१ जेष्ठ २०७८ शनिबार
ब्लग

कोरोनाले जुम्ला पुर्‍याएपछि...

स्वास्थ्यकर्मीको अुनभव

गणेश बिष्ट ‘सुमनसर

गणेश बिष्ट ‘सुमनसर’

मध्यपश्चिम तथा सुदूरपश्चिमका जनताले रोजीरोटीका लागि भारत जाने परम्परा उहिलेदेखिकै हो। यो वर्ष कोरोना संक्रमणका कारण कर्णाली प्रदेशका कैयौ नेपाली दाजुभाइ भारतबाट फर्किसकेका थिए। उताबाट फर्केका ती लाहुरेहरू आफूलाई कतै कोरोना भाइरसले छोएको त छैन् भन्ने शंंका मनमा बोकेर पर्खिरहेका थिए पिसिआरको नतीजा। यसरी पिसीआर नतीजाका लागि पर्खिबसेको २८ दिन हुँदासम्म काठमाडौंबाट रिपोर्ट नआइदिँदा म दोस्रोपल्ट जुम्ला पुग्दा तिनीहरू (जो ४० दिनदेखि अहिलेसम्म क्वारेन्टिनमा बसेका छन्) कान फुट्ने गरी गालीको वर्षा गरिरहेका थिए। तिनले बर्साएको गालीलाई मैले स्वभाविक नै ठानिरहेँ।  

जेठ २५ गते ४८७ जनाको पिसिआर नमुना संकलन गरिएको क्षण निकै गौरव महसुस गरेको थिएँ। तर बुझ्दै जाँदा त्यो नतीजाले म स्वयंलाई राज्यबाट घेराबन्दी गरेको महशुश गरेँ। राज्यका अधिकारीहरू निर्देशिकाका शब्दशब्द केलाएर गर्नु नहुने काम ग-यो भन्न थाले। तीनले भनेका थिए–भारतबाट आएका सबैको स्वाब संकलन नगरेर शंका लागेकाको मात्र गर्र्नु।  

तिनलाई थाहा थिएन सबै कुरा जसरी जागिर खानुअघि त्यस्तै अनभिज्ञ थिए म धेरै कुरामा। सोच्दा हुन् स्वाब संकलकले पहल नगरिदिँदा नतीजा आउन ढिला भएको हो भनेर।  

राज्यको मानो खाइरहेका जनताको सेवक भएका कारणले जनता बचाउने दायित्व अन्तर्गत पहिलोपल्ट जेठ २५ गते ४८७ जनाको पिसिआर नमुना संकलन सकुशल गरिएको क्षण निकै गौरव महसुस गरेको थिएँ। तर बुझ्दै जाँदा त्यो नतीजाले म स्वयंलाई राज्यबाट घेराबन्दी गरेको महशुश गरेँ। राज्यका अधिकारीहरू निर्देशिकाका शब्दशब्द केलाएर गर्नु नहुने काम ग¥यो भन्न थाले। ती अधिकारीले भनेका थिए–भारतबाट आएका सबैको स्वाब संकलन नगरेर शंका लागेकाको मात्र गर्र्नु।  

त्यतिबेला मेरो मनमा एउटा सोच विकास भएको थियो–यो राज्यको दानापानी छाडेर कुनै एकान्तबासमा जाउँ र साधकीय जीवन बिताउँ। तर, यो काम सोचेजस्तो सजिलो थिएन मेरा लागि। पछि आफूलाई सम्हाल्नु प¥यो कृष्णहरि बरालका गीतका यिनै पंक्ति सम्झेर—भागेर जाउँ कुन ठाउँ जाउँ मान्छे नमर्ने शहर हुँदैन।  

असार १२ गते पुनः पुगियो जुम्ला। स्वाब परीक्षणका लागि स्वाब संकलन गर्ने जमर्को गरियो यद्यपि  पुराना नमुनाहरू काठमाडौंको जनस्वास्थ्य प्रयोगशालाका ल्याबहरूमा थान्को लागेर बसेका थिए। भर्खरै भारतबाट आएका र पुराना पोजेटिभ आएका अनि तिनका आफन्त गरी १५८ जनाको स्वाब संकलन गर्न दिनभर लाग्यो। साथमा थिए नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत वडा अध्यक्ष र सवारीचालक राम भाइ।

