१७ चैत्र २०८० शनिबार
प्रवास

एनआरएनए मलेसियाको अध्यक्षमा भट्टराई, श्रमिकका लागि कोष स्थापना

काठमाडाैं- गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् मलेसियाको अध्यक्षमा हरि भट्टराई सर्वसम्मत निर्वाचित भएका छन्। संघको छैटौं अधिवेशनले भट्टराईको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो। अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका भट्टराईले मलेसियामा कार्यरत श्रमिकको हितमा काम गर्ने बताए। नव निर्वाचित अध्यक्ष भट्टराईले संघको अध्यक्षमा निर्वाचित भएमा व्यक्तिगत रुपमा ५० हजार रिंगेट करिव १४ लाख नेपाली सहयोग गरेर श्रमिक कल्याणकारी कोष स्थापना गर्ने घोषणा गरेका थिए। अधिवेशन पश्चात सपथ खाँदा भट्टराईले उम्मेदवारी घोषणा गर्दा प्रतिबद्धता जनाएकाे उक्त रकम हस्तान्तरण गरेका छन्।  

तीन महिनाभित्र संस्थाको बैठक आफ्नै सचिवालयमा गर्ने, मलेसियाका विभिन्न सहरमा संगठन विस्तार गर्ने, नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै पर्यटन भित्र्याउन पहल गर्ने,  एनआरएनलाई मलेसियामा दर्ता गर्ने प्रक्रिया अघि बढाउनेदेखि श्रमिकको लगानीमा नेपालमा मध्य तथा ठूला आयोजनामा मलेसियाका श्रमिकको लगानी भित्र्याउने जस्ता घोषणा पत्रमा समावेश योजना आफ्नो कार्यकालमा पुरा गर्ने दाबी गरे।

उनले सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन गरेर नेतृत्व गर्ने अवसर दिएकोमा मलेसियामा कार्यरत नेपाली तथा विभिन्न संघ-संस्थाका प्रतिनिधिप्रति धन्यवाद ज्ञापान गर्दै नेपाली दूतावास सँग सहकार्य गर्दै अघि बढ्ने जानकारी दिए।

करिब तीन हजार सदस्य रहेको एनआरएनए मलेसियाले आईसीसी सदस्यमा महेन्द्र जंग शाही र टेक टमाटा चुनेको छ।

नव निर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा लालबहादुर आले (सुन्दर), उपाध्यक्षमा ज्ञानेन्द्रबहादुर सिंह, महिला उपाध्यक्षमा शुभद्रा लिंग्देन, महासचिवमा हेमराज सापकोटा, सचिवहरुमा रञ्जितकुमार क्षेत्री, नन्दबहादुर क्षेत्री, कोषाध्यक्षमा कृष्णप्रसाद नेपाल, सहकोषाध्यक्ष राकेशप्रसाद महतो, युवा संयोजक रविलाल अधिकारी, महिला संयोजकमा शारदा देवान याक्खा चयन भएका छन्।

त्यस्तै सदस्यहरुमा ईन्द्रबहादुर कुँवर, सन्तोष कार्की, पासाङ लामा, दिलकुमार केरुङ अनिलकुमार चौधरी, अरुण गिरी, विनोदकुमार राना, विनोद पाण्डे, गोविन्द साउँद, योगेन्द्र कोइराला, मचिन्द्रनाथ चापागाईँ, ईन्द्र नारायण लिम्बु, कृष्णबहादुर बस्नेत, हरिप्रसाद कोइराला, टेकबहादुर अधिकारी, रामकृष्ण कार्की, सन्तोष प्रकाश रिजाल,  माधवप्रसाद भुषाल र केशवकान्त झा सर्वसम्मत चयन भएका हुन्।

अधिवेशनमा एनआरएनका अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्वय कुल आचार्य र कुमार पन्त सहित विभिन्न देशका गैर आवासीय नेपालीहरुको उपस्थिति रहेको थियो।

प्रकाशित: ३२ श्रावण २०७६ १२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App