६ वैशाख २०८१ बिहीबार
प्रवास

नर्थ क्यारोलाइनामा साँस्कृतिक झाँकीसहित दोस्रो नेपाल दिवस मनाइयो

नर्थ क्यारोलाइन (अमेरिका)– अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित मोरिसभिल सहरमा अप्रिल २१, २०१८ का दिन नेपाल दिवस भव्य कार्यक्रमका साथ सम्पन्न भएको छ। स्थानीय नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एन सी एन सी) को आयोजना र अमेरिकास्थित नेपाली दुतावास र अमेरिकाको दक्षिण पूर्वी क्षेत्रमा क्रियाशील नेपाली मूलका संघसंस्थाहरूको सक्रिय सहभागितामा कार्यक्रम आयोजना गरिएको थियो। नेपालको सांस्कृतिक विविधता झल्किने गरी विभिन्न भेषभुषामा सजिएका करिव सात सय पचास जति नेपाली मूलका र अन्य समुदायका व्यक्तिहरू कार्यक्रममा उपस्थित थिए।

तीन चरणमा बाँडिएको कार्यक्रमको पहिलो चरणमा स्थानीय सिडरफोर्क सामुदायिक भवनदेखि चर्चस्ट्रिट पार्कसम्म सांस्कृतिक झाँकीसहित परेड प्रस्तुत गरिएको थियो। झाँकीमा नेपालको विविध सांस्कृतिक परिचय झल्कने गरी गौतम बुद्ध, शिव, पार्वती आदिको स्वरुपमा सजिएका कलाकारहरूले दर्शकको ध्यान तानेका थिए भने सहभागीहरूले पनि नेपालको उत्तरदेखि दक्षिण र पुर्बदेखि पश्चिमसम्मको विभिन्न परम्परागत जातजातिको प्रतिनिधित्व हुनेगरी पोशाकमा सजिएर विविधतामा एकताको संदेश प्रबाह गरेका थिए। परेड चर्चस्ट्रिट पार्कमा पुगेपछि सभामा परिणत भएको थियो। नेपाल सेन्टर अफ नर्थ क्यारोलाइनाद्वारा संचालित नेपाली पाठशालाका विद्यार्थीहरूद्वारा नेपाली र अमेरिकी राष्ट्रिय गीत गाएर सुरु गरिएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र अमेरिकी सरकारका विभिन्न तहका प्रतिनिधिहरूले सम्बोधन गरेका थिए।

एन सी एन सीका बोर्ड अफ ट्रष्टी तथा नेपाल दिवस कार्यक्रमका सहसंयोजक डा ठाकुरबाबु कार्कीले मोरिस्भिलमा यस बर्ष दोस्रो नेपाल दिवस मनाउन लागिएको उल्लेख गर्दै नेपाल दिवसलाई मोरिस्भिल टाउनबाट विधिवत घोषणा गरी स्थापित गराउनको लागि भएका एतिहासिक प्रयासहरू स्मरण गराउंदै कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरे।

मोरिसभिल टाउनका पुर्व मेयर मार्कले एक लिखित संदेश मार्फत नर्थ क्यारोलाइनालाई आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा धनि बनाउन नेपाली मूलका समुदायको महत्वपूर्ण भूमिका रहेको र त्यसैको सम्मानस्वरुप मोरिसभिल टाउनले अप्रिलको तेस्रो शनिबारलाई नेपाल दिवसको रुपमा घोषणा गरेको स्मरण गराए। कार्यक्रममा नर्थ क्यरोलाइनाका सिनेटर जय चौधरी, वेक काउन्टीकी कमिस्नर जेसिका होल्म्स, मोरिस्भिलका मेयर टि जे कवली, मोरिस्भिलका काउन्सिल मेम्बर स्टिभ राव लगायतले नर्थ क्यरोलाइनामा नेपाली समुदायको पहिचान उच्च रहेको र आफ्नो सांस्कृतिक पहिचान जोगाइराख्न नेपाल दिवस जस्ता कार्यक्रम फलदायी हुने बताए। 

कार्यक्रममा कलाकारहरूद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। यम श्रेष्ठद्वारा प्रस्तुत लाखे नृत्य र आशा कार्कीद्वारा प्रस्तुत मन्जुश्री नृत्यले दर्शकहरूलाई अमेरिकामा पनि नेपाली मौलिक संस्कृति हेर्न पाउँदा नेपाल नै पुगेको आभास भएको थियो भने अन्य गीत र नृत्यहरूले सबैलाई आनन्दित पारेको थियो। कार्यक्रम स्थलमा नासियाको संयोजनमा नेपाल चिनाउने विभिन्न कलात्मक र सांस्कृतिक गरी एक सय बस्तुहरूले सजिएको स्टल पनि सबैको आकर्षणको केन्द्र बनेको थियो। कार्यक्रमको संचालन संस्थाका सचिव बिक्रम गौतम, नेपाली स्कूलका संचालिका सुजाता ढुंगेल एवं संस्थाका सदस्य जितमान बस्नेतले गरेका थिए। 

प्रकाशित: १२ वैशाख २०७५ १२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App