१० वर्षकी बालिकाले २५ किलो चामल बोकेर कयौं पटक ओहोरदोहोर गर्दै थिइन्। पसीनाले निथ्रुक्क भिजेका ती कालिकोटे बालबालिकासँग भलाकुसारी गर्ने अवसर मिलेन। समय हाम्रा लागि प्रतिकुल बनिरह्यो।  

यसबेला जुम्ला जानु मेरा लागि रहर नभइ बाध्यता थियो। डोटी, अछाम, दैलेख, कालिकोट हँुदै जुम्ला पुगियो। कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिस्टार विश्वराज काफ्ले  मेडिकल डाइरेक्टर डा. मंगल रावल र उहाँको सम्पूर्ण टिमले हामीप्रति देखाएको आतिथ्यबाट हामी निकै खुसी बन्यौं। मन हलुका भयो। रमणीय भूगोल र सत्कारका कारण छुट्टै आनन्दको अनुभूति भयो।

मेरो जीवनका पाइलामा जुम्ला यात्रा अध्ययन र अनुसन्धानका लागि ऊर्जाशील बनेको छ। मैले धेरै बिषयवस्तु अध्ययन गर्ने अवसर प्राप्त गरेको छु। स्मृतिपटलमा मानवीय वेदनाले भरिएको कालिकोटको गाथा कैद गरेको छु। जुम्लाको भूगोल, संस्कृति र सभ्यताका सतही चित्र नजरले हेरेको छु। श्रमिकबाट मालिक भई उभिएका मानवसँग साउती गरेको छु।  

मेरा टोली नेता उपप्रमुख संगिता भण्डारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी उपाध्याय, वडाध्यक्ष मनोरथ खडायत र भाइ राम ओझासँगै गरेको यात्राको दोस्रो पाटो लेख्ने नै छु। यादगार बनेर सम्झनामा बसिरहेकै छन् ती सबै मनहरू र यात्राका केही अरू रोचक पक्ष। लक्ष्मी सर (जसको घर  जुम्लामै छ) बिनाको यात्रा अधुरो हुन्थ्यो उहाँलाई खुला हृदयले साधुवाद!  

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब राखिसकेपछि ती निर्माण गरिएका विकास संरचना र प्राविधिक जनशक्तिले मनमा निकै कौतुहलता पैदा हुन थाल्यो। कालिकोट र दैलेखका एम्बुलेन्सहरू बिमारी ल्याई जुम्ला आउँदै गरेको देखें। ‘सुइना कर्णालीका’ नामक नाटकमा परिकल्पना गरिएझैं सम्झेँ ‘आज मैले डडेलधुराबाट स्वाबको पेटी मात्र पु¥याएको छु। भोलिका दिनमा अप्रेसन गर्नुपर्ने बिमारी समेत जुम्ला पु¥याउनु पर्नेछ। नाटकमा हजुरबुवाले देखेका सपना पूरा हुन नसके पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका संचालकले देखेका सपना पूरा हँुदै छन्। नेतृत्व तहमा इच्छाशक्ति हुँदा असम्भव के नै छ र!  

हुनलाई त हाम्रो डडेल्धुरा अस्पताल पनि केन्द्रीय अस्पताल नै हो तर कमजोर व्यवस्थापन र डाक्टर जान नमान्ने कारण सुविधायुक्त हुन सकेको छैन। यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेपछि यसका परिकल्पनाकार र व्यवस्थापकलाई हृदयदेखि नै नमन गरें।  

कालिकोटको भूगोल हेर्दा लाग्थ्यो आकाश छुने गरी गगनचुम्बी पहाडहरू ठिङ्ङ उभिएका छन् विनाहलचल। ती पहाड हेर्दा त डडेलधुराका पहाडहरूलाई समथल तराईको रूपमा प्रस्तुत गरिदिए हुन्छ। कालीकोटेहरूले छिनाघनले पहाड फोड्दै बाटो बनाइरहेको दृश्यले यात्रुलाई एकछिन अडिएर हेर्न बाध्य तुल्याउँथ्यो। पहाडको खोचमा तीला नदी सेती नदीमा मिसिने दोभान सेरीगाडको पुलमा कालिकोटका बालबालिका, वृद्धा र जवानहरू हुम्लाका लागि पुलपारि सामान पु¥याउँदै गरेको दृश्यले मन भतभती पोल्थ्यो। १० वर्षकी बालिकाले २५ किलो चामल कयौं पटक ओहोरदोहोर गर्दै थिइन्। पसीनाले निथ्रुक्क भिजेका ती कालिकोटे बालबालिकासँग भलाकुसारी गर्ने अवसर मिलेन। समय हाम्रा लागि प्रतिकुल बनिरह्यो।  

