१६ चैत्र २०८० शुक्रबार
विचार

प्रथम छायांकारका अन्तिम छवि

नेपाली सिनेमाका प्रथम छायाकार वैकुण्ठ मास्के दाइको शुक्रबार निधन भएको खबरसँगै मन एकाएक ‘फ्ल्यासब्याक’ मा पुगेको छ। फोटो पत्रकारिताको लामो समयकालमा दाइसँग भएका जम्काभेट सिनेमाका दृश्यझैँ अझै पनि मानसपटलमा ताजा नै भइरहेका छन्।  

२०४६ सालको आन्दोलन होस् या २०६२÷६३ को जनआन्दोलन। दुवैमा  उहाँको क्यामेरा उत्तिकै सक्रिय थियो। समाचार संस्था रोयटर्सका लागि न्युज क्यामेरा पर्सनका रूपमा भिडियो खिच्न फिल्डमा निस्कने उहाँ ‘वान म्यान आर्मी’ जस्तै देखिनुहुन्थ्यो। जसले म मात्रै हैन, धेरै तस्बिरकर्मीलाई उहाँ जस्तै हुन लोभ्याउँथ्यो।

पत्रकार सम्मेलन तथा विभिन्न कार्यक्रममा क्यामेरा चलाउनेहरू प्रायः प्रश्न गर्दैनथे। दृश्यहरूमात्र आफ्नो क्यामेरामा कैद गर्थे। तर उहाँमा भने दृश्य कैदसँगै प्रश्न पनि सोध्ने कला थियो। रोयटर्समा काम गर्ने भएकाले होला, उहाँका प्रश्न भने प्रायः अंग्रेजीमै सोधिन्थे। किसुनजी, गिरिजाबाबु भन्दै २०४७–४८ सालतिर उहाँले सोधेका तिखा प्रश्न अझै पनि कानै वरपर गुञ्जिरहे जस्ता लाग्छन्।  

उहाँको शरीर पातलो थियो तर प्रश्न भने निकै बाक्लो हुने गथ्र्यो। अर्थात ओजिला शब्द र गह्रुँगो अर्थ बोकेका प्रश्न सोध्नुहुन्थ्यो। उहाँको आवाजमा दम थियो। कम बोले पनि बाहिर निस्केका बोली भने असरदार हुने गथ्र्यो। पत्रकार सम्मेलनमा अरूका समस्या मात्र उठाइदिने हैन, स्वयं पत्रकारले भोग्नुपरेका समस्या पनि प्रभावकारी ढंगले उठाउनुहुन्थ्यो। उहाँको सोध्ने शालीन शैली, शब्दहरूको उचित छनोट अनि त्यसभित्रको मर्मका कारण हुनुपर्छ, आयोजक वा सम्बन्धित पक्ष उहाँको कुरा सुन्न बाध्य हुन्थे। कतिपय सन्दर्भमा तिनको प्रभावकारी कार्यान्वयनसमेत भएका उदाहरण हामीसामु छन्। 

कार्यक्षेत्रमा दाइसँग लामो कुराकानी त हुँदैनथ्यो तर जति हुन्थ्यो चासो मानेर सुन्नुहुन्थ्यो। लामो समयसम्मको संगतमा पनि उहाँ नेपालको पहिलो छायाकार भन्नेचाहिँ थाहा थिएन। म आफैँ पनि फोटोग्राफी र सिनेमामा रुचि राख्ने भएकाले बुझ्दै जाँदा पछि थाहा भयो कि उहाँले त सन् १९६६ मै पुनास्थित भारतीय फिल्म प्राविधिक शिक्षालयबाट औपचारिक अध्ययन सिध्याउनुभएको रहेछ।  

उहाँले ‘परिवर्तन’, ‘मनको बाँध’, ‘हिजो–आज–भोलि’ लगायत दर्जनौँ फिल्मको छायाकनको जिम्मेवारी सम्हाल्नुभएको पनि पछि नै थाहाँ पाएँ। बुबाहरूको मख्खन टोलमा रहेको होटलबाट उहाँको सुटिङ युनिटलाई खाजा लगेको याद पनि कुराकानीका क्रममा वैकुण्ठ दाइले सुनाउनुभएको थियो। दृश्य खिच्ने मात्र हैन, कुनै पनि घटनालाई उत्तिकै आकर्षक र दमदार ढंगले सुनाउने कला पनि उहाँमा थियो जुन कुरा धेरैलाई थाहा नहुन सक्छ। सूचना विभागमा काम गर्दा राजाको देश÷विदेश भ्रमणका थुप्रै तस्बिर खिचेको अनुभव पनि उहाँमा थियो।  

धेरै मानिस मपाइँत्व छाँटेर भ्याउँदैनन् तर भेटघाटमा उहाँले भने कहिल्यै पनि आफ्नो तारिफ गरेको मैले पाइन। शान्त र सरल स्वभावका उहाँ मीठो मुस्कानका साथ सबैलाई स्वागत गर्नुहुन्थ्यो। यीलगायत उहाँबाट हामीले सिक्ने धेरै कुरा छन्।  

ढल्कँदो उमेरमा पनि उत्तिकै जोशका साथ कार्यक्षेत्रमा खटिने उहाँले समाचारको सवालमा कहिल्यै अधैर्य बन्नुभएन। समाचारको पर्खाइमा घन्टौँ कुर्दा पनि उहाँमा थकान देखिन्नथ्यो। समाचारका लागि कुर्नुपर्छ भन्दै उहाँ अरूलाई समेत हौसित तुल्याउनुहुन्थ्यो। यस अर्थमा नयाँ पिँढीका सञ्चारकर्मीले पनि उहाँबाट धेरै सिक्न सक्ने खुराक छन्।  

उहाँ आफ्नै समुदाय अर्थात पत्रकारका लागि अत्यन्तै सहयोगी भावनाको हुनुहुन्थ्यो। पत्रकारलाई सकभर दुःख नहोस भन्ने चाहनुहुन्थ्यो र त्यसैअनुरूपको व्यवहार पनि प्रदर्शन गर्नुहुन्थ्यो। २०६२÷६३ को आन्दोलनमा पत्रकारतर्फ आएको टियर ग्यासको गोलालाई प्रहरीतर्फै फर्काइदिएको भन्दै पत्रकारले उहाँको तारिफ पछिसम्म गरेका थिए।  

जीवनको उत्तरार्धसम्म क्यामेरासँग खेल्दै आउनुभएका वैकुण्ठ दाइको ८३ वर्षको उमेरमा भएको निधनले पनि मलाई अति नै दुखित बनाएको छ किनकि कामको सिलसिलामा हामीले दाइमा कहिल्यै बुढ्यौलीको छनकै पाएनछौँ। उमेरले मेरो बुबा बराबरीका उहाँ, फिल्डमा भने साथी जस्तै हुनुहुन्थ्यो। कामप्रतिको उहाँको उत्साह र छरितोपनले हरकोही कायल हुन्थे। शायद त्यसैले पनि मलाई उहाँको मृत्यु पच्न सकेन।  

समाचार र सिनेमाका आकर्षक दृश्य देखाउँदै सबैलाई खुसी तुल्याउने दाइ यतिबेला आफँै समाचार बन्नुभएको छ। घटना सिनेमा जस्तै लागेको छ।  तर नियतिले खिचेको नेपाली सिनेमाका प्रथम छायाकारको अन्तिम दृश्यले भने सबैलाई दुुखित तुल्याएको छ। अन्तिम श्रद्धाञ्जली वैकुण्ठ दाइ।  

प्रकाशित: ७ कार्तिक २०७७ ०२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App