८ वैशाख २०८१ शनिबार
प्रवास

एनआरएनए अध्यक्षमा तीनजनाको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदका लागि तीनजनाले उम्मेदवारी दिएका छन्। एनआरएनएको १०औं विश्वसम्मेलन तथा महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि कुल आचार्य, डा. बद्री केसी र रविना थापाले उम्मेदवारी दिएका हुन्।

एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद्को २०२१–२०२३ कार्यकालका लागि उम्मेदवारी घोषणा गरेका तीनैजनाले प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा जाने तयारी गरेका छन्। अध्यक्षका प्रत्याशी आचार्य एनआरएनएका यसअघिको महाधिवेशनमा पनि अध्यक्षमा उठेका थिए। आचार्य वर्तमान अध्यक्ष कुमार पन्तसँग पराजित भएका थिए। केसी र थापा वर्तमान उपाध्यक्ष हुन्।  

आचार्य कांग्रेसनिकट, केसी एमालेनिकट र थापा कांग्रेसनिकट भएको एनआरएनएहरू बताउँछन्। नेपाली कांग्रेसले औपचारिक रूपमा आचार्यका पक्षमा लाग्न विदेशस्थित नेपाली कांग्रेसका जनसम्पर्क समितिलाई लिखित निर्देशन दिएको छ। 

एनआरएनएको विधानमा राजनीतिक आस्थाका आधारमा प्यानल बनाएर चुनाव लड्न नपाउने व्यवस्था भए पनि राजनीतिक विचारधाराका आधारमा प्यानल बन्ने देखिएको छ। थापाले उम्मेदवारी घोषणा गरे पनि मुख्य प्रतिस्पर्धा आचार्य र केसीबीच नै हुने एनआरएनएहरू बताउँछन्।

तीनै उम्मेदवारले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। अध्यक्षका प्रत्याशी आचार्यले ‘पद्धति र पारदर्शिता’को नारासहित उम्मेदवारी घोषणा गरेका हुन्। आचार्यले निर्णय प्रक्रियामा सहभागिता र कार्यान्वयनमा पारदर्शितालाई पहिलो सर्त भएको बताएका छन्। 

उनले गैरआवासीय नेपाली नागरिकताको अधिकार कार्यान्वयनमा ल्याउन आवश्यक पहल गर्ने बताएका छन्। आचार्यले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने तत्कालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।  

वर्तमान कार्यसमितिमा उपाध्यक्ष तथा वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजकसमेत रहेका केसीले ‘समृद्धि र रूपान्तरण, हाम्रो साझा अभियान’ भन्ने नारासहित प्रतिबद्धता सार्वजनिक गरेका छन्।

केसीले व्यवस्थित र सुरक्षित वैदेशिक रोजगार, नेपालमा लगानी तथा एनआरएन नेपाल डेभलपमेन्ट फन्ड, संस्थागत पुनर्संरचना एवं सुदृढीकरण, ज्ञान–सिप र प्रविधिसहितको एनआरएन, एनआरएन फाउन्डेसन, पर्यटन प्रवद्र्धन, युवा–महिला र दोस्रो पुस्ता तथा अन्तर्राष्ट्रिय संघ–संस्थासँगको सहकार्यलगायत एजेन्डा अघि सारेका छन्।  

अर्का प्रत्याशी थापाले गैरआवासीय नेपालीका लागि दोहोरो नागरिकता दिलाउन नेपाल सरकारसँग पहल गर्ने प्रतिबद्धता जनाएकी छन्। गोर्खालीहरूको मुद्दालाई केन्द्रीयस्तरदेखि उठाउन आवश्यक रहेको बताइन्। 

संघमा रहेका सबै सदस्यले केन्द्रको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्नु पनि आफ्नो प्राथमिकता रहने प्रतिबद्धता व्यक्त गरेकी छिन्। दोहोरो करका सम्बन्धमा पनि गैरआवासीय नेपालीले छुट पाउनुपर्ने विषयलाई जोड दिइन्।

प्रकाशित: २० आश्विन २०७८ ०४:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App