११ कार्तिक २०७७ मंगलबार
ब्लग

गुरुकुलमा दलित छिराउन हुँदैन भनेर कुन वेदमा लेखिएको छ?

क्याप्शन

श्रीमदभागवत महापुराणमा भनिएको छ– ‘जतिले परिवारको पेट भरिन्छ, त्यतिमा अधिकार हुन्छ। अधिक कालो धन थुपार्ने चोर हुन्, उसलाई दण्ड दिनुपर्छ।’ जातीय विभेदको आन्तरिक कारण आर्थिक भ्रष्टाचार पनि हो। किनकि फुटाऊ अनि राज गर भन्ने बोधबाट हाम्रो शासन व्यवस्था र दलीय राजनीति अगाडि बढेको छ। कुनै पनि धार्मिक, राजनीतिक वा सामाजिक खोल ओढेर अकुत सम्पत्ति कमाउने खेल डरलाग्दो छ। जसले राष्ट्रलाई घाटा नै घाटा भएको छ।  

नेपालको इतिहास हेर्ने हो भने पृथ्वीनारायण शाह, जंगबहादुर राणा, मल्ल तथा किरातकालका राजा, सबै राज्य सञ्चालक वेद, पुराण, संस्कृतमा दक्खल राखेको देखिन्छ। संग्रहालय एवं विभिन्न स्थलमा राखिएका ताम्रपत्र/अभिलेख आदिले यो कुरा स्पष्ट पार्छन्।  

सबै नेपालीले पढ्न पाउनुपर्छ भनेर ‘जयतु संस्कृतम्’ आन्दोलनको नेतृत्व पनि संस्कृत/पुराण पढेकाहरूले गरेको इतिहासले बताउँछ। बिपी कोइराला, मदन भण्डारी, कृष्णप्रसाद भट्टराई आदि नेता पनि संस्कृत पृष्ठभूमिबाटै उदाएका थिए। राष्ट्रकवि माधवप्रसाद घिमिरे काठमाडौंको दरबारमार्गस्थित तीनधारा संस्कृत पाठशालाका पूर्वविद्यार्थी थिए। आज त्यहाँ विभेद छैन।

गुरुकुलमा दलित, जनजाति छिराउन मिल्दैन रे, धर्म नष्ट हुन्छ रे! यसो भन्नेहरूले कुनचाहिँ वेद, पुराण पढेका रहेछन्! यस विषयमा म खुला शास्त्रार्थ गर्न चुनौती दिन्छु।

भगत सर्वजित विश्वकर्मा, जगमान गुरुङ, काले राई भनिने डा. स्वामी प्रपन्नाचार्य, सुन्दास दिदीबहिनी, क्षत्रीय कुलका योगी नरहरिनाथ फेरि नजन्माउने? यस्ता अनेक ब्राह्मणेतर विद्वान् कति छन् कति! आज विश्वभर हरेक धर्मावलम्बीले वेद, पुराण, संस्कृत– गुरुकुल खोलेर पढेका छन्। हामीचाहिँ सधैं भेदभावलाई प्रश्रय दिइराख्ने? यसको नीतिगत र व्यावहारिक उत्तर खोज्न जरुरी भइसकेको छ।

आज विदेशमा ‘काउ चिली’ खानेले वेद घन्काउन थालिसके। आफ्नै नेपाली दाजुभाइ/दिदीबहिनीलाई चाहिँ पढ्नबाट वञ्चित गरिरहने! विदेशी चोखा, आफ्नै दाजुभाइ/दिदीबहिनीचाहिँ जुठा! नेपाल त सृष्टिको उद्गमस्थल र प्राचीन सभ्यताको धरोहर हो। यस विषयमा अर्को अंकमा लेखौंला।

