८ वैशाख २०८१ शनिबार
ब्लग

स्वास्थ्यकर्मीलाई कोरोनाको भन्दा समाजको डर !

स्वास्थ्यकर्मी भएपछि विरामीको उपचारको लागि सँधै तयार रहनुपर्छ। आखिर हामीले पढेको, सिकेको र मैनवत्ति समाएर खाएको कसमको वास्तविकता पनि त्यही हो। चीनको उहानमा कोरोना भाइसरका विरामी देखिंदा नेपालसम्म आउला भन्ने कमैले सोचेका थिए। जब नेपालमा पहिलो केस देखियो मलाई लागेको थियो अब हामी पनि तयार हुनुपर्छ। मनमनै पहिलो केस देखिएकै समयदेखि आफुलाई तयार पारेपनि कोभिड १९ बारे आइरहने समाचारहरुले निदहराम गर्नु स्वभाविकै थियो।  

कहिल्यै नसुनेको र तथ्यहरुबारे पनि कमै जानकारी भएको रोगको उपचारमा संलग्न हुनुपर्ने अवस्था हाम्रो देशमा आयो। विस्तारै देशभरी नै कोभिडको सन्त्रास फैलिइरहेको थियो। एक नर्सको नाताले मैले इन्टरनेटमा कोरोनाबारे आफ्नै हिसाबमा अध्ययन गरिरहेकी थिए। किन भने जुनसुकै बेला हामी विरामीको उपचारको लागि तयार हुनुपर्ने अवस्था थियो।

उपचारका लागि फ्रन्टलाईमा रहने हामी जस्ता नर्सले विरामीलाई कसरी सजिलो बनाउने भन्ने तरिका जान्नु बढी महत्वपूर्ण हुन्छ। यो नयाँ भाइरस भएकाले धेरैकुरा कसैलाई पनि थाहा थिएन। इटली, अमेरिका र यूरोपका अन्य देशमा भइरहेका भयावह मृत्युका घटनाले मन चसक्क पार्थ्यो।  

समाजमा भइरहेका क्रियाकलाप हेर्दा स्वास्थ्यकर्मीलाई कोरोनाको भन्दा समाजको डर धेरै हो कि जस्तो लाग्न थालेको छ। कोरोनाले सबैलाई त्रसित बनाएको सत्य हो तर यो त्रासले मानवीयता विर्साउनु हुँदैन।

म पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गर्छु। यहाँ पनि कोरोनाका विरामी आउन सुरु भइरहेको थियो। सुरुवातदेखि नै म पनि कोरोना संक्रमितको उपचारमा खटिन थाले। असार महिना त पुरै आइसोलेसन वार्डमा वित्यो। पिपिई, मास्क, भाइजर र पन्जामा आफैलाई हेर्दा पनि कस्तो कस्तो लाग्थ्यो सुरु सुरुमा। पहिलो दिन पिपिई सेट लगाउँदा निकै असहज भएको थियो। शरिर भित्र भित्रै गुम्सिए जस्तो भएको थियो। पिपिईले यति गर्मी बनाएको थियो कि अब त्यति लामो यो सेट लगाएर कसरी काम गर्ने भन्ने चिन्ता थपेको थियो। तर विस्तारै यसैमा बानी पर्यो। विदेशमा स्वास्थ्यकर्मीले पिपिईसँगै डाईपर लगाएर काम गरेको पढेकी थिए। उनीहरुले कसरी काम गरेहोलान् भन्ने लागिरह्यो।  

कोरोना संक्रमित विरामीको उपचारमा रहँदा सुरुमा के कस्तो हुने हो भन्ने अन्यौलता रहे पनि व्यवहारले मानिसलाई धेरै कुरा सिकाउने रहेछ। यो एउटा दैनिकी बन्दै गयो। आइसोलेसनमा प्रवेश गर्नु अगाडिका सबै त्रास र भ्रमहरु कम हुँदै गए। त्यहाँभित्र मैले छुट्टै संसार पाउन थाले। मात्र एउटा ध्यान आउँथ्यो विरामीलाई कसरी सजिलो बनाउने भन्ने। उपचारका आफ्नै गाइडलाइनहरु हुन्छन्। तिनको हरेक स्वास्थ्यकर्मीले पालना गर्नै पर्छ। आफै सुरक्षित हुन सकिएन भने विरामीको उपचार कसले गर्छ? यसैले आफ्नो सुरक्षामा ध्यान दिँदै विरामीको उपचारमा खटियौं। अस्पतालले होटलमा बस्ने व्यवस्था गरेको थियो। तर समाजमा स्वास्थ्यकर्मीहरु नै कोरोना फैलाउने ‘मेसिन’ जसरी भैरहेका हल्लाहरुले मन अमिलो बनाउँथ्यो। घर परिवारका सदस्यहरुलाई पनि मानिसहरुले सुनाउने कुराले पीडा दिन्थ्यो। होटलमा कोठामा बसिरहँदा एन्जाइटी हुनु स्वभाविक थियो। बाहिर छत तिर निस्कदा मानिसहरुले ठूलो ठूलो आखाँले हेर्दा मन अमिलो हुन्थ्यो, लाग्थ्यो मानिस विरामी भएपछि जाने त अस्पताल नै हो तर किन यस्तो अबुझ व्यवहार? काठमाडौ, चितवनमा स्वस्थ्यकर्मी माथि भएका दुर्व्यवहारका घटनाले खिन्न बनाउँछ। कस्तो नबुझेको होला भन्ने लाग्छ। पढेलेखेका मानिसहरुले नै यस्तो गर्दा हामी गलत ठाउँमा नै जन्मियौं कि जस्तो पनि छ।  

