१६ चैत्र २०८० शुक्रबार
अर्थ

पर्यटन प्रवद्धर्न गर्न गोरखामा शाहकालिन परेड प्रदर्शन गरिने

परेड प्रदर्शन गरिनेस्थल गोरखा दरवार संग्रहालय। फाइल तस्बिरः नागरिक

जिल्लामा भित्रिएका पर्यटकको बसाई अवधि बढाउनका लागि गोरखामा पृथ्वीनारायण शाहकालिन फौजको झल्को दिनेगरि परेड प्रदर्शन गरिने भएको छ। परेडले जिल्लामा भित्रिएका पाहुनालाई केही समय भुलाउन सघाउने गोरखा नगरपालिकाको भनाई छ।  

गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले आगामी पुस २७ गतेबाट जिल्लामा पृथ्वीनारायण शाहकालिन फौजको झल्को दिने गरी परेड सुरु गरिने बताए यस्तो परेड हरेक दिन बिहान र बेलुकी संचालन हुने उनले बताए। यसले गोरखा भित्रिएका पर्यटकलाई भुलाउने वातावरण तयार पार्ने उनले बताए। उनका अनुसार गोरखा ठुलो आँगन (तल्लो दरबार संग्रहालय अघि) यस्तो परेड संचालन गरिनेछ। ‘सूर्याेदय र सूर्यास्तको समय पारेर यो हरेक दिन बिहान र बेलुकी परेड संचालन गर्ने तयारी भईरहेको छ,’ उनले भने।  

नगरप्रमुख रानामगरका अनुसार पुस २७ देखि सुरु हुने परेडको नेपाली सेना प्रमुखले उद्घाटन गर्नेछन। त्यसपछि नियमित रुपमा प्रदर्शन हुनेछ। ‘दरवार परिसरको ठुलो आँगनमा पृथ्वीनारायण शाहको सालिक राखेर बिहान सूर्याेदय र बेलुकी सूर्यास्तको समय पारेर दिनमा दुइपटक परेड संचालन गरिनेछ,’ उनले भने, ‘पृथ्वीनारायण शाहको फौजको झल्को दिनेगरि सेनाको वहालवाला फौज यसमा संलग्न हुनेछन।’ सेनाको भिन्दै टिम यो परेडमा सहभागि हुने उनले बताए।  

उनका अनुसार यस्तो खालको परेड अहिलेसम्म बेलायत र भारत–पाकिस्तान सिमानामा मात्र प्रदर्शन हुने गरेको छ। ऐतिहासिक ठाउँको पहिचान दिलाउने गतिविधि भएकोले पनि यसको महत्व रहेको उनले बताए। गोरखामा संचालन गरिने यो परेडका लागि नेपाली सेनाले स्वीकृति दिएर भिन्दै टिम खटाउने तयारी भएको पनि नगरप्रमुख रानामगरले जानकारी दिए। ‘नियमित रुपमा २१ जनाको फौज यो काममा खछिनेछ,’ उनले भने, ‘ऐतिहासिक गतिविधि भएकोले पनि यस्तो फैजको परेड पर्यटन क्षेत्रका लागि नौलो हुनसक्छ हामी नेपालीका लागि पनि यो परेड नयाँ नै छ।’  

सेनाको यो परेड हेर्नकै लागि पनि गोरखामा विदेशी र आन्तरिक पाहुना आउने उनले बताए। ‘बिहान र बेलुकी मात्र परेड संचालन हुने भएकोले आएका पाहुना कम्तिमा एकरात गोरखमा बास बस्नैपर्छ। नत्र परेड हेर्न पाउनेछैनन,’ उनले भने, ‘पर्यटन प्रवद्र्धनमा यो परेडको भूमिका हुनेछ। यसले गोरखा आएका पाहुनाको कम्तिमा एकरात बसाई अवधि बढाउनेछ।’  

गोरखा बजारमा आयोजित एकसाता अवधिको ‘एड्भान्स कुकिङ तालिम’का सहभागीलाई प्रमाणपत्र वितरण गर्दै अध्यक्ष रानामगरले गोरखा आएका पाहुनाको बसाई अवधि बढाउन पनि जरुरी रहेको बताए। ‘इतिहास झल्कने परेड देखाउन सके गोरखाले पर्यटनबाट राहत पाउनेछ,’ उनले भने, ‘भित्रिएका पर्यटकलाई जिल्लामै बसाईराख्न गतिविधि जरुरी हुन्छ।’ होटल संघ नेपालको आयोजना तथा संघको गण्डकी र गोरखा शाखाको समन्वयमा संचालित तालिमलाई युएनडीपी अन्तर्गतको सस्टेनेबल टुरिजम फर लाइभली हुड रिकभरी प्रोजेक्टले सघाएको थियो।  

नगरप्रमुख रानामगरले ऐतिहासिक गोरखा जिल्लाले पर्यटनको राम्रो सम्भावना बोकेको सन्दर्भमा आयोजित तालिमले सकारात्मक सन्देश प्रवाह गरेको बताए। गोरखा जिल्लामा थप होटल र पर्यटकीय पूर्वाधारको विकास गर्न बाँकी नै रहेको भन्दै उनले जिल्लामा पर्यटकको बसाई लम्ब्याउन नगरपालिकाले विविध योजना अगाडि बढाउँदै लैजाने जानकारी दिए।

सेनाको परेड बाहेक छेपेटारमा कृत्रिम ताल निर्माण गरी नौका सयर गराउने, माछा मार्ने, वरपर होटल तथा रेष्टुराँहरु संचालन गराउने, तालमा संकलन हुने वालुवा उत्खनन् गरी यसको सदुपयोग गर्दै अघि बढ्ने योजना नगरपालिकाको रहेको उनले बताए। ‘आर्थिक र पर्यटनका हिसावले गोरखा जिल्लालाई हामी अगाडि बढाउन चाहन्छौं,’ उनले भने, ‘गोरखा जिल्लाको मुख्य सम्भावना नै पर्यटन रहेको छ। त्यसैले नगरपालिकाले पनि त्यही अनुसार योजना बनाएको छ।’  

होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले पर्यटनलाई अगाडि बढाउन सीप, दक्षता र सकारात्मक सोचको आबश्यकता पर्ने बताए। पर्यटन क्षेत्रमा दक्ष जनशक्ति आवश्यक रहेको उनले बताए। उनले यस्तै तालिम प्रदेशका अरु जिल्लामा पनि संचालन गर्ने जानकारी दिए।  

होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले सिकाई सधैं अपुरो नै रहने बताए। उनले तालिमले रोजगारीमा समेत टेवा दिई विदेश जान खोज्ने जनशक्तिलाई स्वदेशमा नै रोक्न सहयोग पुग्ने विचार पनि राखे। पोखराको पर्यटनका लागि १५ हजार जनशक्ति आबश्यक पर्नेमा १० हजार श्रमशक्ति कोभिड–१९ को प्रभाव लगायत विविध कारणले पलायन हुँदा समस्या परेको उनले बताए। 

प्रकाशित: १७ मंसिर २०७९ ०९:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App