७ वैशाख २०७८ मंगलबार
ब्लग

कठै, म बुरबुरो पत्रकार !

कयौंको ज्यान बचाउने र भोको पेट भर्ने म आज आफैँ थलिँदा...

बाहिर सिमसिम पानी परिरहेको थियो । चिया पसलभित्र ओत लागेको म मीठो चियाको प्रतिक्षामा थिएँ । त्यही पसलमा नागरिक समाजका अगुवा अमर ओली पुगे । चिसोलाई परास्त गर्न तातो चिया खाँदै गर्दा उनले छिमेकी गाउँ रुकुम पश्चिमस्थित खाराकी निर्मला खड्काको कहानी सुनाए । तस्विर पनि सँगै ल्याएका थिए । ती तस्विर देखाउँदै, ‘कसरी हुन्छ सर यिनी (निर्मला) लाई बचाउनु पर्‍यो’ भन्दै सहयोग माग्न थाले । मबाट उनले पैसाको सहयोग चाहेका रहेनछन् । मात्र एउटा समाचार प्रकाशनको अपेक्षा रहेछ उनीमा ।

मलै भने, ‘म केही आर्थिक सहयोग गर्न चाहन्थ्ये तर म आफैँ संकटमा छुँ...।’  

बीचमै कुरा काटेर अमरले भने, ‘होइन, होइन सर । तपाइँले एउटा समाचार लेख्नु भयो भने उसको ज्यान बच्न सक्छ ।’

त्यसपछि मैले उनको समाचार नागरिक दैनिक पत्रिकामा प्रकाशन गरे । अमरले भनेजस्तै समाचार प्रकाशित भएपछि देश विदेशबाट सहयोग जुट्न थाल्यो । निर्मलाको ज्यान बच्ने हुँदा अमर खुसी देखिन्थ्ये । जीवनमा समाचार लेखेर कसैको ज्यान बचाउन पाउँदाको अनुभूति म व्यक्त गर्न सक्दैन । समाचार लेखेवाफत पाउने पैसाभन्दा उक्त खुसीले औधी खुसी तुल्यो । पछि निर्मलाले क्यान्सर जितिन् । उनको घरसम्म पुगेर खुसी साटियो । यो एउटा उदाहरण मात्र हो । डेढदशक लामो पत्रकारिताको दौडानमा मृत्युको मुखसम्म पुगेका कयौंको ज्यान बचाउन मेैले लेखेका समाचार औषधी बनेका छन् । समाज रुपान्तरण र विकासको मेरुदण्डमा मात्र मैले लेखेका समाचारले योगदान पुर्‍याएका छैनन्, कसैको जीवन बदल्नेदेखि विकृति विसंगतिविरुद्ध पनि चलेको छ ।  

पछिल्लो उदाहरण विश्वभरि महामारीका रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) ले विश्व नराम्ररी थलियो । नेपालको कर्णालीजस्तो दूरदराजमा यसले बेस्सरी प्रभाव पार्‍यो । यसको न्यूनीकरणका लागि सरकारले बेलाबेला लगाएको बन्दाबन्दी (लकडाउन) ले धेरै विपन्न गरिबको चुलो नबल्दा पेट भोकै रह्यो । कोरोना भाइरसको त्रासका बीच आफूलाई जोखिममा राखेर विपन्न गरिब वर्गका पीडा समाचार बने । ति समाचार केवल समाचारमा मात्र सीमित भएनन्, उनीहरुको भोको पेट भर्न र नांगो शरीर छोप्न सहयोगी बने भने  सरकारले गरेका नीति र जनताले पाएका सास्तीमा पनि समाचार केन्द्रित बने ।

यही बीचमा ३५ वर्षसम्म नयाँ कपडा फेर्न नपाएका दम्पत्तीले नयाँ लुगा पाए । छाक टार्ने एक मुठी चामल नभएका नन्दादवी सुनार, सुनिता कुमाल, अमृता चालिसे, लगायतका परिवारले चामल पाए । त्यतिबेला विदेशबाट कास्कीका विक्रम ढकालले आफ्नी आमाको जन्मदिन पारेर सहयोग पठाएका थिए । कोरोना भाइरसबाट संक्रमित भएका दैखेलका ३५ वर्षीय युवकलाई जंगल नजिकको स्कुलमा एक्लै राखियो । मेरो एउटा समाचारकै कारण उनले भरपर्दाे उपचार पाए । स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिकाबाट उनले कोरोना भाइरसलाई पराजित गरे । स्वास्थ्य सुरक्षा सामग्रीविहीन सडक सफाइ कर्मचारीले स्वास्थ्य सुरक्षा सामग्री पाए । यस्ता कुशल कामले मेरो छाती गर्व फुल्छ । यति लामो पत्रकारिताको दौडानमा यही गर्वबाहेक अरु कमाउन सकेन ।  

