८ वैशाख २०८१ शनिबार
प्रवास

‘जलवायु परिवर्तनका लक्ष्यबाट विश्व धेरै टाढा’

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले जलवायु परिवर्तनका लक्ष्य हासिल गर्ने दिशामा विश्व टाढा रहेको र धेरै काम गर्न बाँकी रहेको बताएका छन्।

‘विश्वका नेताले यो दिशामा केही काम त गरेका छन् तर अधिकांश देश जति महत्वाकांक्षी हुनुपर्ने हो,हुन सकेका छैनन्,’उनले ग्लास्गोमा जारी जलवायु सम्मेलनमा भने,‘हामी सामूहिक तथा व्यक्तिगत दुवै हिसाबले लक्ष्य हासिल गर्नबाट धेरै टाढा छौं।’ जलवायुसम्बन्धी ऐतिहासिक पेरिस सम्झौता ओबामा राष्ट्रपति रहेका बेला सन् २०१५ मा भएको थियो।

‘यो शताब्दीको अन्त्यसम्म विश्वको तापमान वृद्धिदरलाई १.५ प्रतिशतमा सीमित राख्न कठिन छ,’ ओबामाले भने, ‘हाम्रा राजनीतिक संयन्त्र ढिला छन् र अन्तर्राष्ट्रिय वार्ता सजिलो छैन। तर, कडा र लगातारको प्रयासले हामी यसको गति अगाडि बढाउन सक्छौं।’आफूपछिको अमेरिकी सरकारले पेरिस सम्झौताबाट हात झिके पनि वर्तमान सरकार जलवायु परिवर्तनप्रतिको प्रतिबद्धतामा पुनः फर्केको प्रसंग जोड्दै उनले भने,‘जलवायु परिवर्तनलाई सम्बोधन गर्न अमेरिकाले गर्ने सहयोगमा व्यापक बढोत्तरी भएको छ र सबैभन्दा बढी जोखिममा रहेका राष्ट्रलाई गरिने सहयोग बढाइएको छ।’

आफूपछिको सरकार जलवायु परिवर्तनप्रति अनुदार रहे पनि अमेरिकाको निजी क्षेत्र र जनताले यो अभियानलाई निरन्तरता दिएको दाबी उनले गरे। यसैगरी अमेरिकामा हरित ऊर्जा क्षेत्रले ३० लाख मानिसलाई रोजगार उपलब्ध गराएको र यो संख्या खनिजजन्य उद्योगभन्दा बढी रहेको उनले बताए।

जलवायु परिवर्तनले सिर्जना गर्ने संकट सम्बोधन नगर्दा विश्वका युवा पिँढी अन्त्यन्त दुःखी भएको चर्चा गर्दै उनले भने, ‘हामीले जलवायु परिवर्तनको मुद्दालाई सम्बोधन गर्न सख्त निर्णय लिएनौं भने आगामी पिँढीले हामीलाई प्रश्न गर्नेछ।’ युवा पिँढीलाई अझै आक्रामक बन्न आह्वान गर्दै उनले भने, ‘यो पिँढीको लगातार दबाबले चुनौतीको समाधान गर्न सघाउ पुग्छ।’

जारी सम्मेलनमा रुस र चीनका राष्ट्रप्रमुखको अनुपस्थितिलाई संकेत गर्दै उनले भने, ‘जलवायु परिवर्तनको साझा मुद्दामा कसैले पनि छेउमा बसेर हेर्न मिल्दैन।’ जलवायुजन्य विषम मौसमको चपेटामा विश्वको ८५ प्रतिशत जनसंख्या परेको स्पष्ट पार्दै उनले भने, ‘हामीले हाम्रा प्रतिबद्धतालाई कार्ययोजनामा बदल्नु जरुरी छ।’

गत सातादेखि जारी सम्मेलन यो साता सम्पन्न हुँदैछ। सम्मेलनको सुरुमा विश्वका नेताले सम्बोधन गरेका थिए भने दोस्रो साता जलवायु परिवर्तनसम्बन्धी प्राविधिक तथा मन्त्रीस्तरीय छलफलको कार्यक्रम छ। जलवायुवित्त, पृथ्वीको तापमान वृद्धिलाई १.५ प्रतिशतमा सीमित गर्ने विषय तथा जलवायुजन्य विपद्लाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा सम्मेलन केन्द्रित छ।

प्रकाशित: २३ कार्तिक २०७८ ००:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App