जबसम्म समाजको सोच/विचार परिवर्तन हुँदैन, तबसम्म परिवर्तनको यात्रा कठिन छ। विकासमा विचार घुसाएर बाधा पुर्याउनेको भीडमा क्रान्तिकारीहरू पनि हराउँदारहेछन्। यो चिन्ताको विषय हो। गुरुकुलको समावेशी परिवर्तनलाई पूरा नेपाल एवं विश्वले सलाम गर्नेछ। गुरुकुल त गुरुपीठ हुन्। महान् शिक्षाको स्रोत जोगाएको गुरुकुलले नै हो। यसमा दुईमत छैन। यिनले समय समयमा समाज परिवर्तनका लागि महत्वपूर्ण कदम उठाउनुपर्छ। शिक्षा सुधारे सबै सुधार, शिक्षा बिगारे सबै विकार। 

उदाहरणका लागि २०३९ सालतिर बागलुङ नगरपालिका–४ स्थित श्री मुक्तिनाथ वेद विद्याश्रम संस्कृत पाठशाला खोल्न प्रसिद्ध विद्वान् कालीगण्डकी सभ्यताका अनुसन्धानकर्ता श्रीधराचार्य पौडेलज्यूलाई जति गाह्रो भएको थियो, उस्तै पीडा आज परिवर्तन चाहने त्यो समाजको पनि छ। आज यो गुरुकुलमा सबै जातजातिले पढ्न पाउनुपर्छ भनेर त्यहाँको समाजले आवाज उठाइरहेको छ। हजारौं माइलको यात्रा पनि पहिलो पाइलाबाट प्रारम्भ हुन्छ। वर्तमान नेपालको सन्दर्भमा यसले सबैको विचारलाई परिवर्तन गर्न नेतृत्व गर्नेछ।  

बागलुङमा मात्र होइन, देशभरि गुरुकुलमा संस्कृत, वेद, पुराण पढ्न नेवार, परियार, विक, राई, लिम्बु, मगर आदि ब्राह्मणेतर थरधारीलाई भर्ना नलिने कुप्रथा छ। नेपाल संस्कृत विश्वविद्यालयमा विभेद छैन। त्यहाँ उत्तरमध्यमा, शास्त्री, आचार्य एवं विद्यावारिधिसम्मको अध्ययन गराइन्छ। गुरुकुलमा त हो नि संस्कृत विश्वविद्यालयमा पढ्ने विद्यार्थी तयार गर्ने। फेरि भेदभाव किन? ब्राह्मणेतरलाई पढ्न बाधा/अड्चन पुर्‍याउन अरू कोही नभएर श्री श्री १००८ लेख्नेवालाहरू हुन्। कथित स्वामी भनिनेहरू हुन्। यिनका अन्य गतिविधिसँग हामीलाई केही चासो पनि भएन। त्यो काम सरकारको हो। तर गुरुकुलीय शिक्षामा समानता चाहिन्छ भन्दा उनीहरू बाधक बन्छन् भने कानुनी उपचारको बाटोमा जानुको विकल्प रहँदैन।  

पौडेलले श्राद्ध गर्नुपर्ने रे, परियारले गर्नु पर्दैन? शिवाकोटीले शिवपूजा गरिरहँदा सेवानले रुद्रीपाठ किन नगर्ने? भेदभाव वेद, पुराणमा छैन, भगवानले भेदभाव गरेका छैनन् भने हामी को हौं, भेदभाव गर्ने? आज सबै नेपाली विद्यार्थीलाई सानैदेखि गुरुकुलमा संस्कृत, वेद, पुराणसहित अंग्रेजी, विज्ञान, गणित पढाइदिए दाबीका साथ भन्न सकिन्छ कि भविष्यमा विश्वबजारमा श्रमजीवी भएर जाने नेपाली थोरै हुनेछन्। बुद्धिजीवी भएर नाम र दाम कमाउने धेरै हुनेछन्। त्यसको प्रत्यक्ष फाइदा नेपालको विकासमा पर्नेछ। ऋाज संगीत, साहित्य, पत्रकारिता, राजनीतिलगायत हरेक क्षेत्रमा अग्रपंक्तिमा हुने अधिकतर नेपाली संस्कृत गुरुकुलकै उत्पादन हुन्। हामीले अब यो गुणात्मकता वृद्धि गर्न किन कन्जुस्याइँ गर्ने?

