coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

महोत्सवमय पोखराः पुसमा मात्रै तीनवटा महोत्सव

पोखरामा फेरी मेला र महोत्सवको सिजन सुरु भएको छ। दुई वर्ष कोरोनाको त्रासले सबैजसो मेला र महोत्सव स्थगित भएका थिए। पोखरा उद्योग वाणिज्य संघले दुई वर्षपछि ‘राष्ट्रिय औद्योगिक व्यापार मेला’ तीन दिन अघि सुरु गर्‍यो। पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित व्यापार मेला सकिए लगत्तै लेखनाथ क्षेत्रमा अर्को महोत्सव सुरु हुने छ।  

पुसको ७ गतेदेखि लेखनाथ उद्योग वाणिज्य संघले लेखनाथ महोत्सव सुरु गर्ने छ। अघिल्लो वर्ष मेलाको अन्तिम तयारी गरिए पनि कोरोनोको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढेपछि रोकिन पुगेको थियो।  

लेखनाथमा महोत्सव सकिएपछि फेरी पोखरामा अर्को महोत्सव सुरु हुने छ। युनाईटेड क्लब पोखराले पुसको २७ गतेदेखि ‘पोखरा महोत्सव’ आयोजना गर्ने छ। सबै मेला र महोत्सवको एउटै ध्येय छ–‘व्यवसायको प्रवर्द्धन, आर्थिक चलायमान’। पोखरा उद्योग वाणिज्य संघले गत मंसिर १६ गतेदेखि आयोजना गरेको व्यापार मेलामा आर्थिक कारोबार बिस्तारै बढ्दै गएको छ। २५० स्टल राखिएको छ।

‘विभिन्न प्रतिष्ठित व्यक्तित्वसँग छलफल चलाएका छौँ,’ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले भने, ‘राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँग छलफल गर्‍यौँ। उहाँको अभिव्यक्तिले व्यवसायीलाई थप प्रेरित र उत्साहित बनाएको महसुस हामीले गरेका छौँ।’  

लेखनाथमा सुन्तला महोत्सवबाट सुरु भएको महोत्सव हो। १८ औँ संस्करणसम्म आइपुग्दा स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी बजारीकरण गर्ने उद्देश्य छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ नारा तय गरिएको छ। महोत्सवले देशको अर्थतन्त्रलाई चलायमान बनाउँदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गराउने लक्ष्य महोत्सवले लिएको छ।

आर्थिक गतिविधि बढाउन, औद्योगिक उत्पादन, लघु घरेलु तथा साना उद्योगहरूको प्रर्वद्वन, आवश्यक ज्ञान, सीप, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकमा उत्पादित उपभोग्य वस्तु तथा सेवाहरूको प्रर्वद्वन, जातीय, भेषभुषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना गर्ने, आन्तरिक एवं बाह्य पर्यटक आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पु¥याउने लक्ष्य लिइएको संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक छत्र धर आत्रेयले बताए।  

महोत्सवमा साहित्य, महिला विशेष, विद्यालयस्तरीय, सांस्कृतिक, आदिवासी, जनजाति विशेष कार्यक्रम, जैविक विविधता, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि, शैक्षिक प्रदर्शनी, हस्तकला, जातजातिहरुको सम्मानमा लोप हुन लागेका रीतिरिवाज तथा संस्कृति झल्काउने उत्कृष्ट नृत्य प्रदर्शनी रहने छन्। महोत्सवमा ख्याति प्राप्त हास्य व्यङ्ग्य कलाकारहरूको दैनिक प्रस्तुति, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी गीत, लाइभ म्युजिक कन्सर्ट रहने छन्।  

महोत्सवमा १० करोड बरावरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। महोत्सवमा ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च भई १० लाख बचत हुने बताइएको छ। बचत रकमबाट प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नति, औद्योगिक क्षेत्रको निर्माणका लागि पहल एवम् सहयोग, कवि शिरोमणि लेखनाथ पौडयालको जन्मस्थल विकास र बेगनासताल, रुपाताल लगायतका पर्यटकीय स्थलहरूको प्रवर्द्धनको क्षेत्रमा खर्च गरिने योजना रहेको छ।  

लेखनाथ महोत्सव नटुंगिदैं पोखरामा ‘पोखरा सडक महोत्सव’ सुरु हुने छ । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन(रेबान) पोखराले बर्सेनि अंगे्रजी नयाँ वर्षको अवसरमा पोखरा सडक महोत्सव गर्दै आएको छ। पुस १३ गतेदेखि सडक महोत्सव सुरु हुनेछ।  

प्रकाशित: १९ मंसिर २०७९ ०८:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App