, धार्मिक, प्राकृतिक सुन्दरता मनोरम र रमणीय छ।

ऐतिहासिक धार्मिकस्थलको संरक्षण मात्र होइन विकास र प्रवद्र्धन गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले बताए। उनले भने, ‘यहाँसम्म आउने बाटो कालोपत्र हुने प्रक्रियामा छ। निर्माणाधीन धर्मशाला सम्पन्न गरेर वनभोजस्थल अझ व्यवस्थित बनाउँछौं, नमूना ठाउँ बनाएर यस क्षेत्रमा पर्यटक भित्र्याउने योजना छ।’

हिन्दू धर्मलम्बीहरूले अतिविश्वास गर्ने धार्मिकस्थलमा पर्दछ, कमलामाई मन्दिर। विपी राजमार्ग निर्माणसँगै यातायातको सुविधा पुगेपछि माईस्थानमा रहेको मन्दिरमा नेपाल र भारतबाट दर्शनका लागि भक्तजन आउँछन्। तर, मन्दिरको उत्पतिस्थल माईशीरमा धेरैजसो पुग्दैनन्। यहाँको सौन्दर्य, ऐतिहासिकता र धार्मिकताबारे प्रचारप्रसार कमी भएको उनले बताए।

नगरप्रमुख पोखरेलका अनुसार माईशीरमा हलुवावेद, जुनार, सुन्तला प्रशस्त पाइन्थ्यो। हलुवावेद लोप भए पनि अमिलो जातका फलफूल अझैै पाइन्छ। माईशीर क्षेत्रमा जुनार, सुन्तला, कागतीलाई व्यावसायिक खेतीका रूपमा विस्तार गरी पर्यटकीयस्थलका रूपमा विकास गरिने नगरको लक्ष्य छ। यस क्षेत्रमा खानेपानी र सिँचाइको चरम समस्या भएकाले लिफ्ट खानेपानी योजना अन्तर्गत समस्या समाधान गरिने र यहाँका नागरिकको जीवनस्तर उकास्ने उनको भनाइ छ।

‘यस वर्ष प्रदेश सरकारको २५ लाखमा नगरबाट पैसा थपेर खानेपानी र सिँचाइको व्यवस्था गर्छौैं। त्यसपछि फलफूलको नमूना ठाउँका रूपमा विकास गर्दै लैजान्छौं’, उनले भने, ‘विकासका हिसाबले पिछडिएको तर परिर्वतनको सम्भावना प्रचुर भएको यस ठाउँलाई धार्मिकसँगै पर्यटकीय क्षेत्र बनाउने लक्ष्य छ।’

इतिहासकारका अनुसार श्री ३ चन्द्रशम्शेरको पालमा विसं १९६४ मा फौदसिंहले माईशीरमा मन्दिर स्थापना गरेका थिए। सन् १९७४ मा फौदसिंहका छोरा कीर्तिमान कर्णेलले आवतजावतमा समस्या भएकाले हाल मन्दिर रहेको स्थान माईस्थानमा मन्दिर निर्माण गर्न लगाएको स्थानीय ज्येष्ठ नागरिक बताउँछन्।

कमलमाई मन्दिर धार्मिक पर्यटकीयस्थलका रूपमा विकास हँुदै गएको स्थानीय कुमार मग्रातीले बताए। शुद्ध मनले दर्शन गरे चिताएको पुग्ने विश्वासले कमलामाई देवीको दर्शन गर्न आउने भक्तजनको संख्या बढ्दो छ।

‘हिउँद मौसममा यस ऐतिहासिक तथा धार्मिकस्थलमा वनभोज खान आउनेको भीड हुन्छ। कहिले त वनभोज खान आउनेले बगर नै छपक्कै ढोकेका हुन्छन्’, उनले भने। कमलामाई मन्दिरमा दर्शन गर्दा चिताएको पूरा हुने, शान्ति छाउने जनविश्वास रहेको पुजारी चन्द्र दासले बताए। उनले कमलामाई देवीको पवित्रस्थल शक्तिशाली भएको धारणा राखे।

कमलामाई मन्दिरको उद्गमस्थल माईशीरमा भए पनि त्यसको ऐतिहासिक धार्मिकता माईस्थानमा जोडिएकाले दुवै स्थलमा सत्यता र उत्तिकै महत्त्व रहेको कमलामाई मन्दिरमा ४३ वर्षदेखि पुजारीका रूपमा रहेका विष्णुप्रसाद कोइरालाले बताए।

उनका अनुसार प्रत्येक वर्ष माघे सङक्रान्तिमा दुवै स्थलमा  ठूलो मेला लाग्दै आएको छ। मेलामा नेपाल र भारतका भक्तजन धेरै आउँछन्। पहिला मन्दिरमा जाने झोलुङे पुल नहुँदा बर्खा याममा भक्तजनको उपस्थित हुँदैन थियो। मन्दिरमा आवातजावत गर्न सजिलो र मन्दिर व्यवस्थित हुँदै गएपछि दर्शनार्थी बाह्रै महिना आउँछन्। एकपटक दर्शन गर्न आएका दर्शनार्थी चिताएको पूरा भयो भनेर पटकपटक आउने गरेका पनि उनले सुनाए।

‘माघ र फागुनमा कम्तीमा पनि सात-आठ हजार पशुपक्षीको काटमार हुन्थ्यो, रगतको खोलै बग्थ्यो। अहिले एक हजारको पनि काटमार हुँदैन, नरिवल फुटाउने, परेवा उडाउने गर्दछन्’, उनले भने, ‘काटमार गरेर पशुबलि दिइन विस्तारै बन्दै गर्नुपर्छ।’  युवापुस्ता मन्दिरमा दिइने बलि प्रथाविरुद्ध भए पनि बूढापाकाले छोड्न नसकेकाले बलिप्रथा अत्य भने भइनसकेको बताए। रासस

प्रकाशित: २१ मंसिर २०७९ १०:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App