सबैका लागि शिक्षा भन्ने उद्घोषका साथ राज्यले संविधानको मौलिक हकमा सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रताको हक, समानताको हक, छुवाछूतविरुद्धको हक, धार्मिक स्वतन्त्रताको हकलगायतका अधिकारको सुनिश्चित गरेको छ। साथै संविधानको धारा ३१ मा शिक्षासम्बन्धी हकको व्यवस्था छ। जसको उपधारा २ मा नेपालमा बसोबास गर्ने प्रत्येक नागरिकलाई राज्यद्वारा आधारभूत शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने भनिएको छ। हरेक समुदायलाई आफ्ना भाषा, संस्कृति, सभ्यता र सम्पदा  संरक्षण गर्ने हक हुनेछ व्यवस्था गरिएको छ।

तर पनि सदियौंदेखि राज्यको अदृश्य संरक्षणमा जातीय भेदभावण् र छुवाछूतजस्तो कुप्रथाले जरा गाडिरहकै छ, जुन दुःखको विषय हो।

खीरमाथि बसेर पनि डाडुले जसरी खीरको स्वाद पाउँदैन, त्यसैगरी अहिलेका अधिकतर धर्मगुरुलाई वेद र पुराणले दिएको सन्देश थाहा छैन, त्यसैले त भेदभाव छ।

नेपालमा करिब २० प्रतिशत दलित, ३७ प्रतिशत आदिवासी जनजाति र १३ प्रतिशत क्षत्रीसमेत धर्मको उपभोग गर्न पाउने गुरुकुल आदि शिक्षालयमा पढ्नबाट वञ्चित छन्। जुन अन्तर्राष्ट्रिय मानव अधिकारविपरीत हो। जातीय विभेदलाई कानुनी रूपमै प्रतिबन्ध लगाइएको भए पनि दण्डहीनताका कारण दलित समुदायका मानिस अमानवीय जीवनयापन गर्न बाध्य छन्। मन्दिरमा पसे भनेर मन्दिरमा, पानी छोएको निहुँमा धारामा कुटिन्छन्। जसबाट बदनाम हुन्छन्- वेद, पुराण, जसले समानताको वकालत गर्छन्। 

गुरुकुल, मन्दिर बनाउने बेला कसैले सोध्दैन कि तिम्रो जात के हो? थर के हो? तर जब संरचना तयार हुन्छ, तब त्यहाँ को पस्न हुने, को नहुने, कसले पढ्न मिल्ने, कसले नमिल्ने, जात/थर सोधखोज गर्न थालिन्छ। परम्पराका आडमा वेद र पुराणको नीतिविपरीत गुरुकुलमा हुने जातीय विभेदविरुद्ध अभियान प्रारम्भ गर्नु अत्यावश्यक भएको छ। नेपालभरिका गुरुकुलमा बिनाजातीय भेदभाव सबैले पढ्न पाउनुपर्छ भन्ने एकसूत्रीय माग हुनुपर्छ। सरकारले यसलाई गम्भीरतापूर्वक लिनुपर्छ। गुरुकुलमा जीवनोपयोगी/समाजोपयोगी कुरा पढाइन्छन् :  

काँडो बिझे काँडैले काँडो झिक्नु, दुर्जनहरूलाई सज्जनताले छुँदैन, त्यसैले दुर्जनका लागि दुर्जन र सज्जनका लागि सज्जन बनिदिनू।

आजका सज्जन भोलिका दुर्जन, भोलिका दुर्जन, आजका सज्जन हुन सक्छन्। सधैं चनाखो हुनू। आजका साथी भोलिका शत्रु, भोलिका साथी आजका शत्रु हुन सक्छन्। कसैले साथ दिए भनेर खुसी हुने र घात गरे भनेर दुःखी नहुनू। प्रशंसा हुँदा नमात्तिनू, आलोचना हुँदा नआत्तिनू। तिमी खेलाडी हौ खेल्दै जाऊ, समर्थन÷विरोध गर्ने काम त दर्शकको हो।  

