coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

१४ पटक सगरमाथा आरोहण गरेका बेलायती नागरिकले भनेः नेपालीबाट हामीले सिक्नुपर्छ

लन्डन– सगरमाथा आरोहण गरिसकेका ब्रिटिस पर्वतारोहीहरुले नेपालको मुक्तकण्ठले प्रशंसा गरेका छन्।

नेपाल पर्यटन बोर्डसंगको सहकार्यमा लन्डनस्थित नेपाली दूतावासद्वारा मंगलबार बेलुका आयोजित कार्यक्रममा प्रस्तुति दिँदै उनीहरुले जीवनमा एक पटक नेपाल जानैपर्ने उद्घोष गरे। १४ पटक सगरमाथा आरोहण गरेका चर्चित ब्रिटिस पर्वतारोही केन्टन कुलले पहाडभन्दा पनि नेपाली जनताले आफूलाई सधैं प्रभावित गरेको बताए। ‘यहाँ ब्रिटेनमा हामीले समुदायको महत्व बिर्सदै गएका छौं, तर नेपालीहरुले समुदायको महत्व कायमै राखेका छन्, त्यसैले हामीले उनीहरुबाट सिक्नु पर्छ’, उनले भने। उनले आउँदो वर्ष फेरि नेपालको भ्रमणमा जाने योजना पनि सुनाए।

त्यस्तै सगरमाथा आरोही रेबेक्का विलियम्सले पहाडहरु नेपालको परिचयको विम्ब बनेको बताइन्। उनले शेर्पा समुदायको पनि प्रशंसा गरिन्।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री योगेश भट्टराईले ब्रिटिस मित्रहरुलाई नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गर्न र नेपाल भ्रमण गर्न आमन्त्रण गरे।

भूकम्प पछि धेरै जसो सम्पदाहरुको पुनर्निर्माण भैसकेको र नेपाल एक सुरक्षित गन्तव्य भएको भन्दै मन्त्री भट्टराईले सरकारले पूर्वाधार विकास गर्न काम गरिरहेको बताए।

उनले आउँदो मार्च २०२० सम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थलको निर्माण सम्पन्न भैसक्ने र सन् २०२१ को मध्य सम्ममा पोखरा विमान स्थलको निर्माण सम्पन्न गर्ने गरी काम भैरहेको पनि जानकारी गराए।

मन्त्री भट्टराईले नेपालको सामाजिक तथा आर्थिक विकासमा बेलायतले पुर्याएको सहयोगको प्रशंसा पनि गरेका थिए।

कार्यक्रममा बोल्दै ब्रिटेनको सत्तारुढ कन्जर्भेटिभ पार्टीका सांसद डा म्याथ्यु अफोर्डले नेपाली समुदाय सहयोगी, सहिष्णु र मिलनसार भएको बताए। उनले नेपालीहरुले बेलायतमा राजनीतिक, सामाजिक तथा व्यावसायिक क्षेत्रमा सफलता हासिल गरिरहेको जनाए। उनले आउँदो वर्ष नेपालको भ्रमण गर्ने आफ्नो योजना पनि सुनाए।

बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुबेदीले ब्रिटेन नेपालको सबैभन्दा ठूलो द्वीपक्षीय विकास साझेदार रहेको भन्दै ब्रिटेनबाट नेपाल जाने पर्यटकहरुको संख्या बढिरहेको बताए। उनले यो वर्ष ७५ हजार र आउँदो वर्ष एक लाख ब्रिटिस पर्यटकहरु नेपाल लैजाने उद्देश्यले ब्रिटेनमा प्रवर्द्धनात्मक कार्यक्रम शुरु गरिएको जानकारी पनि दिए।

समारोहमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, पाटाका सीइओ डा मारियो हार्डीले नेपालबारे प्रस्तुति गरेका थिए। त्यस्तै सयपत्री सांस्कृतिक समूहका सदस्यहरुले रोचक नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा ब्रिटेनमा रहेका पर्यटन व्यवसायीहरु तथा वर्ल्ड ट्राभेल मार्केटमा भाग लिन आएका नेपाली पर्यटन व्यवसायीहरुको पनि उपस्थिति थियो। कार्यक्रमको संचालन दूतावासका उपनियोग प्रमुख शरद राज आरणले गरेका थिए।

प्रकाशित: २० कार्तिक २०७६ १३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App