१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कोभिड महामारीपछि जुर्मुरायो सिकलेसको पर्यटन

पछिल्लो समय कपुचे ताल र कोरी जाने पर्यटकको संख्या ह्वातै बढ्दा सिकलेस प्रवेश गर्ने आन्तरिक पर्यटकको संख्या बढेको छ। कपुचे ताल र कोरी जाने पर्यटक सिकलेस हुँदै जानुपर्ने भएका कारण पनि सिकलेसमा पर्यटकको संख्या बढेको हो।

हाल आन्तरिक पर्यटकका लागि आर्कषक गन्तव्य बनेको सिकलेस गाउँ कास्की जिल्लाको मादी १ मा अवस्थित छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत रहेको सूचना केन्द्रको तथ्याङ्क अनुसार यही कात्तिक महिनामा ५ हजार ६ सय ४६ पर्यटक सिकलेस प्रवेश गरेका छन्। यस्तै संरक्षण क्षेत्र आयोजनाको तथ्याङ्क अनुसार गत मंसिर ३ गते एकै दिन १६ सय भन्दा बढी पर्यटकहरू गाउँ प्रवेश गरेका छन्।

पछिल्लो २/३ वर्षदेखि पर्यटकको संख्या उल्लेख्य बढेको बताउने स्थानीय होमबहादुर गुरूङ भन्छन्, ‘कोभिडले अरूलाई निकै नै मारमा पारे पनि सिकलेसमा भने फाइदा नै भयो। दोस्रो कोभिडको लहरमा कपुचे ताल र कोरी आउने पर्यटक अत्यधिक बढे जसले सिकलेसलाई पनि फाइदा गर्‍यो।’ सिकलेसकै स्थानीय होमबहादुरले विगत दुई दशकदेखि सिकलेसमा होम्स होमस्टे चलाउँदै आएका छन्। दुई दशकको अनुभवमा सिकलेसमा कोभिडपछि पर्यटकहरूको संख्या अत्यधिक बढेको छ। त्यसैले उनले गत २ वर्ष यता आफ्नो व्यापारलाई कोरीमा पनि विस्तार गरेको बताए। लगभग ३ दशकदेखि पर्यटन पेशामा लागेका गुरूङ नेपाल सरकारबाट प्रमाणित ट्रेकिङ गाइड समेत हुन्। उनी भन्छन्, ‘हुन त सिकलेसमा पहिलेदेखि नै अलिअलि पर्यटक घुम्न आउने गर्थे तर आजकलचाहिँ पर्यटकको संख्या बढेर गाउँ देशभर चिनिएको छ। हाम्रो व्यापार बढेको छ।’

सिकलेसमा आन्तरिक पर्यटकहरू धेरै आउने गरेका छन्। त्यसैले सिकलेसमा आउने पर्यटकहरू सिजनल पर्यटक नभएको स्थानीय सरोज गुरूङले बताए। उनले पोखरा, तनहु, चितवन, काठमाडौं, हेटौडा र दमैलीबाट धेरै पर्यटक आउने गरेकोमा पछिल्लो समय पूर्वको धरान, संखुवासभाका पर्यटक पनि उल्लेख्य मात्रामा थपिएका छन्। उनले भने, ‘पहिला अहिलेको जस्तो गाउँमा पाहुनाहरू आउँदैनथ्यो। अहिले त निकै धेरै पाहुनाहरू सिकलेस घुम्न आउँछन्। अझ कपुचे ताल र कोरीले गर्दा गाउँमा झन् पाहुनाको संख्या बढेको छ। कहिलेकाहीँ त पाहुनालाई व्यवस्थित गर्न नै हम्मेहम्मे पर्छ। जे होस कोभिड पछि गाउँमा पाहुना प्रवेशको संख्या ह्वातै बढेको छ जुन गाउँको लागि एकदमै खुसीको विषय हो।’ उनले थपे, ‘यहाँ आउने पाहुँना विदेशी नभएका कारण पनि यो आगमन सिजनल भन्न नमिल्ला, कहिलेकाही कम होला तर पाहुनाको चहलपहल निरन्तर हुन्छ।’

पोखरादेखि १७ किलोमिटरको दूरीमा रहेको सिकलेस गाउँ पुग्न गाडीमा करिब ३ घण्टा लाग्छ। गुरूङ समुदायको बाहुल्यता रहेको सिकलेसमा लगभग ८०० घरधुरी रहेका छन्। सिकलेसबाट देखिने अन्नपूर्ण १, २ र ४ हिमालहरू पर्यटकको लागि सबैभन्दा आकर्षक विषय हो। यसका साथै सिकलेस पार्क, रिसिङ डाँडा, गुरूङ म्युजियम, लामा गुम्बा, भ्युटावर सिकलेसको अन्य आकर्षणहरू हुन्। जसले गाउँमा आएका पर्यटकहरूको बसाइलाई रमणीय बनाउँछ। यस्तै गाउँका एकैनासका मैलिक घरहरू र ढुङ्गाले बनेको बाटो र भित्ताहरूले गर्दा गाउँको सुन्दरता थप बढेको छ। जसले पर्यटकहरूलाई लोभ्याउँछ।

