coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
ब्लग

‘अहम्’को लुतो आजै फालौँ

आज साउन १ गते।  विभिन्न सामग्री तयार गरेर लुतो फाल्ने चलन छ। यसरी लुतो फालेमा वर्षभरी रोगव्याधी नलाग्ने मान्यता छ।  

यो त भयो साँस्कृतिक कुरा। यति बेला मुलुकको राजनीतिलाई पनि अहम्को लुतोले नराम्ररी सताएको छ। अहम् यस्तो खटिरा हो जसलाई जति कन्यायो, त्यति नै बढ्दै जान्छ। घाउ बनाएर मात्र यसले विराम लिन्छ।  

यस्तै देखिएको छ, यतिबेला नेकपा एमालेको अवस्था पनि। सरकारबाट बाहिरिएलगत्तै ललितपुरमा जारी स्थायी कमिटीको बैठकले पार्टीलाई विभाजनको संघारमा पुर्याएको छ। हेर्दा यो पार्टी एकताको लागिजस्तो देखिन्छ। तर, सारमा यो पार्टी विभाजन कोर्दे गरेको भेलाजस्तो भान हुन्छ।  

अहम्को लुतोलाई मल्हमले मात्र काम गर्दैन । आफूहरुमा भएको अहम्को लुतोलाई साउनको पहिलो दिनमै फालौं। अहम्लाई ढिलो गरेर पाले एक दिन यसलै स्वयम् व्यक्तिलाई नै फाल्ने छ।

त्यसैले होला, यति बेला माधव नेपाल पक्षका नेताहरु पनि केही समय बैठक रोकै भन्दै बैठक स्थलमा पुगेका छन्। बैठक रोकिन्छ– रोकिन्न, त्यो दिउँसो १ बजेसम्म थाहा भएको छैन।  तर यसले पार्टी कति गम्भीर अवस्थामा पुग्यो भन्ने देखाउँछ।  

केपी ओलीको बारेमा एउटा मान्यता छ – जब उनी रिसाउँदैनन् तब उनी रमाइलो व्यंग गर्छन्। जब उनी रिसाउँछन्। तव उनी  बोल्दैनन्, काम गर्छन्। त्यसैले होला बालुवाटारबाट बालकोट पुगेलगत्तै बार्दलीमा बसेर नेपाल पक्षलाई ठाउँ छैन भनेर उद्घोष गरिदिए।  

सर्वोच्चको फैसला अगाडि आफ्ना दूत पठाएर नेपाललाई बारम्बार फकाउन प्रयास गरेका ओलीले प्रधानमन्त्री पद गुमाएपछि  संभवत अब गुमाउने कुराको डर छैन। आफूले चाहेको चिज गुमाइसकेको मान्छेले लिने निर्णय निकै घातक हुन्छ।  उनको अहम् अहिले चुरोमा पुगेको छ।  

उता नेपाल पनि डराएका देखिँदैनन्। लोकतन्त्रका लागि आफ्नै पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाए पनि विपक्षीबाट मिलेको सद्भाव र वाहवाहीले उनीको अहम् पनि कम भएको छैन। कोटेश्वरस्थित निवासमा प्रधामन्त्रीदेखि प्रचण्डसम्म, विप्लवदेखि विद्रोहीसम्मको आगमनले उनलाई हौसला प्रदान गरेको छ। अहम्को यो लडाइँमा उनी पनि हार मान्नेवाला छैनन्। त्यसैले त्यसैले होला उनी ‘प्लान वि’को तयारीमा रहेको चर्चा चलेको छ।  

समस्या एमालेमा मात्र हैन। मधेशी दलका नेतालाई पनि यस्तै अहमले घेरेको छ।  मधेशका हित र रक्षाको लागि गठन भएका पार्टी यति बेला ओली र देउवा जोगाउने टेको बन्न खोज्दै छन्। आफू आफूबीचको अहम्को यो लडाइँमा उनीहरुले आफूलाई मत दिनेको मूल समस्या भुल्दै गएका छन्।  

भर्खरै सत्तामा आइपुगेको नेपाली कांग्रेस पनि अहम्को सिकार नभएको होइन। पार्टी अधिवेशनको लागि पलाएको अहम् यति बेला सत्ताको मल्हमले केही राहत पाएको महसुस भएको छ। तर अहम्को लुतोलाई मल्हमले मात्र काम गर्दैन।

त्यसैले आजकै दिन आफूहरुमा भएको अहम्को लुतोलाई साउनको पहिलो दिनमै फालौं। अहम्लाई ढिलो गरेर पाले एक दिन यसलै स्वयम् व्यक्तिलाई नै फाल्ने छ।  

प्रकाशित: १ श्रावण २०७८ ०७:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App