अरूको कुभलो नसोच्नू। देवीदेउताको पूजा गर्नू। नातागोतामा न अल्झिनू। सबैसँग प्रेमभाव राख्नू, द्वेषको भावना राख्दै नराख्नू। अरूको धर्म वा आस्थामा ठेस नपुर्‍याउनू। गाई आदि महत्वपूर्ण पशुपन्छी जोगाउनू, ज्ञानीको संरक्षण गर्नू, सच्चा साधु लफङ्गा भएर बौलाहाजस्ता भएर हिँडेका हुन्छन्, तिनलाई चिन्नू/जोगाउनू, माया गर्नू। आडम्बरी/ढोंगीलाई सच्याउनू। तिमीभित्र यो  देश, समाज र विश्व हाँक्ने शक्ति छ। कुनै नीति निर्माण गर्दा गम्भीर हुनू, किनकि तिमीले बनाएको नीतिमा कसैलाई अन्याय हुनु हुँदैन आदि इत्यादि।

मन्त्र बनाउने ऋषिहरूको नाम अतृ वशिष्ठजस्तो सामान्य छ। अहिले श्री श्री १००८ रे! कथित धर्मगुरुको परीक्षण गर्ने यौटा बोर्ड नै आवश्यक परेको छ। जसले उनीहरूलाई शास्त्रअनुसार काम गर्न आदेश देओस्। वेद र पुराणको रस नबुझेका खीरमाथि बसेर पनि डाडुले जसरी खीरको स्वाद पाउँदैन, त्यसैगरी अहिलेका अधिकतर धर्मगुरुलाई वेद र पुराणले दिएको सन्देश थाहा छैन, त्यसैले त भेदभाव छ।

पौराणिक मान्यताअनुसार ऋषिहरूका गुरुकुलमा कुनै किसिमको जातीय विभेद थिएन। उदाहरणस्वरूप क्षत्रीय कुलका राम वशिष्ठको गुरुकुलमा पढ्थे, यादव वंशी कृष्ण बलराम महर्षि सान्दिपनीको गुरुकुलमा पढ्थे।

शास्त्रमा श्रीकृष्ण उवाच भनिएको छ। श्री अर्जुन उवाच भनिएको छैन। यो श्री श्री १००८ के हो? आफैंले आफैंलाई स्वामी भन्नू वा अरूले स्वामी भनेको स्वीकार्नु यो शास्त्रविरुद्धको कर्म हो। स्वामी त भगवान् मात्र हुनुहुन्छ। अर्काे विवाह गरेका श्रीमान्, फेरि यो स्वामी भन्ने सम्बोधन पनि विचित्र लाग्छ। भन्ने नै भए योगीजी, आचार्यजी भन्दा हुन्छ। यो शास्त्रीय विधानअनुरूपको सम्बोधन हो। हुन त हाम्रा पण्डित, गुरु, स्वामीज्यू भनिनेहरूले सतीप्रथालाई पनि स्वीकार गरेका थिए। जुन प्रथा अन्तत: चन्द्रशमशेरका पालामा हट्यो। अब आशा गरौं– गुरुकुलमा हुने जातीय विभेद पनि हट्नेछ। 

जब नेपाली समाज पूर्वीय दर्शनको सच्चा पहरेदार बन्नेछ, तब मात्र लोकतन्त्र रमाउने छ। त्यसैमा साम्यवाद, गणतन्त्र आदि के के वाद, सबैको सम्बोधन हुनेछ। वेद, पुराणले कुनै पनि जातीय, वर्गीय, भौगोलिक, लैंगिक, धार्मिक, राजनीतिक, साम्प्रदायिक वा कुनै पनि भेदभाव गर्नु भनेका छैनन्। तसर्थ वेदलाई आफ्नो धर्मग्रन्थ मान्नेहरूले यस किसिमका विकृति/विसंगतिलाई प्रश्रय दिनु भनेको आफ्नो खुट्टामा आफैंले बन्चरो हान्नु हो।  

