७ वैशाख २०८१ शुक्रबार
प्रवास

बेलायती नागरिकलाई नेपाल भ्रमणको निम्तो

लन्डन – ब्रिटेनस्थित नेपाली कूटनीतिज्ञ तथा ब्रिटिश व्यवसायीहरुले ब्रिटिश नागरिकहरुलाई नेपाल भ्रमण गर्न निम्तो दिएका छन्।

नेपाल भ्रमण वर्ष २०२० को ब्रिटेनमा औपचारिक सुरुवात गर्न शनिबार लण्डनस्थित नेपाली दूतावासमा आयोजित एक विशेष समारोहलाई संबोधन गर्दै बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले प्राकृतिक, सांस्कृतिक र सहासिक पर्यटनका लागि नेपाल विश्वमै अनुपम गन्तव्य भएको बताए। उनले नेपालीहरु आतिथ्यकालागि संसारभरि प्रसिद्ध रहेको बताउँदै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आइसकेको र गौतम बुद्ध तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै निर्माण हुन्ने आशा पनि व्यक्त गरे।

सन् २०१६ मा ४० हजार बेलायती पर्यटक नेपाल पुगेकामा सन् २०१७ मा त्यो बढेर ५१ हजार पुगेको  लन्डनस्थित नेपाली दूतावासले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि एवं ब्रिटिश संसदको ‘अल पार्टी पार्लियामेन्टरी ग्रुप अन नेपाल’ का उपाध्यक्ष लर्ड शेखले आफूले दुई पटक नेपालको भ्रमण गर्दा नेपालीको न्यानो आतिथ्य, हार्दिकता र देशको प्राकृतिक सौन्दर्यले निकै प्रभावित बनाएको बताए। उनले बेलायत नेपालको प्रमुख विकास साझेदार भएको उल्लेख गर्दै दुई सय वर्षदेखिको बेलायत नेपाल सम्बन्ध हजारौं वर्षसम्म कायमै रहने विश्वास व्यक्त गरे।

भारतका महाराजा रणजीत सिंहबारे एउटा पुस्तक लेखेका लर्ड शेखले नेपालले सन् १८४९ मा महाराजा रणजीत सिंहकी धर्मपत्नी रानी जिन्दललाई संरक्षण दिएर मानवीय भावनको प्रदर्शन गरेको बताए। उनले नेपाल भ्रमण गर्ने पर्यटकहरुलाई एक पटक पोखरा पुग्न सल्लाह पनि दिए।

नेपालका पर्यटकीय आकर्षणहरुबारे एक प्रस्तुति दिंदै नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले लोन्ली प्लानेट, न्याशनल ज्योग्राफिक जस्ता प्रकाशनहरुले नेपाललाई विश्वकै आकर्षक गन्तव्यको रुपमा उल्लेख गरेको बताए।  उनले पर्वतारोहण, रयाफटिङ, कायाकिङ, क्यान्योनिङ, प्यारा ग्लाइडिङ, बन्जी जम्पिङ जस्ता  साहसिक खेलका लागि नेपाल संसारमै अद्वीतिय रहेको पनि चर्चा गरे।  

कार्यक्रममा तीन पटक सगरमाथा आरोहण गरिसकेका गोर्खा सैनिक निर्मल पुर्जा, स्कटिस फोटोग्राफर जेम्स ल्याम्ब र ब्रिटेन नेपाल सोसाइटीका अध्यक्ष रोजर पोटरले पनि नेपालको पर्यटन संभावना र  विशेषताबारे आफ्नो अनुभव सुनाएका थिए।

सोही अवसरमा विभिन्न संस्थाहरुसँग संबद्ध कलाकारहरुले नेपाली नृत्यहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा लण्डनस्थित विभिन्न मुलुकका कूटनीतिज्ञहरु, ट्राभल टुर व्यवसायी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए।

सोही अवसरमा नेपाली दूतावासले नेपाल पत्रकार महासंघ बेलायत शाखाको हालै निर्वाचित चौंथो कार्यसमितिलाई वधाइसहित सम्मान गरेको थियो। शाखाका अध्यक्ष नरेश खपांगीमगर र अन्य पदाधिकारीहरुलाई राजदूत सुवेदी र लर्ड शेखले सम्मान गरेका थिए।

प्रकाशित: २४ असार २०७५ ०६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App