७ वैशाख २०८१ शुक्रबार
प्रवास

विभाजनसँगै एनआरएनए सम्मेलन

आन्तरिक विवादमा रुमलिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) विभाजन भएसँगै दुई समूहले छुट्टाछुट्टै सम्मेलन सम्पन्न गरेका छन्।

वर्तमान कार्यसमिति अध्यक्ष कुमार पन्त र महाधिवेशनको चर्चा चलेसँगै आगामी कार्यकालका लागि अध्यक्षका आकांक्षी कुल आचार्यबीच सहमति भई शनिबार दसौं विश्व सम्मेलनको उद्घाटन ललितपुरमा भएको छ। त्यसैगरी संघका प्रमुख संरक्षक रहेका शेष घलेले चैत ९ गते महाधिवेशन गरी छुट्टै एनआरएनए समिति बनाइसकेका छन्।

गत अक्टोबरमै हुनुपर्ने महाधिवेशन प्रतिनिधि छनोट विवादका कारण हुन सकेको थिएन। सोही विवादकै कारण अन्ततः एनआरएनए फुटको सिकार बन्न पुगेको हो। शनिबार सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मातृभूमिको अपेक्षाअनुरूप संवाद र सहयोगमा विशेष जोड दिन आह्वान गरिन्। उनले नेपाल र नेपालीको हितमा एनआरएनएले थप सहयोग पुर्‍याउने अपेक्षा गरिन्। 

राष्ट्रपति भण्डारीले विदेशमा बसोबास गर्ने नेपाली समुदायले नेपालको आधुनिकीकरणको विकास प्रयासमा योगदान पुर्‍याएको भन्दै गैरआवासीय नेपाली संघका काम प्रशंसनीय रहेको बताइन्। ‘संविधानले गैरआवासीय नेपाली संघलाई सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता प्रदान गर्ने परिकल्पना गरेको छ। कानुन क्रमशः लागु हुँदै जाने विश्वास लिएकी छु,’ उनले भनिन्, ‘नेपालको विशिष्ट संस्कृतिमा सघाउन एनआरएनएको विशेष योगदान पुगेको छ। नेपालको पर्यटनमा पनि टेवा पुगेको छ।’

नेपालको कला, संस्कृति, भाषा विदेशमा पुगेको र विदेशका ज्ञान, सीप, पुँजी नेपालमा आएको भन्दै उनले एनआरएनएको प्रशंसा गरेकी हुन्। नेपालमा आपत्विपत् पर्दा, विदेशमा समस्यामा परेका नेपालीका लागि पनि एनआरएनएले सहयोग गर्दै आएको बताइन्।

‘२०७२ सालको भूकम्पका बेला पुनर्निर्माणमा एनआएनएले गरेको कामको सराहना गर्छु,’ उनले भनिन्। कोभिड–१९ को महामारीमा एनआरएनएले नेपालीलाई अग्रपंक्तिमा रहेर गरेको सहयोग उल्लेखनीय रहेको उनले बताइन्। नेपालको आर्थिक प्रगति हासिलका लागि चुनौती रहेको भन्दै व्यवसाय र रोजगारीका प्रवद्र्धनमा सहयोग पुर्‍याउन आह्वान गर्दै रोजगारीमा लगानी गर्न आग्रह गरिन्।

राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण प्रकृतिको सन्तुलन जोगाउँदै जीवन र जगत् जोगाउन सक्षम हुनुपर्ने उल्लेख गरिन्। ‘लगानीको क्षेत्र नविकरणीय ऊर्जामा गर्नुपर्नेछ। आर्थिक, सामाजिक अधिकारमा सदैव मुलुकले सम्बोधन गर्नेछ,’ उनले भनिन्, ‘भूगोलले टाढा बनाएको भए पनि विकासले नजिक ल्याइरहेको छ। भौतिक दूरीका कारण मातृभूमिको सेवा गर्न कुनै बाधा पर्नेछैन। साझा उद्देश्यका लागि एनआरएनएहरू विश्वव्यापी दूतका रूपमा काम गर्नुस्।’

त्यसैगरी कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले नेपालले लगानीको सुरक्षित वातावरण बनाएको बताएका छन्। नेपालीले विदेशमा पनि उद्योगधन्दा, व्यवसायमा सफलता प्राप्त गरेको भन्दै लगानी गरेर रोजगारी, गरिबी निवारण र समृद्धि निर्माणमा सहयोग गर्न आह्वान गरे। मन्त्री खाणले विदेशमा रहेका नेपालीसँग सरकारले हातेमालो गरेर अगाडि बढ्ने बताए। जनताले चाहेजस्तो समृद्ध मुलुक बनाउन र गर्व गर्ने अवस्थामा पुर्‍याउने अभियानमा एनआरएनएको महत्त्वपूर्ण साथ रहेको स्पष्ट पारे।

एनआरएनएभित्र सहमति बनेकोमा खुसी व्यक्त गर्दै उनले आफूले चलाउने गाडीलाई जहाज बनाउनुपनेमा जोड दिए। उनले एनआरएनएभित्र देखिएको विवादलाई इंगित गर्दै एउटा जहाजमा दुईवटा पाइलट हुने प्रसंग सुनाए। ‘आवश्यक परे दुईतीन पाइलट बनाए पनि नेपालले सहजतापूर्वक लिनेछ। सहमतिसाथ अघि बढ्न सबैलाई आग्रह गर्दछु,’ मन्त्री खाणले भने।

गत अक्टोबरमा हुनुपर्ने एनआरएनएको दसौं महाधिवेशन विवादका कारण रोकिएको थियो। पन्त र आचार्य असन्तुष्ट पक्ष दुई खेमामा देखिएका थिए। त्यसपछि सहमति गरी आलोपालो अध्यक्ष रहने गरी नेतृत्व चयन गर्ने सहमति बनेपछि विश्व सम्मेलन गरिएको हो।

आगामी दुई वर्षे कार्यकालका लागि कुल आचार्य र बद्री केसीले आलोपालो अध्यक्ष रहने गरी सहमति गरेको बताइएको छ। दुई वर्षे कार्यकालमा एकएक अध्यक्ष भएर कार्यकाल चलाउने बताइएको छ। यता असन्तुष्ट पूर्वअध्यक्ष घले पक्षले भने छुट्टै सम्मेलन गरेर विनोद कुँवरको अध्यक्षतामा एनआरएनएको समिति गठन गरिसकेका छन्।

प्रकाशित: १३ चैत्र २०७८ ००:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App