पहिलो ड्युटि सकिएपछि एक हप्ता होटलमै क्वारिन्टिन बस्यौं। फेरी पिसिआर परीक्षण गरेपछि ४/५ दिन घर गएर बसेपछि विरामीको उपचारमै फर्कियौं। सुरुको दिनमा डर लागे पनि अब त्यस्तो हुन छोडिसकेको थियो। यो आफ्नो नियमित काम भइरहेको थियो। योबीचमा मानिसहरुले काम छोडिदेउ भन्ने सुझाव पनि दिए तर मेरो मनले त्यसो गर्न मानेन। ‘आखिर हामीले पढेको के का लागि ? यस्तै अप्ठ्यारो आउँदा कामबाट भागियो भने अरुलाई त उत्तर दिइएला तर आफ्नै आत्मालाई भने उत्तर दिन सकिँदैन’ भन्ने लागिरह्यो। हामीले पढेको सजिलो समयका लागि मात्र होइन सेवाका लागि हो। मानिसहरुले जागिर भएपछि गर्नै पर्यो भन्ने पनि गर्छन् तर जागिर छोड्न मिल्छ हामीले गरेको सेवा हो भनेर बुझिदिनुपर्छ। जस्तो अप्ठ्यारो आइपरे पनि सेवा गर्छु भन्ने प्यासनका साथ यो क्षेत्रमा आउने गर्छन् स्वास्थ्यकर्मीहरु।
सुरुका दिनमा कोभिडका विरामीको अवस्था कस्तो हुन्छ भन्ने लागेको थियो। किन भने यस्ता विरामीबारे न पहिले सुनिएको थियो न देखिएको। ति विरामीलाई कसरी म्यानेज गर्ने भन्ने लागिरहेको थियो। सबै कुरा म्यानेज भइरहेको थिएन त्यसलाई हामी स्वास्थ्यकर्मीले ह्यान्डल गर्न लाग्यौं। विरामीहरु पनि के हो कसो हो भन्नेमा त्रासमा थिए। उनीहरुलाई शान्त्वना पनि दिनुपर्ने थियो।  

यो बिचमा साथीहरुसँग पनि भेटिएन। घरमा पनि रिक्स छ भन्ने कुरा हुने नै भयो। आमा बुवाहरु पनि आत्तिनु भयो। तर उपचारमा लागिरहँदा त्यहाँ अर्कै दुनियाँ थियो। विरामीलाई कसरी बोर नहोस्। के गर्दा ठिक हुन्छ भन्ने मात्र खोजी हुन्थ्यो। आखिर एक नर्स भएको नाताले हामीले त्यो खोज्नै पर्छ गर्नै पर्छ।  

पीपीई लगाएपछि सुरक्षित भइन्छ भन्ने मनोविज्ञानले काम गर्छ। तर पीपीई खोल्दा रिक्स हुन्छ भन्ने पढेका थियौं। त्यतिबेला अली डर लाग्थ्यो। यसलाई पनि म्यानेज गर्दै लगियो।  

अहिले ‘फ्रन्टलाइन’ मा बसेर स्वास्थ्यकर्मीले विरामीको उपचार गरिरहेका छन्। स्वास्थ्यकर्मीको मनोवल कमजोर पार्ने काम कहिँकतैबाट पनि गर्नुहुँदैन। स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिनै पर्छ किन भने उनीहरुनै विरामी भए भने संक्रमितको उपचार कसले गर्ने ? समाजमा सबै एकै किसिमका मानिस हुँदैनन्। सबैलाई कुरा बुझाउन पनि सकिँदैन तर बुझेका मानिसहरुले नै स्वास्थ्यकर्मीको घरमा लगेर ब्यानर झुण्डाउने, स्वास्थ्यकर्मी बसेका होटल घेराउ गर्ने गर्दा हामीले कसका लागि रिस्क लिइरहेका छौं जस्तो लाग्छ।  

समाजमा भइरहेका क्रियाकलाप हेर्दा स्वास्थ्यकर्मीलाई कोरोनाको भन्दा समाजको डर धेरै हो कि जस्तो लाग्न थालेको छ। कोरोनाले सबैलाई त्रसित बनाएको सत्य हो तर यो त्रासले मानवीयता विर्साउनु हुँदैन।

मानिसको बोलीमा मल्हम पनि हुन्छ बिष पनि। हामी फ्रन्टलाईनमा काम गर्नेहरुलाई तपाईको एउटा मुस्कानले पनि उर्जा दिन्छ। लामो समय काम गर्दाको तनावलाई तपाईहरुको हाँसो र मिठो बोलीले कम गरिदिन्छ। कोरोना स्वास्थयकर्मीको प्रयासले मात्र नियन्त्रण हुँदैन तपाईहरुको पनि साथ चाहिन्छ। आउनुस् यो महामारीकाविरुद्ध हामी सबैले हातेमालो गरौं।  

(अधिकारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा कार्यरत छिन्)

 

 

 

 

 

 

 

 

 

प्रकाशित: १२ भाद्र २०७७ ०६:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App