२० असार २०७७ शनिबार
प्रवास

‘भिजिट नेपाल २०२०’ कार्यक्रमप्रति एनआरएनको ऐक्यवद्धता

लग्जेम्वर्ग- संविधानले प्रत्याभूत गरेअनुसार तत्काल कानून बनाई गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने मार्गप्रशस्त गर्न सरकारसँग माग गर्ने एवं विदेशमा बसेर नेपालीले आर्जन गरेको ज्ञान, सीप र प्रविधिलाई नेपालमा भित्र्याउने प्रतिबद्धताका साथ गैरआवासीय नेपाली संघ ११ औँ युरोप क्षेत्रीय बैठक तथा महिला सम्मेलन सोमबार लक्जेम्बर्गमा सम्पन्न भएको छ।

दुई दिनसम्म ( जुलाई २९ र ३०) चलेको बैठकले समेत १५ बुँदे लक्जेम्बर्ग घोषणापत्र जारी गरेको छ। बैठकले सरकारले हालै घोषणा गरेको ‘भिजिट नेपाल २०२०’ कार्यक्रमप्रति ऐक्यबद्धता जनाउँदै सो अभियानलाई सफल बनाउन अत्याधिक पर्यटकहरु भित्र्याउन युरोपस्थित नेपाली दूतावासहरु तथा नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधिहरुसँग समन्वय गर्ने प्रतिबद्धता जनाएको छ।

बैठकमा लाप्राक नमुना वस्ती, शंखमूल पार्क, जानकी मन्दिर परिसरमा लाईटिङ जडान, उज्यालो नेपाल, पत्रकार महासंघ केन्द्रिय कार्यालयमा पुस्तकालय स्थापना लगायतका परियोजनाहरु आगामी अक्टोबरभित्र सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरिएको छ।

यस्तै नेपालको बढ्दो बेरोजगारी अन्त्य गर्न सहकार्य गर्ने, नेपाली महिलाको लागि गत वर्षदेखि जारी सीप विकास तालिमलाई निरन्तरता दिने निर्णय समेत बैठकले गरेको छ। यस्तै पछिल्लो समय युरोप क्षेत्रमा बढ्दै गएको मानव तस्करी रोक्न गैर आवासीय नेपाली संघ सरकारसँग सहकार्य गरेर अघि बढ्ने, करमुक्ति सम्झौता (डिटिएए) नभएका मुलुकमा सो सम्झौता प्रक्रिया अघि बढाउन सरकारसँग अनुरोध गर्ने प्रतिबद्धता बैठकमा जनाइएको छ। त्यस्तै युरोप क्षेत्रमा बसोबास गर्ने युवा जमात तथा दोस्रो पुस्तालाई गैरआवासीय नेपाली अभियानको मुलधारमा समाहित गर्दै नेपालको सर्वाङ्गिण विकासमा हातेमालो गर्न सरोकारवाला व्यक्ति तथा निकायहरुलाई अनुरोध गर्नुका साथै गैरआवासीय नेपाली बालबालिकाहरुलाई नेपाली भाषा, लिपि, संस्कार, संस्कृति सिकाउन आवश्यक पहल गर्ने घोषणा समेत बैठकमार्फत गरिएको छ।

यसैगरी आगामी अक्टोबरमा हुने संघको विधान अधिवेशनका लागि छलफल गर्न गैर आवासीय नेपाली संघको विधानबारेको सुझाव विधान संशोधन समिति समक्ष पेश गर्न राष्ट्रिय समितिहरुलाई बैठकमार्फत निर्देशन समेत दिइएको छ।

बैठकको पूर्व सन्ध्यामा प्रवासमा नेपाली भाषा सम्बन्धी साहित्य सन्ध्या तथा काव्य वाचन कार्यक्रमको आयोजना गरिएको थियो। आइतबारबाट औपचारिक रुपमा सुरु कार्यक्रमको उद्घाटन नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गर्नुभएको थियो। बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीसहित पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइशले, सांसदद्वय डा. सूर्य पाठक, रामकुमारी झार्की, पूर्व मन्त्री हिसिला यमी, बेल्जीयमका लागि नेपाली राजदूत लोक बहादुर थापा, गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट, संरक्षक जीवा लामिछाने, संस्थापक रामप्रताप थापा, जापान, अमेरिका, हंगकंग र युरोपका २८ देशबाट करिब ४ सय प्रतिनिधिहरु सहभागी भएका थिए।

आइतबार नै विभिन्न विषयमा प्यानल छलफल तथा युरोपेली क्षेत्रका विभिन्न विषयमा विज्ञता हाशिल गरेका व्यक्तित्वहरुसँग छलफल समेत गरिएको थियो ।

 

 

 

प्रकाशित: १५ श्रावण २०७५ १६:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App