८ वैशाख २०८१ शनिबार
प्रवास

वैदेशिक लगानीका लागि नेपाल उर्वर : मन्त्री ज्ञवाली

टोकियो - परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको आर्थिक समृद्धिका लागि नेपाल-जापान सम्बन्धलाई थप प्रगाढ बनाइने बताएका छन्। नेपालको राजनीतिक स्थायित्वको बारेमा जापान सरकारलाई जानकारी गराउँदै मुलुकको आर्थिक समृद्धिका लागि जापानी लगानीलाई आकर्षण गराउनु आफ्नो भ्रमणको उद्देश्य रहेको उनले बताए। 

आईतबार टोकियोस्थित नेपाली दूतावासले परराष्ट्रमन्त्रीको स्वागतमा आयोजना गरेको रात्रिभोज कार्यक्रममा मन्त्री ज्ञवालीले अब नेपालमा राजनीतिक स्थायित्व कायम भएकोले वैदेशिक लगानीको लागी नेपाल उर्बर भूमि हो भन्ने कुरा जापान सरकार र जापानी लगानीकर्ताहरूलाई जानकारी गराएर आकर्षित गराउन पर्ने विचार व्यक्त गरे।

जापानले यस अघि पनि नेपालको पुर्वाधार निर्माणमा गरेको सहयोगको स्मरण गराउँदै मन्त्री ज्ञवालीले सोमबार हुने जापान सरकारका परराष्ट्र र कृषीमन्त्री संगको भेट्घाटमा नेपालको रेल्वे,सडक,राजमार्ग, उर्जा ,कृषिको आधुनिकिकरण लगायतका विषयमा जापान सरकारको सहयोगका लागि छलफल गर्ने जानकारी दिए।

कार्यक्रममा मन्त्री ज्ञवालीले नेपाल जापान सिधा हवाइ उडान पनि अब चाडै शुरुवात हुने जानकारी गराउँदै सिधा हवाइ उडानले उल्लेख्य मात्रामा जापानी पर्यटकहरू नेपाल भित्रिनुका साथै जापानी लगानीमा पनि प्रोत्साहन मिल्ने बताए।

विदेशी कामदार जापान भित्र्याउने जापान सरकारको विचाराधिन अवस्थामा रहेको विधेयकको बारेमा संचारकर्मीहरूसंग कुरा गर्दै जापान सरकारका प्रतिनिधिहरु संगको  भेटमा कस्तो सिप भएका कामदारहरु र कति संख्यामा पठाउने भन्ने बिषयमा छलफल गरिने उनले बताए।

'नेपाली कामदार जापान आउन पाउनु अवसर हो',मन्त्री ज्ञवालीले भने 'विज्ञान र प्रविधिको चरम विकास भएको देश जापानको एड्भान्स टेक्नोलोजी हाम्रा कामदारले सिकेर आफ्नो देशमा भित्र्याउँछन्।'

आगामी १० बर्ष भित्रमा नेपाल सरकारले स्वदेशमै रोजगारी सिर्जना गरी विदेशमा कामदार नपठाउने नीति पनि लिएको उनले बताए। नेपाल सरकार र जापान सरकारका दुई देशका परराष्ट्रमन्त्रीको उपस्थितिमा खाद्य सहायताबारे ३ अर्ब ५० करोड येन बराबरको सहयोग सम्बन्धि सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको पनि मन्त्री ज्ञवालीले बताए।

कार्यक्रममा नेपाल जापान संसदीय समूहका सचिव तथा जापान संसदका सदस्य तादाहिको इतोले नेपाल-जापान सम्बन्ध निकै पुरानो र प्रगाढ रहेको उल्लेख गर्दै दुई देशबीच प्राकृतिक प्रकोपका समयमा हुने गरेका सहयोगले त्यसको पुष्टि गरेको धारणा राखे।

आइतबार नै मन्त्री ज्ञवालीको सम्मानमा गैरआवासीय नेपाली संघ जापानले पनि एक सम्मान तथा अन्तर्किया कार्यक्रमको आयोजना गरेको थियो। उक्त कार्यक्रममा राजदूत प्रतिभा राणा,गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष टासी वाङ्दी लामा लगायतले आ-आफ्ना धारणा राखेका थिए।

 

प्रकाशित: ३ मंसिर २०७५ ११:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App