अचेल स्मृतिपटलको एक कुनामा ती बालबालिकाको चित्र नाचिरहन्छ। यता शहरीया घरानका बालबालिकाहरू पब्जीमा मस्त र व्यस्त रहेको देख्दा सुकिलामुकिलाका लागि सन्तान भन्न मलाई कुनै गाली पर्दैन। राज्य र राज्य बाहिरका निकायहरू बालबालिकाको अधिकार फलाप्दै आफ्नो गुजारा चलाउनेहरू सेरीगाडमा पापी पेटका लागि श्रमपसीना बेच्दै गरेको हेर्नका लागि पुग्छन् कि पुग्दैनन्?  

मानवीय जीवनको मूल्य बुझ्न र श्रमको मिठास बुझ्न एकपल्ट पुग्नुपर्ने ठाउँमध्येको हो सेरीगाड पनि। यस्ता सेरीगाड थुप्रै ठाउँमा होलान्। सेरी गाडमा काम गर्ने बालबालिका पनि थुप्रै होलान्। श्रमिक बालबालिकालाई क्यामेरामा कैद गरेर डलरको खेती गर्नेप्रति मेरो भन्नु केही छैन, तर एउटै कुरा अधुरो रह्यो ती बालबालिकासँग जीवनका केही पल, केही दिन बिताउने। 

मानवशास्त्री डोरबहादुर बिष्ट जुम्लाबाटै लुप्त भए तर उनका विचार सदैव जीवित रहन्छन्। जुम्लामा उनको कुनै स्तम्भ बनोस्। उनका नामबाट कुनै राजमार्ग बनोस्। डोरबहादुरलाई बिर्सेको जुम्ला मेरा लागि अधुरो जुम्ला हुन पुगेको थियो।     

जुम्लाको भूगोल साह्रै सुन्दर छ। तीला र हीमा नामै सुन्दर छन्। जुम्ल्याहा पहाड सुन्दर छन्। त्यहाँका मानिस सुन्दर छन् त्यहाँको श्रम सुन्दर छ। आँखाले देखेसम्म र मनले बुझेसम्म सुन्दर छन्, मननीय छन् सबै कुरा। सुन्दरताको बीचमा केही कुरा खोजिरहेको थिएँ। केही कौतुहलता बाँकी नै थियो। संस्कृतिले सुसज्जित र नेपाली भाषाको उदगम सिंजा हेर्न, चुम्न र लडीबुडी खेल्ने रहर पूरा हुन सकेन। रारा भेट्न डाँडा उक्लिने जमर्को नगरेका होइनौं तर, पटमारामा बाटो बिग्रेका कारण फर्कियौं। पटमाराको भूगोल र त्यहाँका बालबालिकाले मनै लोभ्यायो। राराको बाटोमा परेको उर्थु जुन पात्रासी गाउँपालिकामा पर्दछ, निकै सभ्य र आकर्षक बजार देखियो।

डिल्लीचौर (जुन मैले देख्न पाइनँ) संगको मेरो छुट्टै नाता थियो। डिल्लीचौर पर्थुबाट हिँडेर एक घण्टा जतिमा पुगिदो रहेछ। नेपालका महान् मानवशास्त्री एवं मेरा श्रद्धाका पात्र डोरबहादुर विष्ट बसेको ठाउँ हो डिल्लीचौर। विष्टलाई जुम्लाले बिर्सेको रहेछ।

डोरबहादुरको आँगनीमा बसेर डिल्लीचोरलाई श्रद्धालु नयनले हेर्न पाइनँ। लक्ष्मीसरले डोरबहादुरलाई ५ पटक भेटेको र नाता जोडेको कुरा सुनाउँदा उहाँसँग पनि भावनात्मक नाता जोडिएको महसुस भयो। डोरबहादुर तिनै महान् मानवशास्त्री हुन् जसको विचारको म एक विद्यार्थी।  

