८ वैशाख २०८१ शनिबार
प्रवास

प्रथम उत्तर अमेरिका तामाङ सम्मेलन हुँदै

काठमाडौं – प्रथम ऐतिहासिक ‘उत्तर अमेरिका तामाङ सम्मेलन २०१८’ जनवरी १३ र १४ मा हुने भएको छ । तामाङ सोसाइटी अफ अमेरिकाले (टिएसए) न्यूयोर्कमा उक्त सम्मेलन गर्न लागेको हो । 

विश्वभरिका तामाङलाई एउटै छाता संगठनमा ल्याउने र आम तामाङ समुदायको साझा मुद्दालाई एकीकृत ढंगले निकास दिन उक्त सम्मेलन गर्न लागेको टिएसएका अध्यक्ष शान्तबाबु थोकरले जानकारी दिए। 

‘यसैबीच अमेरिकाको विभिन्न राज्यहरूमा टिएसएका विभिन्न शाखा गठन भइरहेको छ । यही क्रममा २४, डिसेम्बरमा शेर्पा किदुगको हलमा न्यूयोर्क शाखा गठन गर्दैछौं,’ उनले भने, ‘यहाँ बसोबास गरिरहेका तामाङहरूलाई सहभागिताका लागि अनुरोध गर्दछु।’ 

उनका अनुसार डिसेम्बर १७ सम्म इच्छुक तामाङहरूले टिएसएको नयाँ सदस्यता लिन र नविकरण गरिसक्नु पर्नेछ । 
टिएसएका अध्यक्ष तथा उत्तर अमेरिका तामाङ सम्मेलनका कन्भेनर थोकरले दुई दिनसम्म हुने सम्मेलनको पहिलो दिन उद्घाटनसत्र रहेको बताए। दोस्रो दिन ल्होछारको उपलक्ष्यमा ‘डम्फू साँझ सांस्कृतिक कार्यक्रम’ तय भएको उनको भनाई छ। 

सम्मेलनका लागि गत जनवरी २७, युयोर्कमा आयोजना गरिएको उत्तर अमेरिका तामाङ सम्मेलनको तयारी बैठकले यस क्षेत्रका सम्पूर्ण तामाङ संघसंस्थाहरूलाई टिएसए अन्तर्गत संगठित गर्ने निर्णय गरेको थियो । तयारी बैठकले थोकरको नेतृत्वमा २५ सदस्यीय सम्मेलन आयोजक तदर्थ समिति गठन गरेको छ ।

उत्तर अमेरिका तामाङ सम्मेलन मेरो घोषणापत्रको प्रमुख एजेण्डा थियो । ‘तामाङ साँस्कृतिक केन्द्र तथा बौद्ध गुम्बा’ न्यूयोर्कमा स्थापना गर्ने विषयमा पनि प्राथमिकताको साथ एजेण्डामा राखिएको उनले बताए । यही अनुरुप कार्यक्रम तय भएको छ। 

दुई दिने भेलाले नेपालमा शैक्षिक छात्रवृत्ति कोष, लोकसेवाको तयारी परीक्षाको लागि तामाङ विद्यार्थीहरुलाई प्रोत्साहन कार्यक्रम समेत तर्जुमा गर्ने छ। 

साथै, उत्तर अमेरिकामा छारिएर रहेका तामाङ संघ संस्थाहरूलाई गोलबन्द गरेर एउटा सामूहिक छाता सगठन स्थापना गर्ने सम्मेलनको एजेन्डा रहेको छ। 

सम्मेलनमा क्यानाडा र संयुक्त राज्य अमेरिकाका विभिन्न राज्य र शहरहरूबाट प्रतिनिधिहरू सहभागी हुनेछ। साथै युरोप, अष्ट्रेलिया, र नेपालबाट तामाङ समुदायका अगुवा र बुद्धिजीवीहरू सहभागी हुने टिएसएले जनाएको छ। 

प्रकाशित: २ मंसिर २०७४ ०६:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App