९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखरा महानगरपालिकाले २४ वटा फर्मलाई अनुदान दियो

उद्यमशीलता व्यवसाय प्रवर्धन तथा नवप्रवर्तन कार्यक्रमको लागि फर्महरुलाई अनुदान हस्तान्तरण गर्दै पोखरा महानगर प्रमुख धनराज आचार्य। तस्बिर नागरिक

साना व्यवसायीलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरा महानगरपालिकाले २४ वटा साना व्यवसायीक फर्मलाई अनुदान दिएको छ। विभिन्न २४ वटा फरक फरक व्यवसायीक फर्मलाई आर्थिक अनुदान प्रदान गरेको महानगरले बताएको छ।  

उद्यमशीलता व्यवसाय प्रवर्धन तथा नवप्रवर्तन कार्यक्रम ‘स्टार्ट अप’ अन्तर्गत ती फर्महरुलाई अनुदान हस्तान्तरण गरिएको हो। खास गरी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई प्रवद्र्धन गर्ने योजना महानगरले लिएको छ।  

पोखरा महानगरपालिकाले युएनडिपीसँगको साझेदारी तथा गोनेसाको व्यवस्थापनमा अनुदान प्रदान गरेको जनाएको छ। पोखरा महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्र (बिपिसी) अन्तरगत उद्यमशीलता व्यवसाय प्रवद्र्धन तथा नवप्रवद्र्धन केन्द्र (इबीक) परियोजनाको सहजीकरणमा उद्यमशीलता तथा नवप्रवर्तन कोष मार्फत फर्महरुलाई ‘स्टार्ट अप’ अनुदान प्रदान गरिएको महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए।  

महानगरपालिकाका प्रमुख आचार्यले व्यवसाय सञ्चालनका लागि प्रोत्साहन तथा नयाँ रोजगारी सृजनामा अनुदानले सहयोग पुग्ने विश्वास व्यक्त गरे। ‘व्यवसाय सञ्चालन तथा रोजगारी सृजनामा पहिलो पाइला महत्वपूर्ण हुन्छ, त्यस कारण नवीनतम सोच भएका व्यक्ति तथा फर्महरूलाई प्रोत्साहन होस्, प्रमुख आचार्यले थपे, ‘व्यवसायमा लगनशीलता बढोस्, रकमका हिसाबले सहयोग सानो होला तर पहिलो पाइलामा यो पुरस्कार प्राप्त गर्नु महत्वपूर्ण कुरा हो।’ रोजगारी सृजनाका लागि महानगरपालिकाले निरन्तर पहल गर्ने प्रमुख आचार्यले सुनाए।  

महानगरले सुन्ती पुर्जा (हस्तकला), सरस्वती अधिकारी थापा (गँड्यौला पालन, कौसी खेती र फोहोर मैला व्यवस्थापन), चुत्रल कृषि समूह (कृषि उत्पादन), ग्रिन रोड वेस्ट म्यानेजमेन्ट (प्लास्टिक व्यवस्थापन), एक कल होम सोलुसन (विभिन्न सेवाका लागि प्राविधिक सेवा), सुवास परियार (वातावरणमैत्री झोला प्रवद्र्धन), रेखा कुमारी थापा (गँड्यौला मल प्याकेजिङ), बाबुराम बस्ताकोटी (आर्ट एन्ड ह्याण्डी क्राफ्ट), प्रेम बहादुर विक (मेटल उद्योग), महिला सीप विकास संस्था (हस्तकला उत्पादन), पोखरा तारा मण्डल एन्ड विज्ञान केन्द्र (सिकाई प्रवद्र्धन) र जमुना सुनार (हस्तकला) लाई नगद ५० हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराइएको हो।             

यस्तै, झलक प्रसाद बराल (पोल्टी), तारानाथ पहारी (कृषि पर्यटन), पोखरा वर्डस एन्ड एग्रो फार्म (कृषि), ज्योति प्रोभिजन स्टोर (लोकल ध्यु तथा पनिर उत्पादन), पिन शोभा गुरुङ (विषादी मुक्त अग्र्यानिक उत्पादन), रनदेवी गुरुङ (कृषि तथा पशुपालन), विश्वबन्धु पोखरेल (कृषि तथा पश)ु, विष्णु माया आचार्य (हस्तकला), पद्मावति खाद्य उद्योग (आयुर्वेदिक औषधी तथा जडीबुटी), बिजुला परिवार (टेलर्स), देविथान कृषि फर्म (कृषि) र ग्रिनवायोट्रिक एन्ड रिसर्च सेन्टरलाई पनि नगद ५० हजार रुपैयाँ अनुदान सहयोग उपलब्ध गराइएको हो।

पोखरा महानगरपालिका क्षेत्र भित्र नयाँ व्यवसाय तथा नवितम सोचका साथ व्यवसाय सञ्चालन गर्ने तयारी गरिरहेका युवा–महिला–वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा फर्महरूलाई व्यवसाय सञ्चालनका लागि हौसला स्वरूप अनुदान प्रदान गरिएको इबीक परियोजनाका संयोजक नवराज अधिकारीले बताए। पोखरा महानगरपालिका अन्तरगत व्यवसाय प्रवद्र्धन केन्द्र (बिपिसी) द्वारा प्रकाशित सूचनाको आधारमा सूचीकृत भई छनौटमा परेका २४ वटा व्यक्ति तथा फर्महरूलाई अनुदान उपलब्ध गराइएको महानगरले जनाएको छ।

महानगरको कृषि शाखाको सिफारिसमा ती संस्थाहरुलाई अनुदान प्रदान गरिएको गोनेसा पोखराका अध्यक्ष रामप्रसाद सुवेदीले बताए। ‘महानगरको योजना उद्यमशिलाता हो। साना व्यवसायीलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित महानगरकै सिफारिसमा ती संस्थालाई अनुदान दिइएको हो,’ उनको भनाई थियो। उद्यामशिलताको लागि गोनेसाले महानगरसँगको सहकार्यमा व्यवसायिक प्रवद्र्धन केन्द्र स्थापना गरिएको छ। प्रवद्र्धन केन्द्रले सीप सिकाउँदै आएको छ।  

प्रकाशित: २० मंसिर २०७९ ०८:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App