आधुनिक माक्र्सवादलाई सामाजिक जीवनसँग जोडर व्यावहारिक बिचार अनुसन्धान गर्ने नेपाली समाजशास्त्री, मानवशास्त्रीलाई अन्तराष्ट्रिय जगतले समेत महत्व दिएका छन्। ब्याकी पियर्स, क्यामोरोन जोन, सडन डेभीडका माक्र्सबादी विचारसंगै डोरबहादुरका आलेख पढेको छु। माक्र्सवादी विचार पढेर मात्र हुँदो रहेनछ। माक्र्सवादी बिचारलाई ब्यवहारिक बनाउन गाह्रो छ जो डोरबहादुरले सजिलै गरेका छन्। डोरबहादुर जुम्लाबाटै लुप्त भए तर उनका विचार सदैव जीवित रहन्छन्। जुम्लामा डोरबहादुरको कुनै स्तम्भ बनोस्। डोरबहादुरका नामबाट कुनै राजमार्ग बनोस् भन्ने चाहना हो। त्यो अभाव जुम्लामा खड्केको छ। डोरबहादुरलाई बिर्सेको जुम्ला मेरा लागि अधुरो जुम्ला हुन पुगेको थियो।  

बालबालिकाहरू र गर्भवती महिला कुपोषणका शिकार छन् र पनि सुन्दर छन्। स्याउजस्ता गाला भएका जुम्ली नानीबाबुहरू सबै आआफ्नो काममा ब्यस्त छन्। सबैलाई खानु छ, पेट भर्नु छ। सबैले दैनिकी चलाउनु छ। न त्यहाँ राज्य छ, न त्यहाँ सरकार छ। हातखुट्टा र पौरखमा बाँचेका जुम्लीलाई सहयोग गर्ने कुनै राज्य पुग्ने छाँट छैन। 

हुनलाई त हाम्रो डडेल्धुरा अस्पताल पनि केन्द्रीय अस्पताल नै हो तर कमजोर व्यवस्थापन र डाक्टर जान नमान्ने कारण सुविधायुक्त हुन सकेको छैन। यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेपछि यसका परिकल्पनाकार र व्यवस्थापकलाई हृदयदेखि नै नमन गरें। 

हामी बसेको कान्जिरोवा होटलका मालिक नृप लामा मुगुमा जन्मिएर बाल्यकालमै टुहुरो भएपछि जुम्ला झरेका रहेछन्। बाहिरबाट हेर्दा ६५ वर्ष जतिका देखिने नृप दाइसँग बात मार्दा सोधेनछु उमेर। बालापनमा अर्काको घरमा शरण लिएर हुर्किएका नृप दाइले टुरिस्ट भरिया बनी काम गरको ४० वर्ष भएछ। टुरिस्टका सामान बोक्ने भरिया भएका बेला नेपालभित्र सबै विदेशी पर्यटक जाने जिल्ला घुमेका रहेछन उनले। नेपालमा केही वर्ष टुरिस्ट गाइड समेत बनेका उनले भारत र चीनको सीमाना लदाखमा जीवनका ३० वर्ष भरिया बनेर बिताएपछि जुम्ला सदरमुकाममा कान्जिरोवा होटल स्थापना गरेका छन्। भरिया जिन्दगीबाट जोडेको सम्पति १० करोड माथिको हुनुपर्छ। टुहुरो अवस्थाका बालकले पनि मेहनत गर्ने हो भने आर्जन गर्न सकिने ठाउँ धेरै छन् भन्ने उनले प्रमाणित गरेका छन्। जुम्लाका होटलको स्तर हेर्दा नृप दाइको होटेल स्तरीय छ भन्नमा कुनै कुन्जुस्याइँ गर्नु छैन। श्रम र पसीना बेचेर कमाएको सम्पत्तिमा मोह हुन्छ, मेहनेत हुन्छ र आशा पनि हुन्छ।  

जुम्ला भ्रमणमा केही दुःख बोकेका कथा, केही आशा बोकेका भूगोल र भविष्यको प्रतीक्षा गरिरहेका मनहरू भेटेको छु। राज्यको आँखा यदि सही र सत्य छ भने ती मन र भूगोलले मागेका विषय पूरा गर्नुपर्ने हुन्छ जुन अहिलेको माग र आवश्यकता पनि हो।

 (विष्ट अमरगढी नगरपालिका, डडेल्धुराका स्वास्थ्य शाखा प्रमुख हुन्। )

प्रकाशित: २८ असार २०७७ ०७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?