पौराणिक मान्यताअनुसार ऋषिहरूका गुरुकुलमा कुनै किसिमको जातीय विभेद थिएन। उदाहरणस्वरूप क्षत्रीय कुलका राम वशिष्ठको गुरुकुलमा पढ्थे, यादव वंशी कृष्ण बलराम महर्षि सान्दिपनीको गुरुकुलमा पढ्थे। दासी पुत्र विदुर वैदिक वाङ्मयका प्रखर वक्ता थिए। उनको विदुर नीति प्रसिद्ध छ। यस्ता अनेकौं उदाहरणले गुरुकुलमा भइरहेको जातीय विभेद अशास्त्रीय, अमानवीय र अव्यावहारिक एवं अवैदिक कर्म भएको पुष्टि गर्छन्।  

हुन त हाम्रा पण्डित, गुरु, स्वामीज्यू भनिनेहरूले सतीप्रथालाई पनि स्वीकार गरेका थिए। जुन प्रथा अन्तत: चन्द्रशमशेरका पालामा हट्यो। अब आशा गरौं– गुरुकुलमा हुने जातीय विभेद पनि हट्नेछ। 

गुरुकुलमा पहिले–पहिले जैसी बाहुनलाई पढाइन्थेन। तर परमानन्द सरस्वती, ज्ञानानन्द सरस्वती आदिको उदय भएपछि यस्तो भेदभाव हट्यो। आज गुरुकुलहरूमा जैसी बाहुन भनिनेहरू ढुक्कसँग पढिरहेका छन्। गुरुकुलमा दलित, जनजाती वा जोसुकैलाई पढाउँदा विद्यालयको गोपनीयता भंग हुन्छजस्ता कुतर्क पनि गरिन्छ। विद्यालयमा पढ्न/पढाउन कुन गोपनीयताको कुरा गर्दै हुनुहुन्छ? खुला हुनुहोस्, कथित धर्मगुरुहरू! समाज सुधारमा यहाँहरूले भूमिका खेल्ने हो भने समानताबारे पनि सोच्नुपर्‍यो। बडा बडा टीका लगाएर भेदभावलाई प्रश्रय दिएकाे सुहाउँदैन। यो मुद्दा त विद्यार्थी संघ/संगठनले उठाउनुपर्ने हो। तर यहाँ विचार बोक्नेलाई भन्दा झोला बोक्नेलाई नेतृत्व दिने चलन छ। यो चिन्ताको विषय हो। यस्ता विषयमा विद्यार्थी संघ/संगठन मौन बस्न हुँदैन, किनकि यो शैक्षिक अजेन्डा हो।  

भेदभाव पाप हो, समानता धर्म हो। यही नै ४ वेद १८ पुराणको आदेश हो। 

गुरुकुलमा दलित, जनजाती छिराउन मिल्दैन रे, धर्म नष्ट हुन्छ रे! यसो भन्नेहरूले कुनचाहिँ वेद, पुराण पढेका रहेछन्! यस विषयमा म खुला शास्त्रार्थ गर्न चुनौती दिन्छु। इन्तु, किन्तु, परन्तु, चल्दैन। गुरुकुलमा समस्त नेपाली दाजुभाइ/दिदीबहिनीले पढ्न पाउनुपर्छ। बरु गुरुकुलमा विज्ञान विषयको अभाव छ। सर्टिफिकेटमा साइन्स नहुनाले गुरुकुलबाट उत्पादित जनशक्ति मेडिकल, इन्जिनियरिङ, सेना, प्रहरी आदि विविध क्षेत्रको नेतृत्व लिनबाट वञ्चित भइरहेको छ। त्यसलाई पूर्ति गर्नुपर्नेछ। भेदभाव पाप हो, समानता धर्म हो। यही नै ४ वेद १८ पुराणको आदेश हो। यथार्थ बताउने विद्वान् पनि थोरै हुनुहुन्न। ल आउनुहोस् जनमत संग्रह गरौं। गुरुकुलमा सबै जातजातिलाई पढ्न किन रोक्ने?  

प्रकाशित: १ आश्विन २०७७ १४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App