तर, समाचार लेखेरै कयौंको ज्यान बचाउने, नांगो शरीरमा लुगा लगाउने र भोको पेट भर्ने माध्यम बन्ने म आज आफैँ थलित भएको छु । छोरा सम्राट विदेशी अस्पतालको शैयामा मृत्युसँग लडिरहेको छ । म बुरबुरो पत्रकार आफ्नो छोरा बचाउन एउटा समाचार पनि लेख्न सक्दैन । सहयोग पनि माग्न सक्दैन । मृत्युसँग छोराको लडाइँ जिताउन सक्ने पैसा पनि त छैन मसँग । कयौंको ज्यान बचाएँ, नांगो शरीर र भोको पेट भर्न सहजीकरण गरे तर आज आफ्नै छोराको उपचार गर्न दाँतबाट पसिना निकाल्नु परेको छ । तीन महिनामा दुईटा अप्रेसन गर्नुपर्दा मलाई आर्थिक संकट परेको कुरा व्यक्त गर्न मुस्किल भएको छ । ऋण निकालेको केही पैसाले उपचार गर्न नपुग्दा ति बिगतका समाचार हेर्दै मन भुलाउँछु । तर म मेरो मन भुलाएर के गरौं, भित्र छोरा मृत्युसँग लडिरहेछ । छेउमै श्रीमती मुर्छित् हुँदा मेरो मन सम्हाल्न नसक्ने गरी बहकिन्छ । नेपालमा उपचार विधि ढिलो हुने र छोराको ज्यान जोखिममा हुने हुँदा यतिबेला म भारतको उत्तर प्रदेशको राजधानी लखनऊमा छोराको उपचार गराइरहेको छुँ । त्यसभन्दा पहिला सुर्खेतमा डाक्टर नवराज केसीसँगको नियमित परामर्शमै थिएँ । सुविधा सम्पन्न अपस्तालमा लिन उहाँको सुझावअनुसार काठमाडौं पुगेँ । काठमाडौंको अस्पतालमा उपचारको प्रक्रिया लामो र छोराको अवस्था गम्भीर हुँदा लखनऊसम्म पुग्न बाध्य भए ।

सधैं श्रीमतीले पत्रकारिता छाडेर व्यापार व्यवसायमा लाग्न भन्दै दिएका सुझाव पनि झल्झल्ती आउँछन् । मैले मेरो इमान्दारिताको पत्रकारिताको धाक लगाउँदै भन्थ्ये, ‘मैले पैसा कमाउन नसकुला तर सयौं मान्छे कमाएको छुँ । पर्दा हेर्छन् र हेर्छु ।’ मुर्छित श्रीमतीका अगाडि अहिले ती धाक नतमस्तक भएका छन् । बहकिएको मन सम्हाल्दै भन्छु, ‘चिन्ता नगर सबै ठीक हुन्छ । उसले यति सहयोग गर्छु भनेको छ ऊबाट त्यति ऋण लिन्छु ।’  

मेरो व्यावसायिक श्रमजीवी पत्रकारितालाई विश्राम दिँदै तिम्रै सुझावअनुसार काम गर्छुभन्दा श्रीमतीले मेरो टाउँको सुम्सुम्याउँदै, ‘त्यसो नभन्नू । सन्तान मृत्युसँग लड्दा कस्तो हुन्छ मैले अनुभव गरे । मेरो छोरा मात्र होइन, अन्य यस्तै विपन्न गरिब सन्तानलाई तपाइँका समाचार औषधि बन्नुपर्छ ।’ व्यापार होइन अझै शसक्त पत्रकारिता गर्ने श्रीमतीको सुझावका अगाडि मेरो वचन फर्कंदैन ।

पत्रकारिताबाट आउने तलबले छोराछोरीको स्कुले दस्तुर र आफ्नो दैनिकी गुजारा चलाउन ठीकै हुन्छ । पैसा कमाउन पत्रकारितालाई माध्यम बनाइएको भए मेरो छोरा मृत्युसँग होइन मृत्यु छोरासँग लडिरहेको हुन्थ्यो । श्रीमती मुर्छित हुँदैन्थिन्, मेरो चेहेरा निन्याउने हुँदैन्थ्यो । यदी पत्रकारिता पैसासँग साटिएको भए तपाइँजस्ता असल व्यक्ति मैले गुमाउथ्ये । केवल मसँग पैसा हुन्थ्यो । त्यसैले मलाई पैसा ठूलो लागेन । असल व्यक्ति प्यारो लाग्यो । तपाइँ जस्ता असल व्यक्ति मेरो अदृश्य सम्पत्ति हो । जसले मेरो पत्रकारिलाई सधैं इमान्दारीताको बाटो डोर्‍यायो ।  

लेखक गणेश विशु नागरिक दैनिकका पत्रकार हुन ।

प्रकाशित: २२ फाल्गुन २०७७ ०९:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?