कोभिड अघिसम्म ठिकठिकै मात्रामा आउने पर्यटक विगत २ वर्ष यता अनपेक्षित रूपमा बढेपछि गाउँमा होमस्टे, होटल र स्थानीय सामग्रीहरूको व्यापार पनि बढेको छ। हाल सिकलेसमा २४/२५ को संख्यामा होमस्टे सेवा रहेको छ भने १०/१२ को संख्यामा होटल रहेको सिकलेस होमस्टे समूहकी अध्यक्ष टाइमाया गुरूङले बताइन्।

धेरैजसो आमा समूहको सदस्यहरूले होमस्टे चलाउँदै आएको बताउने अध्यक्ष गुरूङ भन्छिन्, ‘पछिल्लो केही वर्ष यता गाउँमा निकै पाहुना आउन थालेका छन्। पहिलाको भन्दा हाम्रो व्यापार राम्रो भएको छ। यसले गर्दा महिलाहरू आर्थिक हिसाबले पनि सक्षम भएका छन् भने गाउँमा विकास र सकरात्मक परिवर्तन आएको छ। हाम्रो ठाउँ पनि विस्तारै पर्यटकको लागि आर्कषक गन्तव्य बन्दै छ।’

गाउँमा आएका पर्यटक होमस्टेमा बाँडेर राख्ने चलन भएका कारण पनि कुनै पनि होमस्टेहरू मारमा नपरेको अध्यक्ष गुरूङले बताइन्। उनी भन्छिन्, ‘हामी गाउँमा आएका पाहुनालाई सकेसम्म आर्गानिक खाना ख्वाउने र पारिवारिक परिवेश सिर्जना गर्ने प्रयत्न गर्छौ। सिकलेसमा गुणस्तरीय सेवा न्यूनतम मूल्य र पारिवारिक माहोलका साथ पाइने हुनाले पनि यहाँ आउने पर्यटक सन्तुष्ट भएर जान्छन्। सायद यसले पनि पाहुनाहरू वृद्धि भइरहेको छ।’

सिकलेसमा पर्यटकहरूको वृद्धिले गाउँमा होमस्टे, होटलबाहेकका अन्य व्यापारहरू पनि बढेको स्थानीय सन्देश गुरूङ बताउँछन्। गाउँमा तयार भएको डोको, नाम्लो,  गुन्द्रुक लगायतका वस्तुहरू पाहुनाहरूले किनेर लाने भएका कारण आर्थिक गतिविधि र सामान्य रोजगारीहरू बढेको उनको बुझाइ छ। पाहुनाहरूले कोसेलीका रूपमा गाउँबाट स्थानीय सामग्री किनेर लग्ने हुँदा गाउँमा रोजगारी र उत्पादन पनि बढेको उनले बताए।

कपुचे ताल पुगेर सिकलेस आएका काठमाडौका श्रीलक्ष्मी कर्मचार्यलाई कपुचे ताल भन्दा सिकलेसको परिवेश राम्रो लागेको बताइन्। उनी भन्छिन्, ‘सिकलेसमा घुम्ने ठाउँहरू धेरै रै’छ, फेरि ठाउँहरू पनि निकै सुन्दर रहेछन्। म फेरि छिट्टै नै सिकलेस घुम्न आउँछु र मज्जाले हिमाल हेर्दै बस्छु।’

सिकलेस सूचना केन्द्रको तथ्याङ्कअनुसार दैनिक सय डेढ सयको संख्यामा आउने पर्यटकहरूको संख्या शुक्रबार र बिदाको दिन भने १५/१६ सय भन्दा बढी पुग्छन्। सिकलेसस्थित सूचना केन्द्रमा कार्यरत स्थानीय कर्मचारी सेमोस गुरूङले पोखराबाट २/३ घण्टाको दूरीमा पर्ने सिकलेसमा प्रायः मानिस रमाइलो गर्न आउने बताए। गाउँले परिवेश, आर्गनिक खाना, हिमाल र विभिन्न स्थानीय स्वाद लिन मानिसहरू सिकलेस आउने उनले बताए। 

प्रकाशित: १४ मंसिर २०७९ ०१:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App