काठमाडौं – अन्तर्राष्ट्रिय एस्ट्रोनोमिकल युनियन (आइएयु) ले नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईलाई नेसनल आउटरिच कोअर्डिनेटर (एनओसी) को जिम्मेवारी दिएको छ।
आइएयुका महासचिव मारिया टेरेसाद्वारा भट्टराईलाई नयाँ जिम्मेवारीको पत्र प्राप्त भएको छ। एनओसीको पदावधि अधिकतम तीन वर्षको हुनेछ। नयाँ जिम्मेवारी प्राप्त भएकोमा भट्टराईले खुसी व्यक्त गर्दै भने, ‘यसबाट मलाई थप जिम्मेवारीबोध भएको छ, नेपालभर खगोल विज्ञानसम्बन्धी ज्ञान फैलाउन भरमग्दुर प्रयास गर्नेछु।’
अहिलेसम्म नेपाल आइएयुको सदस्य नभएको र कुनै पनि नेपाली व्यक्ति तथा संस्था अहिलेसम्म यसको सदस्य नबनेका नासोले जनाएको छ। खगोल विज्ञानको कुनै विधामा पिएचडी गरेका व्यक्ति आइएयुको सदस्य बन्नसक्ने प्रावधान छ।
खगोल विज्ञानसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आइएयुले विश्वभरका खगोल अध्ययन–अनुसन्धानमा कार्यरत १२ हजारभन्दा बढी व्यक्तिहरूलाई एउटै छातामुनि समेट्दै आएको छ। अन्तर्राष्ट्रिय समन्वयका आधारमा खगोल विज्ञानका समग्र पक्षलाई प्रवर्द्धन गर्ने आइएयुको लक्ष्य रहेको छ।
प्रकाशित: ९ माघ २०७५ ०८:१५ बुधबार