coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अझै बनेन क्षतिग्रस्त सडक संरचना निर्माण गर्ने ठोस योजना

वर्षायाममा आएको बाढीपहिरोले सडक विभाग मातहतका राजमार्गमा मात्रै साढे चार अर्ब रूपैयाँ बराबरको क्षति भएको छ। वर्षाले क्षतिग्रस्त भएका राजमार्ग पुनर्निर्माणका लागि कार्ययोजना र बजेट सुनिश्चित नहुँदा कहिलेदेखि दीर्घकालीन मर्मतसम्भार हुन्छ भन्ने अन्योल देखिएको छ।  

गत असारदेखि आएको बाढीपहिरोले कर्णाली राजमार्गका अधिकांश सडक र कालीगण्डकी कोरिडोर अन्तर्गतको बेनीजोमसोम खण्डको सडकमा धेरै क्षति पु-याएको थियो। गत वर्षायाममा आएको अबिरल बर्सातको कारणले साँफेबगर–मार्तडी खण्डको सडक धेरै क्षति गराएको थियो।  

खुलालु सिसीकोट खण्डमा भने अहिले पनि सवारीसाधन सञ्चालन गर्न सकिएको छैन। सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले वर्षायाममा आएको बाढीपहिरोले साढे चार अर्बभन्दा बढीको संरचना भत्काएको बताए।

‘गत वर्षायाममा आएको बाढीपहिरोले कर्णाली राजमार्गमा मात्रै चार अर्बभन्दा धेरैको संरचनामा क्षति पुगेको पूर्वानुमान गरेका छौं,’ उनले भने, ‘मनाङसहितको अन्य खण्डमा भने ५० करोड रूपैयाँ बराबरको क्षति भएको छ।’  

साँफेबगर–मार्तडी लगायतका मुख्य सडकमा ठूलो क्षति पु-याएको थियो। सडक विभागले बाढीपहिरोका कारण कर्णाली क्षेत्रमा मात्र चार अर्ब रूपैयाँ बराबरको क्षति भएको जनाएको छ। ‘कर्णाली राजमार्गको कतिपय ठाउँमा त सडकको नामोनिसान नै छैन,’ उनले भने, ‘जुम्लाबाट गमगढी लगायतको स्थानमा ठाउँ–ठाउँमा भत्काएको छ।’ विभागले यो खण्डको सडक पुनर्निर्माण गर्न मात्रै चार अर्बभन्दा धेरै लाग्ने बताइएको छ।  

विभागले सडक पुनर्निर्माणको लागि अर्थमन्त्रालयसँग साढे चार अर्ब रूपैयाँ बजेट माग गरेको महानिर्देशक थापाले बताए। ‘बाढीपहिरोले भत्काएका सडकका संरचना फेरि निर्माण गर्न बजेट माग गरेका छौं। अब अर्थले कति बजेट विनियोजन गर्छ। सोही अनुसार नै कार्ययोजना गरेर अघि बढ्नेछौं,’ उनले भने, ‘गत वर्ष बाढीपहिरोका कारणले करिब २ अर्ब रूपैयाँ बराबरको क्षति भएको थियो।’ २०७७ सालमा आएको बाढीपहिरोले भने ५ अर्ब रूपैयाँबराबरको क्षति पु¥याएको थियो। सडक विभागले बाढीपहिरोका कारण क्षतिग्रस्त भएको सडक मर्मतसम्भारको लागि २० करोड रूपैयाँ बजेट विनियोजन गर्दै आइरहेको छ। विभागले चालु आर्थिक वर्षमा बाढीपहिरोले क्षतिग्रस्त भएका सडक खुलाउनका २० करोड रूपैयाँ खर्च भइसकेको जनाएको छ।  

‘दशैंपछिको बेमौसमी बर्सातको कारणले पनि यो वर्ष धेरै सडक क्षतिग्रस्त गरायो,’ उनले भने, ‘अहिले सडक विभागले सामान्य खालको मर्मतसम्भार गरेर यातायात सञ्चालन गर्ने काम गर्दै आइरहेको छ।’ सडक विभागका महानिर्देशक थापाले बाढीपहिरोले क्षतिग्रस्त भएका सडकको लागत इष्टिमेट तयार पार्ने काम भइरहेको बताए।

‘क्षतिग्रस्त भएका सडकको लागत इष्टिमेट तयार पारेर अर्थसँग बजेट माग गरेका छौं,’ उनले भने, ‘अर्थले बजेट विनियोजन गरेको आधारमै सडकको काम अघि बढ्नेछ।’  

विभागका अनुसार बाढीले क्षतिग्रस्त सडक मर्मतसम्भार गर्न दुई वर्ष लाग्ने अनुमान गरेको छ। यो वर्षको लागि २ अर्ब र आगामी वर्षमा थप साढे २ अर्ब बजेटको आवश्यकता पर्नेछ। बाढी–पहिरोले साँफेबगर–मार्तडी अन्तर्गत करिब ३० किलोमिटरभन्दा धेरै सडक खण्डमा क्षति गरेको छ। सडक विभागका अनुसार यो खण्डमा बाढीपहिरोले भत्काएको सडकमा अस्थायी तवरले आंशिक रूपमा सवारी साधन सञ्चालनमा आएका छन्।

प्रकाशित: ७ मंसिर २०७९ ०२:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App