१६ चैत्र २०८० शुक्रबार
अर्थ

नेपालमा पर्यटक आगमनः ११ महिनामा साढे पाँचलाख

एघार महिना (२०२२ को जनवरी–नोभेम्बर) अवधिमा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या झन्डै साढे पाँचलाख पुगेको छ। पर्यटनको मूख्य सिजन मानिने नोभेम्बर महिनामा मात्र नेपालमा ७२ हजार ६ सय ५३ जना विदेशी पर्यटक भित्रिएको पर्यटन बोर्डको तथ्यांक छ। यी सबै विदेशी पाहुना हवाई माध्यमबाट भित्रिएका पाहुना हुन्।  

कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा पछिल्लो समय सुधार हुँदै गएको पर्यटन बोर्डले बताएको छ। सिजन अनुसार पर्यटन आगमनले गति लिएको आगमनको यो तथ्यांकले पनि पुष्टि गर्ने बोर्डको भनाई छ। बोर्डका निर्देशक मणिराज लामिछानेले पर्यटक आगमनमा हरेक महिना सुधार हुँदै गएको र आगामि दिनमा पनि अझै आगमन बढ्ने बताए। उनका अनुसार सरकारले कोरोनापछिको यो वर्षमा सरकारले नेपालमा कम्तिमा ५ लाख विदेशी पर्यटक भित्रिने प्रक्षेपण गरेको थियो। तर, सन् २०२२ को अझै एकमहिना अवधि बाँकी छँदै सरकारले अनुमान गरेभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्।  

अहिलेसम्म (११ महिना) झन्डै साढे पाँचलाख पाहुना नेपाल भित्रिसकेको र सन् २०२२ को एकमहिना बाँकी रहेकोले सन् २०२२ को वर्षभरिको विदेशी पर्यटकको आगमन संख्या ६ लाख हाराहारीमा पुग्ने अनुमान रहेको बोर्डका निर्देशक लामिछानेको छ। ‘पिक सिजन सकिएपनि डिसेम्बरको आगमन पनि राम्रो हुने हाम्रो अपेक्षा हो। सिजन कमजोर हुँदै जाने बेला भएकोले आगमन केही घटदै जाने भएपनि उत्तिसारो कमजोर हुँदैन भन्ने हाम्रो अपेक्षा हो,’ लामिछानेले भने । सन् २०२२ को अहिलेसम्म (११ महिना) नेपाल भित्रिने विदेशी पर्यटकको संख्या पाँचलाख ४६ हजार २ सय १६ पुगेको बोर्डको भनाई छ।  

नोभेम्बरको आगमन संख्या पनि सन्तोषजनक मान्नुपर्ने उनले बताए। उनका अनुसार कोरोना संक्रमण सुरु हुनुअघि २०१९ मा नेपालमा वर्षभरिमा सबैभन्दा बढी विदेशी झन्डै १२ लाख विदेशी पाहुना नेपाल भित्रिएका थिए। सन् २०१९ को नोभेम्बरमा मात्र नेपालमा १ लाख ३० हजार ३ सय २ जना विदेशी नेपाल भित्रिएका थिए। २०१९ को नोभेम्बरको तुलनामा यो नोभम्बरमा आगमनमा झन्डै ५६ प्रतिशत सुधार देखिएको लामिछानेले बताए। विभिन्न हवाई गन्तव्यसम्म हवाई सञ्जालले गति लिँदै गएकोले पनि आगामि दिनमा अझै धेरै विदेशी पाहुना नेपाल भित्रिने अपेक्षा रहेका बोर्डका निर्देशक लामिछानले बताए।

कोरोना भाइरसले सबैभन्दा बढी अत्याएको सन् २०२० र २०२१ को नोभेम्बरको आमगन भने निकै नै कमजोर थियो। सन् २०२० को नोभेम्बरमा जम्मा १९ सय ५६ जना र २०२१ को नोभेम्बरमा २६ हजार १ सय ३५ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए। सन् २०२० को सुरुवातदेखि कोरोना भाइरस संक्रमणको असर पर्यटन क्षेत्रमा देखिन थालेको थियो। ‘कोरोनाको असर विश्वव्यापी रुपमा नै कमजोर हूँदै गएको र दुइवर्षसम्म रोकिएका पाहुना घुम्न निस्कँदा नेपालले पनि त्यसबाट लाभ पाएको हो,’ उनले भने।  

विश्व पर्यटन संगठन (यूएन–डब्लुटिओ) ले पनि पछिल्लो समय पर्यटनमा सुधार हुँदै गएको देखाएको  । कोरोना महामारीबाट प्रभावित पर्यटन क्षेत्र पछिल्लो समय सुधारको लयमा फर्केको संगठनको भनाई छ। संगठनले २०२२ मा पर्यटन क्षेत्रमा ६० देखि ६५ प्रतिशत सुधार हुने बताईसकेको छ। नेपालको हकमा पनि २०१९ को वर्षभरिमा हवाई मार्गबाट आएका विदेशी पाहुनाको संख्यामा यो वर्ष ६० देखि ६५ प्रतिशत सुधार हुने लामिछानको भनाई छ। नेपालको आगमनले पनि संगठनकै तथ्यांक पछ्याएको देखिएको उनले बताए।  

प्रकाशित: १६ मंसिर २०७९ ०७:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App