काठमाडौंको कोलाहलले दिक्क हुनुहुन्छ? काठमाडौं नजिकै कतै घुम्न जानका लागि योजना बनाइरहनु भएको छ? त्यस्तो ठाउँको खोजीमा हुनुहुन्छ भने उपयुक्त ठाउँ बन्न सक्छ ललितपुरको बुङ्गमती। ललितपुरको जावलाखेलबाट दक्षिणतर्फ करिब ८ किलोमिटर भित्र रहेको बुङ्गमतीले आफ्नो छुट्टै पहिचान बोकेको छ।
२०७२ सालको भुकम्पले पूर्ण रुपमा क्षतिग्रस्त बनेको बुङ्गमती अहिले विस्तारै उठिरहेको छ। भूकम्पले क्षतविक्षत अवस्थामा पुगेको बुङ्गमती सांस्कृतिक सम्पदाले भरिपूर्ण ठाउँ हो। जहाँ नेवार समुदायको बाहुल्यता छ।
८ सय ४६ वटा घर रहेको बुङ्गमतीका सांस्कृतिक सम्पदाहरू भूकम्पले क्षतिग्रस्त बने। तर, अहिले बुङ्गमतीको सांस्कृतिक सम्पदाको संरक्षणमा स्थानीय मात्रै होइन अन्तर्राष्ट्रिय समुदाय पनि लागिरहेको छ। बुङ्गमतीको सांस्कृतिक पहिचान जोगाउनमा स्थानीय मात्रै होइन तीन तहकै सरकार र युएन हेबिटाटले ठूलो सहयोग गरेको छ।
२०७२ को भूकम्पले बुङ्गमतीका ५ सय ७६ घर पूर्ण रुपले भत्किए। जसमध्ये २ सय घरको पुनर्निर्माण भइसकेको छ भने अन्य कतिपय घर पुनर्निर्माणको चरणमा रहेका स्थानीय अभियन्ता अनिल तुलाधर बताउँछन्।
उनका अनुसार बुङ्गमतीमा अहिले बनेका घरहरू मौलिक शैलीका छन्। बुङमतीमा घर निर्माण गर्नका लागि नक्सा पास गर्ने समयमै मौलिक शैलीमा घरको डिजाइन गर्नुपर्छ। यहाँ रहेका पाटी, पौवा तथा सत्तलहरूलाई मौलिक शैलीमा पुनर्निर्माण गरिएको छ।
भौतिक निर्माण सँगसँगै बुङ्गमतीलाई स्थानीय नेवारी परिकारबाट चिनाउन स्थानीय लागि परेका छन्। बुङ्गमती विशेषगरी नेवारी खाजा र त्यसमा पनि योमरीका लागि प्रख्यात छ। यसबाहेक बारा, चटामरी, समयबजीसहितका मौलिक परिकारबाट पनि बुङमतीलाई चिनाउन स्थानीय लागि परेका छन्।
बुङ्गमतीका युवा काष्ठकला र चित्रकलामार्फत् पनि बुङ्गमतीमा पर्यटन ल्याउने योजनामा छन्। अहिले बुङ्गमतीका प्रत्येक घरहरूमा काठको काम गरिएको छ भने चित्र बनाइरहेका युवाहरू भेटिन्छन्। काठबाट विशेषगरी मुर्तीहरू, घर मन्दिरमा प्रयोग गरिने टुनालहरू बनाउने गरिएको स्थानीय रामभक्त महर्जन बताउँछन्।
रातो मच्छिन्द्रनाथको मन्दिरका कारण प्रख्यात बुङ्गमतीमा सँगै रहेको कार्यविनायक मन्दिरसहित दर्जनौं सम्पदाको अवलोकन गर्न सकिन्छ। रातो मच्छिन्द्रनाथको मन्दिर भने अहिले पुनर्निर्माणकै चरणमा छ। धार्मिक गन्तव्यका रुपमा परिचित बुङ्गमती अब पर्यटकको स्वागतका लागि समेत तयार रहेको स्थानीय बताउँछन्।
बुङ्गमतीलाई ऐतिहासिक महत्वको मूर्त बनाउनका लागि भुकम्पपछि संयुक्त राष्ट्र मातहतको ह्युमन सेटलमेन्ट प्रोग्रामले ‘प¥यासम्पदा’ कार्यक्रम नै सञ्चालन गरेको छ। ह्युमन सेटलमेन्टले सो कार्यक्रमबाट युवाहरूलाई स्वःउद्यमी बनाउन आर्थिक सहयोगदेखि सीप समेत दिएको।
प्रकाशित: १४ मंसिर २०७९ १४:०२ बुधबार