४ वैशाख २०८१ मंगलबार
प्रवास

बैंगलोरमा बेखर्ची बने नेपाली विद्यार्थी

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि लामो समयदेखि नेपालमा जारी लकडाउनका कारण भारतका विभिन्न ठाउँमा उच्च शिक्षा हासिल गर्न गएका नेपाली विद्यार्थी बेखर्ची बनेका छन्। कलेज बन्द हुँदा र काम नपाउँदा निम्तिएको आर्थिक संकटका कारण आफूहरू समस्यामा परेको उनीहरूले बताएका छन्।

कमाइ नहुँदा घरभाडा तिर्न र खानाखर्च जुटाउन मस्किल परेको बैंगलोरमा फार्मेसी पढ्दै गरेकी अनिशा शर्माले बताइन्। ‘कलेज बन्द भइसकेको छ। न काम छ न कमाइ,’ उनले नागरिकसँग भनिन्, ‘मलाई आर्थिक समस्या आइपरिसक्यो। बैंगलोरमा मजस्ता धेरै नेपाली छोरी अध्ययनरत छन्। खासगरी नेपाली छोरीहरू यहाँ सुरक्षित छैनन्।’ उनले भावुक हुँदै भनिन्, ‘कृपया हामीलाई छिट्टै नेपाल फर्काइदिनुस्।’ गोदावरी घर भएकी अनिशा परिवारसँग धेरै दिनदेखि टाढा रहेका कारण न्यास्रिएकी मात्र छैनन्, निकै अत्तालिएकी पनि छन्।  

बैंगलोरकै गिरीनगरस्थित एक कलेजमा अध्ययनरत ऐश्वर्य झाले भारतस्थित नेपाली राजदूतावाससँग आफूहरूको समस्या राख्दा उल्टै हकारिनुपरेको उनले गुनासो गरिन्। केही सिप नलागेपछि भारतमा रहेका नेपाली विद्यार्थीहरूले सामाजिक सञ्जालबाट आपसमा सम्पर्क गरी तथ्यांकसमेत संकलन गरी नेपालको श्रीएयरलायन्स प्लेन चार्टर गर्न कुराकानी अघि बढाएको उनले बताइन्। तर विद्यार्थीको समस्या बुझेर सहयोग गर्नुको साटो उल्टै श्रीएयरलायन्सले प्रतिविद्यार्थी ५५ हजार नेपाली रकम प्राप्त भए मात्र नेपाल फर्काइदिने भनेपछि विद्यार्थीहरू थप निराश बने।  

‘एकातिर हामी कलेजको छात्रावासबाट समेत निस्कनुपरेको छ भने अर्कोतर्फ हाम्रो नेपाली दूतावासले समेत नेपाल फर्काउन असहयोग गरेको छ,’ ऐश्वर्याले नागरिकसँग गुनासो गर्दै भनिन्, ‘कलेज बन्द र काम पनि बन्द भएकाले नेपाली विद्यार्थीहरूमा डिप्रेसन हुन थालेको छ। यसले ठूलो दुर्घटना निम्त्याउन सक्नेछ।’ बैंगलोरमा मात्र ९० नेपाली विद्यार्थीले नेपाल फर्कने सूचीमा नाम भरेका छन्।  

फिजियोथेरापीमा डाक्टरी अध्ययन गरिरहेकी सरस्वती कार्कीले आफूले काम गरिरहेको अस्पतालमा समेत काम बन्द भएपछि गाँस र बास दुवै जुटाउन मुस्किल परेको बताइन्। कार्कीले आफू गर्भवतीसमेत रहेको जानकारी दिइन्। ‘मैले दूतावासमा आफ्नो समस्या राख्दा त्यहाँका कर्मचारीले दिएको गैरजिम्मेवारीपूर्ण जवाफले मेरो मन दुखेको छ,’ कार्कीले भनिन्, ‘हामी श्रीमान्–श्रीमती दुवै काम गर्दै पढिरहेका छौं। म गर्भवती भएकाले थप समस्या परेको हो।’  

नेपालसँग वातावरण मिल्ने भएकाले धेरै नेपाली विद्यार्थीको उच्च शिक्षाको गन्तव्य नै बैंगलोर बनेको छ। विद्यार्थी सागर सुवेदीले भने, ‘नेपाल सरकारले हामीलाई चार्टर प्लेनको व्यवस्था गरिदेओस्। हामी भाडा तिर्न तयार छौं।’ दुःखको समयमा दूतावासले अभिभावकत्वको भूमिका निर्वाह गर्न नसकेको भन्दै विद्यार्थीहरू दुःखी बनेका छन्।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले नेपाली विद्यार्थीहरू भारतमा निकै मर्कामा परेको स्पष्ट पारे। उनले दूतावासमा पनि सयौं विद्यार्थीले नेपाल फर्काउन आग्रह गर्दै आएको जनाउँदै नेपाली विद्यार्थीहरूको अवस्था निकै दयनीय बनेकाले नेपाल सरकारले यी विद्यार्थीहरूको तत्काल उद्धार गर्नुपर्ने जोड दिए। ‘मैले नेपाल सरकारसँग नेपाली विद्यार्थीको समस्या पु¥याइसकेको छु,’ राजदूत आचार्यले नागरिकसँग कुरा गर्दै भने, ‘विद्यार्थीहरू बेखर्ची भएर नेपाल फर्कन अत्तालिएका छन्।’ नेपाल सरकारले छिटै यी विद्यार्थीलाई नेपाल फर्काउने व्यवस्था गर्नुपर्नेमा उनीहरूको जोड छ।

प्रकाशित: २२ असार २०७७ ०१:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App