१६ मंसिर २०७९ शुक्रबार
अर्थ

बजार अभावमा कुहिँदै जुम्ली स्याउ

बजार नपाएर गोदाममै कुहिन थालेको जुम्ली स्याउ। तस्वीर:गणेश/नागरिक

कोहलपुरस्थित न्युरोडमा स्याउ बिक्री गर्ने जुम्लाका इन्द्रलाल धितालले दुई हप्ता अघि ६७ क्विन्टल स्याउ मगाए तर ती स्याउले बजार नपाउँदा एक क्विन्टल पनि बिक्री गर्न सकेका छैनन्।

‘दैनिकमा चार/पाँच किलो स्याउ पनि बिक्री हुँदैन,’ उनले भने, ‘सबै स्याउ बाँकी नै छ।’ धर्मसिंह कठायतले पनि कात्तिक ९ गते जुम्लाबाट ७० क्विन्टल स्याउ मगाएका थिए तर आजसम्म उनले बल्लबल्ल एक क्विन्टल स्याउ मात्र बिक्री गरेका छन्। दोब्बरभन्दा कम मूल्य घटाउँदा पनि स्याउ बिक्री नभएको उनी बताउँछन्।

नेपालगन्ज र कोहलपुरमा जुम्ली स्याउले बजार नपाउँदा व्यापारीहरूको लगानी जोखिममा परेको छ। ठूलो मात्रामा ल्याइएका स्याउ कुहिने अवस्थामा पुगेका छन्। ‘स्याउ कुहिँदै गएको छ,’ इन्द्रलालले भने, ‘आम्दानी त परको कुरा, लगानीसमेत उठाउन सकिँदैन।’

पछिल्लो समय जुम्ली स्याउले बजार नपाउँदा खरिद गरेको स्याउको लगानी जोखिममा परेको स्याउ व्यापारीहरूले बताएका छन्। ‘तीन/चार हप्ता पहिला जुम्ली स्याउले राम्रो मूल्य पाएको थियो,’ धर्मसिंहले भने, ‘अहिले एक्कासी स्याउले बजार पाउन छाडेको छ।’

जुम्लास्थित सिँजाका इन्द्रलाल सिजनमा कोहलपुरमा स्याउ बिक्रीका लागि पुग्छन्। उनको प्रमुख आम्दानीको स्रोत नै स्याउ हो। ‘मेरो प्रमुख आम्दानीको स्रोत यही हो तर यसपालि स्याउले राम्रो बजार पाएन,’ उनी भन्छन्, ‘यसपालि आम्दानी त के लगानी उठाउनै हम्मेहम्मे भएको छ।’

एक महिना अगाडि राम्रै व्यापार गरेका उनले पछिल्लो समय घाटा व्यहोरिरहेका छन्। स्याउले मूल्यसँगै बजार नपाउँदा रित्तो हात घर फर्किनुपर्ने अवस्था आएको जुम्लाबाट कोहलपुरस्थित हरियाली मार्गमा स्याउ बिक्री गर्दै आएका वीरेन्द्र डाँगीले बताए।

कोहलपुरको ठाउँठाउँमा स्याउ पुर्‍याउँदा पनि बिक्री हुन नसकेको भन्दै उनले भने, ‘अर्गानिक स्याउले बजार पाएन भारतीय स्याउ रोजाइमा परिरहेको छ।’ यतिबेला स्यादिलो नभए पनि उपभोक्ताको रोजाइमा भारतीय स्याउ पर्दै आएको छ।

जुम्लाको स्याउ हेर्दा नराम्रो देखिनु र उपभोक्ताले अर्गानिक स्याउको महत्त्व बुझ्न नसक्नुले पनि जुम्ली स्याउले बजार पाउन नसकेको व्यापारीहरू बताउँछन्। ‘हाम्रो जुम्लाको स्याउको आकार हेर्दा त्यति राम्रो देखिँदैन। खाँदा स्वादिस्ट हुन्छ,’ हरिशचन्द्र विष्टले भने, ‘भारतीय स्याउ हेर्दा आकर्षक हुन्छ तर खाँदा स्वादिलो हुँदैन।’

भारतीय स्याउ मिठो र ताजा नहुँदा पनि उपभोक्तामा अर्गानिक स्याउको महत्त्वबारे बुझाइ कमजोर रहेको हुँदा जुम्ली स्याउको माग नभएको उनी बताउँछन्। अहिले नेपालगन्ज, कोहलपुर लगायतका क्षेत्रमा भारतीय स्याउले बजार लिएको छ। भारतीय स्याउले जुम्ली स्याउलाई विस्थापित गरेको उनी बताउँछन्।

यसभन्दा पहिला जुम्ली स्याउको मूल्य ८० देखि एक सय २० रूपैयाँसम्म पुगेको थियो। अहिले घटेर ४० रूपैयाँसम्म पुग्दा पनि उपभोक्ताको रोजाइमा पर्न सकेको छैन। यतिबेला भारतीय स्याउको मूल्य एक सय २० देखि एक सय ८० रूपैयाँसम्म पुगेको छ। भारतीय स्याउको मूल्य भने निरन्तर बढ्दो छ। जुम्ली स्याउको मूल्य भने निरन्तर घट्दो छ।

‘अबको दुई/तीन दिनभित्र स्याउ बिक्री नभए सबै कुहिएर खेर जान सक्छ,’ धर्मसिंहले भने, ‘दुई दिन भित्रमा यति धेरै स्याउ बिक्री हुनै गाह्रो छ।’ 

प्रकाशित: ४ मंसिर २०७९ ०९:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App