७ वैशाख २०८१ शुक्रबार
अर्थ

उत्कृष्ट करदाता सम्मानित

उत्कृष्ट करदाताको सम्मान ग्रहण गरेपछि सामूहिक तस्बिर खिचाउँदै। तस्बिरः नागरिक

सरकारले कर दिवसको अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ। राष्ट्रिय कर दिवसको अवसर पारेर सबैभन्दा धेरै कर तिर्ने उद्योगी व्यवसायीलाई बुधबार सम्मान गरेको हो।

आर्थिक वर्ष २०७७/७८ मा धेरै कर तिर्ने विभिन्न १५ विधाका करदातालाई सम्मान गरेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ।

व्यक्तिगततर्फ सबैभन्दा धेरै कर तिर्नेमा जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष विजयकुमार शाह रहेका छन्। जावलाखेल ग्रुप अन्तर्गत जावलाखेल डिष्टिलरी, हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिष्टिलरी लगायतका मदिरा उत्पादक कम्पनी रहेका छन्। सूर्य नेपाल प्रालिलाई सबैभन्दा धेरै कर बुझाउने कम्पनीका रूपमा सम्मानित भएको छ।

आयकरतर्फ नेपाल टेलिकम सबैभन्दा धेरै तिर्ने करदाता भएको छ। त्यसैगरी सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर (भ्याट) तिर्ने संस्थामा गोर्खा ब्रुअरी सम्मानित भएको छ। निर्यात विशेषतर्फ शिवशक्ति घ्यू र राजेश मेटल क्राफ्ट, कृषितर्फ ओसीबी फिड्स एन्ड फुड, सहकारीतर्फ छिमेक लघुवित्त वित्तीय संस्था सम्मानित भएका छन्।

त्यसैगरी, बीमामा नेपाल पुनर्बिमा कम्पनी, स्वास्थ्यतर्फ नोबेल टिचिङ अस्पताल, पर्यटनतर्फ मनकामना केबलकार प्रालिले धेरै कर तिर्ने कम्पनीको सम्मान पाएका छन्। वस्तु व्यापारतर्फ हंसराज हुलास प्रालि सम्मानित भएको छ। यसका सञ्चालक नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा हुन्। रेमिटेन्स कम्पनीहरू मध्येबाट आइएमई सबैभन्दा बढी कर तिर्ने कम्पनी बनेको छ।ऊर्जातर्फ चिलिमे जलविद्युत्, मध्यमस्तरीय करदाताका रूपमा नेपाल स्टक एक्सचेन्जले पनि सम्मान पाएको आन्तरिक राजस्व विभागले जनाएको छ।

‘स्वेच्छिक सहभागितासहितको फराकिलो कर धारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार’ भन्ने नारा सहित यो वर्ष कर दिवस मनाइएको हो। मंसिर १ मा निर्वाचन आचारसंहिताको कारण कर दिवस नमनाएर बुधबार एक कार्यक्रमको आयोजना गरी कर दिवस मनाएको हो। आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको दिन मंसिर १ गतेलाई राष्ट्रिय कर दिवसका रूपमा मनाउँदै आएको छ।

कर प्रणाली सुधार गर्न माग

अहिलेको कर प्रणाली सुधार गर्न निजी क्षेत्रका अगुवाले माग गरेका छन्। कर दिवसको अवसरमा बोल्ने निजी क्षेत्रका छाता संस्थाका अध्यक्षहरूले यस्तो आग्रह गरेका हुन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कर प्रणालीमा सुधार गर्नुपर्ने बताए। कर कहरले होइन, रहरले तिर्ने वातावरण सिर्जना गर्नुपर्ने बताए। ‘करको दायरा बढाउनुपर्छ,’ अध्यक्ष गोल्छाले भने, ‘कर प्रणालीमा सुधार गर्न आवश्यक छ।’

कर तिर्नअ हिलेको कर प्रणालीमा धेरै समस्या रहेको उनले बताए। कर तिर्ने र लिने विषयमा निजी क्षेत्र र सरकारबीच सहकार्य हुनुपर्ने धारणा राखे। नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले रहरले कर तिर्ने वातावरण बनाउनुपर्ने बताए।

मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको कारण अहिले राजस्वमा कमी आएको बताए। सरकारले तरलता अभावलाई सहजता र ब्याजदर वृद्धि नियन्त्रण गर्न उनले सुझाव दिए। ‘उद्योग, व्यापार व्यवसायमा आएको कमीले राजस्वमा कमी आएको छ,’ अग्रवालले भने, ‘राजस्व अर्थतन्त्रको लागि आवश्यक छ।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कर प्रणालीलाई डिजिटल बनाउनुपर्ने बताए। बिल लिने, दिने कुरालाई प्रभावकारी बनाउन सके राजस्वमा वृद्धि हुने मल्ल्को दाबी छ। चोरी निकासीलाई व्यवस्थित गर्न सके करको दायरा वृद्धि हुने पनि उनले बताए। 

प्रकाशित: ८ मंसिर २०७९ ०५:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App