६ वैशाख २०८१ बिहीबार
प्रवास

अमृतसर रेल दुर्घटना, दोषी खोज्दै भारत

रेल दुर्घटनाका पीडितलाई अमृतसरमा रहेको नागरिक अस्पतालमा भेट गर्दै पंजाबका मुख्यमन्त्री अमरिन्दर सिंह र मन्त्री नभोजित सिंह सिधु । तस्बिरः एजेन्सी

नयाँ दिल्ली – भारतको उत्तरी राज्य पंजाबस्थित अमृतसर सहरमा गत शुक्रबार बालबालिकासहित ५८ जनाको ज्यान जाने गरी एउटा रेल मानिसको भीडमा जोताइएको घटनाका प्रमुख दोषीबारे अझै अनुसन्धान भइरहेको बताइएको छ।

हिन्दू धर्मका पौराणिक पात्र रावणको पुत्ला जलाइने वार्षिक दसहरा पर्व हेर्न रेलको लिक नजिकै मानिस भेला भएका बेला  सो रेल त्यहाँ कुदाइएको थियो । प्रत्यक्षदर्शीले पुत्ला जलाउन लागेको बेला भीडको आवाजले रेल आफूतिर आउँदै गरेको नसुनेको बताएका थिए । त्यसैगरी सोही बेला पटका पनि पड्काइएको र त्यसको कारण पनि रेल आउँदै गरेको कतिपयले नसुनेको बताइएको छ।

५८ जनाको ज्यान जाने गरी भएको घटनाका पछाडि कसको हात रहेको छ भन्नेबारे भने अझै अनुसन्धान भइरहेको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । घटनामा रेल विभागका विभिन्न तहका अधिकारीलाई दोष लगाइए पनि अझैसम्म नाम नै किटान गरेर कोही कसैविरुद्ध उजुरी नपरेको प्रहरीले जनाएको छ।

‘रमाइलो क्षण कसरी त्रासदीपूर्ण क्षणमा बदलियो । त्यहाँ धेरै रगत बेगेको थियो र कतिपयको शरीरका अगंहरु यत्रतत्र छरिएका थिए,’ रेल दुर्घटनाका एक जना प्रत्यक्षदर्शी एवं पीडित मन्जित सिंहले बिबिसीलाई बताए । घटनापछि कसरी मानिसले आफ्ना मान्छेलाई रेलको लिक र नजिकैको झाडीमा मोबाइलको बत्तीको सहाराले कसरी खोजे भन्ने पनि प्रत्यक्षदर्शीले बताएका छन्।

दोषी को हो ?
शुक्रबारको घटनालाई लिएर प्रहरीले थुप्रै उजुरी दर्ता गरेको भए पनि उजुरी नाम बिनाका मानिसविरुद्ध रहेका छन् । नाम नै किटान नगरी उजुरी परेका कारण घटनाको पछाडि को जिम्मेवार छ भनेर अझै प्रष्ट नभएको बताइएको छ।

रावणको पुत्ला जलाइने वार्षिक कार्यक्रम रेलको लिकले छुट्याउने एउटा ठूलो चउरमा गरिएको थियो । मानिसहरु रेलको लिकमा समेत बसेर पुत्ला दहन हेर्दै थिए । सोही बेला पटकासमेत पड्काइएको थियो । कार्यक्रमस्थलभन्दा बाहिर बस्नेले पनि पुत्ला दहन कार्यक्रम हेर्न सकुँन् भनेर आयोजकले लिकतर्फ फर्काएर ठूला ठूला लिड स्क्रिनसमेत  जडान गरेका थिए।

‘मानिसहरु रेलको लिकमा बसेका थिए र मोबाइलबाट पुत्ला दहनको भिडियोसमेत लिइरहेका थिए,’ कार्यक्रममा सहभागी भएका तर घटना हुनुभन्दा केही समयअघि त्यहाँबाट बाहिरिएका पंजाब राज्यका पूर्वसांसद डाक्टर नभजोत कौरले बिबिसीसँग बताए । ‘रेल विभागबाट आयोजकले कार्यक्रमबारे अनुमति लिएका थिए । रेल विस्तारै आउनुपथ्र्यो । रेल रोकिनुपथ्र्यो वा चालकले मानिसलाई रेलको लिक छोड्न कैयौं पटक आवाज दिनुपथ्र्यो,’ उनले बताए।

अँध्यारो र बाक्लो धुँवा भएका कारण रेलका चालकले भेउ नपाएको रेल विभागका अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसैगरी मानिसहरु रेलको लिकको छेउमै बसेका कारण चालकले नदेखेको बताइएको छ।

कार्यक्रमबारे आयोजकले स्थानीय प्रहरीलाई पत्र लेखेको पंजाबका उपप्रहरी कमिस्नर कमलदीप सिंह साँघालाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ । प्रहरीले कार्यक्रमका लागि स्वीकृति दिएको भए पनि त्यस्तो खालको सार्वजनिक कार्यक्रमका लागि देशको सर्वोच्च अदालतको मार्गदर्शन पछ्याउन प्रहरीले भनेको उनले बताए।

भारतको सर्वोच्च अदालतको मार्गनिर्देशनअनुसार त्यस्तो खालको कार्यक्रम गर्नका लागि अग्नि विभाग, रेल विभाग र सुरक्षा तथा स्वास्थ्य विभागबाट अनुमति लिन आवश्यक छ । आयोजकले अनुमति नलिएको तीनवटै विभागका अधिकारीले बिबिसीसँग बताएका छन्।

यद्यपि कार्यक्रम आयोजकमध्येका प्रमुख मिथु मदनले एउटा भिडियो विज्ञप्तिमार्फत बताएअनुसार मानिसहरुलाई पटकपटक रेलको लिकमा नबस्न भनेका थिए । उनले आफूहरुसँग कार्यक्रम आयोजना गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण अनुमति रहेको समेत दाबी गरेको बिबिसीले जनाएको छ । कार्यक्रमस्थलमा सुरक्षाका लागि आफूहरुले सम्भव भएसम्मको सबै काम गरेको उनले बताए।

‘जे भयो त्यसलाई लिएर मेरो मुटु छियाछिया भएको छ । हामीले कार्यक्रम पर्व मनाउनका लागि सबै मानिसलाई एक ठाउँमा ल्याउन आयोजना गरेका थियौं,’ भिडियोको एउटा भागमा रुँदै कार्यक्रम आयोजक मदनले बताएका छन्।

‘कार्यक्रम राजनीतिज्ञसमेतको सहभागितमा दुई दशकदेखि प्रत्येक वर्ष हुने भएकाले यसबारेमा अधिकारीहरु जानकार हुनु पथ्र्यो,’ घटनामा परी बाँचेकाहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । घटनाबारे अनुसन्धान गर्न पंजाबका मुख्यमन्त्री अमरिन्दर सिंहले आदेश दिइसकेका छन् र घटनामा परी मृत्यु भएकाका परिवारलाई क्षतिपूर्तिस्वरुप जनही पाँच लाख भारु दिने घोषणा गरेका छन्।

तत्कालका लागि आफूहरु घटनामा घाइते भएका मानिसलाई सहयोग गर्ने र मृत्यु भएका परिवारका सदस्यलाई क्षतिपूर्ति प्रदान गर्ने विषयमा केन्द्रित भएको प्रहरीले बताएको छ । यद्यपि घटनाका दोषीबारेको अनुसन्धान चाँडै नै हुने प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०७५ ०३:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App