coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रवास

ब्रिटेन इयुबाट बाहिरिए पनि नेपालसंगको व्यापारमा असर पर्दैन : बेलायत

लण्डन- नेपालका लागि वेलायती राजदूत रिचार्ड मोरिसले ब्रिटेन इयुबाट बाहिरिएपछि पनि नेपालसंगको व्यापारमा कुनै असर नपर्ने जनाए। मंगलबार बेलुका लण्डनस्थित नेपाली दूतावासद्वारा आयोजित चौथो नेपाल विकास सम्मेलनमा बोल्दै उनले नेपालसंग दोहोरो कर हटाउने सन्ध‌ि गर्नेबारे गृहकार्य भैरहेको जानकारी पनि दिए।

कार्यक्रममा, बेलायतको भ्रमणमा रहेका परराष्ट्र सचिव शंकरदास वैरागीले नेपालमा व्यापार र लगानी बढाउन ब्रिटिश व्यवसायीहरुलाई आह्वान गरेका थिए।

बैरागीले भारत र चीनजस्ता दुई ठूला मुलुकहरुबीच रहेको नेपाल लगानीकालागि उपयुक्त स्थल रहेको बताए। उनले नेपालका सबै राजनीतिक दलहरु देशमा व्यापार र लगानीका लागि राम्रो वातावरण बनाउन प्रतिबद्ध रहेको पनि जनाए।

लर्ड अर्ल अफ स्यान्डवीचले नेपालमा जलविद्युत, साना तथा मझौला व्यवसाय, शिक्षा, पर्यटन लगायतका क्षेत्रमा लगानीको राम्रो अवसर रहेको बताए। उनले नेपालमा स्थिर अर्थतन्त्र सहितको सामाजिक सुधार आवश्यक रहेको कुरामा जोड पनि दिए।

कार्यक्रममा बोल्दै ब्रिटिश संसदको अल पार्टी पार्लियामेन्टरी ग्रुप अन नेपालका उपाध्यक्ष लर्ड मोहम्मद शेखले आफुले नेपालको दुई पटक भ्रमण गरेको र नेपालीहरु निकै इमान्दार तथा मेहनती रहेको पाएको बताए। उनले उनले नेपालमा जलविदयुत, सडक, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा धेरै ब्रिटिश कंपनीहरुले लगानी गरुन् भन्ने आफुले चाहेको र  त्यसकालागि ब्रिटिश सरकारले सघाउनुपर्ने सुझाव पनि दिए।

ब्रिटेनकालागि नेपालका राजदूत डा दुर्गाबहादुर सुवेदीले ब्रिटेनमा बसोबास गर्ने विभिन्न क्षेत्रका नेपाली विज्ञहरु तथा ब्रिटिश विज्ञहरुलाई बोलाएर नेपालको विकासका संभावनाहरुबारे छलफल गर्न श्रृंखलावद्धरुपमा यी कार्यक्रमहरु गरिएको बताए। उनले नयाँ संविधान पछि नेपालमा स्थिर सरकार बनेकाले लगानीकालागि यो उपयुक्त समय भएकोमा जोड पनि दिए।

सो अवसरमा बेलायतको स्वान्सी विश्वविद्यालयबाट पीएचडी गरिरहेका रामहरि पौड्यालले नेपालको उर्जा क्षेत्रमा वैदेशिक लगानीको संभावनाबारे र ब्रिटेनको डिपार्टमेन्ट अफ इन्टरन्याशनल डिपार्टमेन्टमा कार्यरत भेरिटी म्याक्रमले आफ्नो मन्त्रालयले नेपालमा पुराइरहेको सहयोगबारे जानकारी दिएकी थिइन्।

त्यस्तै नेपालमा वैदेशिक लगानीका संभावना विषयमा प्रस्तुति दिंदै ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष राजन कँडेलले नेपाल विदेशी लगानीकालागि खुला रहेको बताए। उनले नेपाल सरकारले लगानीकर्ताहरुलाई करमा  सुविधा उपलब्ध गराइरहेको बताउँदै भिसा लगायतका अन्य सुविधाहरु दिइरहेको जानकारी पनि दिए। उनले विकासशील मुलुक नेपालमा अझै पनि कैयौं चुनौतीहरु रहेको बताउँदै ब्रिटिश लगानीकर्ताहरुलाई सघाउन च्याम्बर सँधै तयार रहेको बताएका थिए।

 

प्रकाशित: २८ कार्तिक २०७५ १२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App