coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

महामारीमा मिडियाको भूमिका झनै महत्वपूर्ण

महामारीका बेला मिडियाको भूमिका झनै बढि महत्वपूर्ण र आवश्यक बनेको विचार सम्बन्धित विज्ञहरुले व्यक्त गरेका छन्।

एनआरएनए आइसीसी स्वास्थ्य समितिको आयोजनामा लन्डनमा जारी तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलनअन्तर्गतको महामारीमा मिडियाको भूमिका विषयक मिडिया सेसनका वक्ताहरुले महामारीका बेला फैलिन सक्ने गलत सूचना र अफवाहलाई चिर्ने काम मिडियाले गर्न सक्नुपर्ने बताए।

नेपाल पत्रकार महासंघ बेलायत शाखाको सहकार्यमा आइतबार बिहान आयोजित भर्चुअल कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरलले महामारीका बेला मिडियाले अतिरिक्त भूमिका निर्वाह गर्नुपर्ने बताए। स्वस्थ पत्रकारबाट मात्र स्वस्थ पत्रकारिताको अपेक्षा गर्न सकिने भन्दै उनले महासंघले महामारीका बेला पत्रकारहरुको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकता बनाएको जानकारी दिए।

आम नागरिकलाई आवश्यक जानकारी र सूचनाहरु निरन्तर प्रवाह गर्दै भ्रम र गलत अवधारणाहरु चिर्न र जिम्मेवार निकायहरुलाई खबरदारी गर्न समेत मिडियाले भूमिका खेल्न सक्ने अध्यक्ष पोखरेलको भनाइ थियो। बेलायतस्थित युनिभर्सिटी अफ बर्नमाउथका पोस्टडक्टरल रिसर्च फेलो डा निर्मल अर्यालले महामारीका बेला सहि र आवश्यक सूचना प्रकाशन गर्नु मिडियाको प्रमुख कर्तव्य हुने बताए।

सम्बन्धित विषयका विज्ञ र जानकारहरुसम्म पुगेर उनीहरुले दिने जानकारी र परामर्श आम समुदायसम्म पुर्याउने काम मिडियाले गर्नुपर्ने उनले बताए। वरिष्ठ पत्रकार एवम् बाह्खरी डटकममा प्रधान सम्पादक प्रतिक प्रधानले महामारीका बेला मिडिया र मिडियाकर्मी आफै पनि चपेटामा परेकाले उनीहरुको प्रभावकारितामा कमी भएको हुन सक्ने अनुभव सुनाए। गलत सूचना फैलावट र सहि जानकारीको अभाव चुनौतिका रुपमा देखिएको भन्दै उनले मिडियाकै क्षमता र स्तर अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए।

एनआरएनए आइसीसीका महासचिव डा.हेमराज शर्माले कोभिड महामारीका बेला एनआरएनएले स्वास्थ्यकर्मी तथा मिडियाकर्मीहरुसंगकै सहकार्यमा राहत तथा सहयोगका कार्यक्रमहरु सञ्चालन गरेका जानकारी गराए। संसारका विभिन्न मुलुकमा रहेका नेपालीहरुसंग रहेको ज्ञान, अनुभव र विज्ञतालाई आम समुदायको हितमा मिडियाले सदुपयोग गर्नुपर्ने उनले सुझाव दिए।

एनआरएनए स्वास्थ्य समितिका प्रमुख डा सञ्जिव सापकोटाले महामारीका बेला आम मानिसहरुमा गलत सूचना र जानकारीहरु पनि फैलिने जोखिम देखिएको उल्लेख गरे। सहि सूचना र आवश्यक जानकारीहरु प्रवाह गर्न मिडियाकै भूमिका आवश्यक रहने उनले बताए।

कार्यक्रमको सहआयोजक नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष ध्रुवराज अर्यालले कार्यक्रममा वक्ता एवम् सहभागीहरुलाई स्वागत गरेका थिए। अध्यक्ष अर्यालले कोभिड महामारीका बेला शाखाले बेलायत तथा नेपालमा सञ्चालन गरेका सचेतना गतिविधि एवम् सहयोगहरुबारे जानकारी गराएका थिए ।

शाखाका सल्लाहकार वरिष्ठ पत्रकार भगिरथ योगीले कार्यक्रमका वक्तहारुको परिचय प्रस्तुत गरे। कार्यक्रमको अन्त्यमा प्रस्तुत विचारहरुको सारांश पनि उनले सुनाएका थिए। पत्रकार इन्द्रलक्ष्मी घिमिरेले सञ्चालन गरेको कार्यक्रममा पत्रकार महासंघ बेलायतका सल्लाहकार चिरन शर्माले मोडरेटरको भूमिका निभाएका थिए। कार्यक्रममा सहभागी बेलायत, युरोपसहित डायस्पोरा र नेपालमा क्रियाशिल पत्रकारहरुले राखेका जिज्ञासाहरुको वक्ताहरुले जवाफ दिएका थिए। 

प्रकाशित: ३ आश्विन २०७८ १०:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App