coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

जापानको पर्यटन एक्स्पोमा  नेपालको सहभागिता

टोकियो- जापानमा आयोजना भएको अन्तराष्ट्रिय पर्यटन प्रदर्शनीमा नेपालले सहभागिता जनाएको छ। नेपाल पर्यटन बोर्डले पर्यटन एक्स्पो जापान (जाटा २०१८) मा प्रभावकारी सहभागिता जनाएको हो। सेप्टेम्बर २० देखि २३ सम्म जापानको राजधानी टोकियोमा आयोजना भएको पर्यटन एक्स्पोमा नेपाल लगायत विश्वका १३० भन्दा बढी देशका १ हजार ३ सय भन्दा बढी पर्यटनसंग सम्बद्ध संघ संस्थाहरुले भाग लिएका थिए।

आ–आफ्नो देशको पर्यटन गन्तब्यको बारेमा जापानी पर्यटकहरुलाई जानकारी दिने, ब्यवसायीहरु बीच ब्यापारिक बैठक गर्ने (B2B), संचार माध्यम मार्फत पर्यटन सूचना संप्रेषण गर्ने लगायतका माध्यमबाट पर्यटन प्रबर्दन गर्ने अवसर प्राप्त हुने उक्त एक्स्पो जापानमा वार्षिक रुपमा आयोजना हुने एक ब्यवसायीक पर्यटन मेला हो।

नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपाल वायु सेवा निगम सहित निजी क्षेत्रका चार पर्यटन व्यवसायी कम्पनीहरु अराउण्ड द हिमालयज, लिबर्टी होलिडेज, होटल शाम्बाला र नेत्र टुर्स एण्ड ट्राभल एण्ड टुर्स उक्त एक्स्पोमा सहभागी भएका थिए। नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव श्री निता अर्याल पोखरेल, पर्यटन बोर्ड सदस्य अवदेश कुमार दास तथा बोर्डका प्रबन्धक रोहिणीप्रसाद खनाल लगायत उक्त एक्स्पोमा सहभागी थिए।

जापानमा नेपाललाई एक सुरक्षित , भरपर्दो तथा आकर्षक पर्यटकीय गन्तव्यस्थलका रुपमा स्थापित गर्ने, नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२० को साथै नेपालको पर्यटन क्षेत्रका गतिविधिका बारेमा जानकारी दिने,  नयाँ-नयाँ पर्यटन उपजहरुको वारेका सूचना प्रवाह गर्ने तथा पर्यटन व्यबसायीहरु बीच व्यापारिक छलफल गर्ने उद्देश्यका साथ उक्त एक्स्पोमा नेपालले सहभागिता जनाएको हो। नेपाल वायुसेवा निगमले निकट भविष्यमा गर्ने काठमाडौं र टोकियो बीच सिधा उडानको खवरले पर्यटन जापानीहरूमा थप आशा तथा उत्साहको सन्चार भएको बताईएको छ।

सन् २०१७ मा नेपालमा झण्डै १० लाख पर्यटक आगमन भएकोमा लगभग २७ हजार तीन सय २६ को संख्यामा जापानी पर्यटकहरुले नेपाल भ्रमण गरेका थिए। अधिकांश बुद्ध धर्मावलम्बी भएको जापानीहरुले नेपाललाई बुद्ध जन्मस्थल, धार्मिक गन्तव्य, अध्यात्मिक उपचार केन्द्र तथा साहसिक गतिविधिले भरिपूर्ण भएको गन्तव्यस्थलको रुपमा लिने गरेका छन् ।  उनीहरु मुख्य रुपमा काठमाडौं, पोखरा, चितवन, लुम्विनी लगायतका स्थानमा भ्रमण गर्न तथा अन्नपूर्ण र सगरमाथा क्षेत्रमा पदयात्रामा जान रुचाँउछन्।

 

प्रकाशित: ९ आश्विन २०७५ ०७:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App