७ वैशाख २०८१ शुक्रबार
प्रवास

बेलायती संसदमा नेपाल सहयोगबारे छलफल, २० लाख खाेप दिने

बेलायती संसदको उपल्लो सदन हाउस अफ लर्डसमा नेपाललाई कोभिड १९विरुद्ध सहयोगबारे बहस भएको छ। बिहीबार दिउँसो १२ बजेर ४० मिनेटदेखि सुरु भएको बहस करिब ११ मिनेटसम्म चलेको थियो। उक्त बहसमा नेपाल कोभिड १९ महामारीबाट धेरै प्रभावित भइरहेकोबारे उल्लेख गर्दै तत्काल बेलायती सहयोग पठाउन माग गरिएको छ।  

बहसमा लर्ड ल्यान्कास्टर अफ किम्बोल्टनले कोरोना भाइरसविरुद्ध लड्न नेपाल सरकारले २० लाख खोप उपलब्ध गराउन ब्रिटेनसंग गरेको आग्रहबारे जिज्ञासा राखेका थिए। उनले विगत दुई सय वर्षभन्दा बढी समयदेखि ब्रिटेनको हरेक द्वन्द्व र संकटमा बहादुर नेपालीले लडेर आफ्नो ज्यानको आहुति दिएको स्मरण गर्दै अहिले नेपालले भोगिरहेको संकटका बेला हामीले के सहयोग गर्न सकिंदैन भनेर प्रश्न राखेका थिए।

प्रतिउत्तरमा बेलायती विदेश मन्त्रालयका तर्फबाट लर्ड अहमद अफ विम्बल्डनले ब्रिटेनले कोभ्यासका लागि ५४८ मिलियन पाउण्ड उपलब्ध गराएको बताएका थिए। यस्तै, उनले तीन महादेशमा ५९ मिलियन डोज खोप आपूर्ति भइसकेको पनि बताए। कोभ्याक्स अन्तर्गत करिब २० लाख निःशुल्क डोज छुट्याएको र त्यसमध्ये तीन लाख ४८ हजार डोज नेपालमा डेलिभरी भइसकेको पनि उनले सदनलाई जानकारी गराएका थिए।

लर्ड अहमदले आफू नेपाल सरकारसंग प्रत्यक्ष सम्पर्कमा रहेको र नेपालका परराष्ट्र मन्त्रीसंग बुधबार प्रमुख आवश्यकता सम्बन्धमा रचनात्मक बैठक समेत भएको अवगत गराउँदै नेपाली राजदूत लोकदर्शन रेग्मीसंग समेत भेट गर्ने बताएका थिए।

बेलायतले नेपाल प्रहरी अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि आर्थिक सहयोग गरेको उल्लेख गर्दै लर्डले थप सहयोग के गर्न सकिन्छ भनेर विभिन्न सरोकारवाला निकायसंग काम गरिरहेको पनि उनले सदनलाई जानकारी दिए।

लर्ड पोपटले पनि नेपाल र बेलायतबीच दक्षिण एसियामै सबैभन्दा पुरानो कूटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै गोर्खा सैनिक र आरोहीहरुको प्रतिनिधित्व गर्ने मित्रराष्ट्रका लागि प्रभावकारी माध्यमबाट सहयोग गर्न के कस्ता कदमहरु चालिएका छन् भनेर सोधेका थिए।

जवाफमा लर्ड अहमदले काठमाडौं र बेलायतस्थित नेपाल सरकारका प्रतिनिधिसंग सिधा सम्पर्क भइरहेको र नेपालको स्वास्थ्य मन्त्रालयलाई सहयोग एवं प्राविधिक विज्ञहरु पठाउन लागिएको जनाए। उनले काठमाडौं र बेलायतमा नेपाल सरकारका प्रतिनिधिसंग सशक्त संवाद जारी राखिने पनि बताए।

बहसमा अर्ल अफ स्याण्डवीचले सन् २०१५ को महाभूकम्प र नेपालको गृहयुद्धकै सरह अहिले आपतकालिन अवस्थाबारे बताउँदै बेलायतले खोप र अक्सिजन मागमा के पर्याप्त प्रतिक्रिया दिइरहेको छ भनेर सोधेका थिए। जवाफमा लर्ड अहमदले ब्रिटेनले अन्य अन्तर्राष्ट्रिय साझेदारहरुसंग मिलेर सम्भव भएसम्म नेपालको आवश्यकता पूर्तिका लागि कदम चालिने समेत आश्वासन दिएका छन्।

उता, यूके नेपाल व्यापार तथा लगानी मञ्चका संस्थापक तथा अध्यक्ष एवं बेलायतको सर्वदलीय संसदीय समितिको नेपाल उपाध्यक्ष लर्ड सेखले नेपाल ज्यादै संकटपूर्ण अवस्थामा रहेको र उसलाई बेलायतको तत्काल सहयोग आवश्यक रहेको बताए।

लर्ड सेखले आफ्नो बेलायतस्थित नेपाली डायस्पोरा र राजदूतसंग कयौं पटक छलफल भएको उल्लेख गर्दै उनले नेपाललाई यो समयमा आइसीयू भेन्टिलेटर्स, अक्सिजन सिलिण्डर, कन्सन्ट्रेटर, अक्सिन प्लान्ट, आइसीयू बेड, परीक्षण किट्स र खोप अति जरुरी भएको पनि स्मरण गराए। उनले मुस्लिम च्यारिटीलाई नेपालमा तत्काल सहयोग गर्न आग्रह समेत गरिरहेको बताए।

प्रकाशित: ७ जेष्ठ २०७८ ०७:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App