३० श्रावण २०७७ शुक्रबार
ब्लग

कोरानाजस्तै वैरी घरधनी

लकडाउनका कारण पर्यटनकर्मी बिस्थापित

शर्मिला न्यौपाने

हाम्रो पोखरा महानगरपालिका वडा नं ६ को कार्यालय बैदाममा छ। पर्यटकीय हबमा भएकाले त्यहाँ हरेक दिन भीडभाड हुन्छ। केही दिनअघि घरजग्गा कर बुझाउन म त्यहाँ पुग्दा बालबालिकालाई खोप लगाइँदै थियो। खोप लगाउँदा चिच्याइरहेका थिए बालबालिका।  

म पनि निकैबेर बाहिर बसेर त्यहाँको वातावरण र मान्छेका भावभंगी अवलोकन गरिरहेकी थिएँ। एकछिनमा मैले चिनेका दाइहरूले अरू दुई जनासँग घरभाडाको विषयमा चर्काचर्की गरेको सुनें। घरभाडामा लिएर होटल चलाउँदै आएका दाइहरू र घरभेटीबीच विवाद भएको रहेछ।  

उनीहरूले त्यही वडा कार्यालय नजिकै राम्रोसँग होटल चलाउँदै आएका थिए। ठूलो रकम एडभान्स दिएर र महंगो भाडा तिरेर उनीहरूले होटल व्यवसाय चलाएका हुन्। तर, कोरोना महामारीले मुलुक ठप्प भएसँगै उनीहरू समस्यामा परे। त्यसैले घरधनी र भाडावालबीच कुरा नमिलेर वडा कार्यालयमा आएका रहेछन्।  

घर धनीहरू निर्दयी बनेको देखियो। पैसा तिर्न नसके छोडेर जाऊ भन्दैछन् उनीहरू। ‘तिम्रो एडभान्स र मेरो घरमा लागेको लगानी फिर्ता दिन्न’ भन्दैछन्। यो कहाँको मानवता हो? के मान्छे अजम्मरी छ? के मर्दा छातीमा टाँसेरै लाने हो र सम्पत्ति?

कोरोनामय वातावरणमा व्यवसाय चलाउने अवस्था नआएकाले आफ्नो लगानी र एडभान्सस्वरूप दिएको रकम फिर्ता पाऊँ भन्ने माग ती दाइहरूको रहेछ। तर घरधनीले लगानीको उचित मूल्य नदिने र एडभान्स पनि किस्ताकिस्तामा दिने, त्यो पनि पूरा फिर्ता नर्गने अडान लिएछन्।  

यस्तो विवाद बोकेर वडा कार्यालय र होटल संघमा धाउनेहरूको भीड लाग्न थालेको छ। होटल संघको कार्यालयमा पुग्नेहरू पनि धेरै छन्। मैले एकछिन उनीहरूको विवाद सुनें। आफ्नो काम पनि भएन। अनि घरतिर फर्कें।  

फर्कदैँ थिएँ, एउटा सटर अगाडि भीड देखें। केही समयअघि बनेका सटरमा तरकारी, फलफूल, खाद्यान्नदेखि फेन्सी पसलसम्म थिए। जे जस्तै महामारी, विपत्ति आइलागे पनि सबैभन्दा ठूलो काम भनेको त बाँच्नु नै रहेछ। बाँच्नका लागि खानुपर्छ। त्यसैले खाद्यान्न, तरकारी र फलफूलका दोकान त सधैं चल्छन्। हुँदाखाने र हुनेखाने सबैले जसरी पनि खानु त प-यो नै। खाद्यान्न, फलफूल, तरकारी र औषधिको कारोबारबाहेक अन्य व्यवसाय लकडाउन खुकुलो रहेको अवस्थामा पनि शून्यमै छ।

कोराना कहरमा थलिएका रहेछन् ती फेन्सी पसले। नयाँ व्यवसायमा स्थापित हुन संघर्ष गर्दागर्दै कोरोनाले लपेट्यो। उनले ठूलो खर्चमा पसल सजाएका थिए। फेन्सी पसल भनेपछि देख्दैमा आकर्षक हुनैप¥यो। तीनले सजावटका साथै भुइँमा टायल पनि टाँसेका रहेछन्। जब कोरानाले आक्रान्त बनायो तब लकडाउन सुरु भयो। जनजीवन ठप्प भयो। विचरा ती फेन्सी व्यवसायी विस्थापित बन्न पुगे।  

दुईचार पैसा कमाउँला र परिवार पालौंला भनेर भएभरको पुँजी लगानी गरेर फेन्सी दुकान खोलेका थिए। अब चुर्लुम्मै डुबे। तर घरवालाको विवेकमा ताल्चा लागेको देखियो। तिनले सटर भाडामा छुट वा सहुलियत दिएर आत्मबल बढाउनुपर्ने तर उल्टै तनाव दिएछन्। विस्थापित भएका पसलेले घरधनीसँग आफूले टायल टाँस्न खर्च गरेको रकमको केही प्रतिशत फिर्ता माग्दा समेत घरधनीले १ पैसा पनि दिन्न भनेछन्। वादविवाद बढेपछि पसलेले आफूले टाँसेका टायल फुटाइदिएछन्। अनि प्रहरी आएर भन्यो, ‘तपाइँहरू मिल्नुस्।’  

हैन कसरी मिल्ने हो?  

पोखरामा यस्ता धेरै घटना छन्। आम्दानी ठप्प हुँदा धेरै मनोरोगी भैसकेका छन्। यस्तो बेला घर धनीले सद्भाव देखाउनुपर्छ। महामारीमा बाँच्नु नै ठूलो कुरा हैन र? कोरोनाअघि त सबैले एडभान्स र भाडा बुझाएकै थिएन नि। आज आम्दानी शून्यमा झरेका बेला व्यवसायीलाई तनावै तनाव छ। बैंकको व्याज, किस्ता, घरायसी खर्चले टाउको दुखाउँदैछ। घरधनीहरूको पनि ऋणधन होला। ऋण भन्ने कुरा त भई नै रहन्छ। त्यसैले घरधनीले आफ्नो घरमा बस्नेहरूलाई परिवार सम्झनु प¥यो। र, भन्नुप¥यो, ‘भोकै बस्नु हुँदैन । बाँडीचुँडी खाऔं। मिलेर बाँचौं।’  

व्यवहारमा घर धनीहरू निर्दयी बनेको देखियो। पैसा तिर्न नसके छोडेर जाऊ भन्दैछन् उनीहरू। ‘तिम्रो एडभान्स र मेरो घरमा लागेको लगानी फिर्ता दिन्न’ भन्दैछन्। यो कहाँको मानवता हो? के मान्छे अजम्मरी छ? के मर्नु पर्दैन? के मर्दा छातीमा टाँसेर साथमै लाने हो र सम्पत्ति?  

हरेक दिन व्यवसायबाट विस्थापित हुनेको लर्को देखिन्छ। आज विस्थापित भएकाहरू भोलि यही व्यवसायमा नफर्कन सक्छन्। नयाँ मान्छे आएर पर्यटकीय क्षेत्रमा लगानी गर्ने अवस्था छैन। वर्षौंदेखि पोखराको पर्यटनमा लगानी गरेर यहाँको घरजग्गाको भाउ बढाउन सहयोग गर्नेहरूलाई अफ्ठेरो परेका बेला पेल्नु अन्याय हो। यतिबेला हरेक घरधनीले बहालमा बस्नेहरूको मनोवैज्ञानिक उपचार गर्नुपर्छ। मन, वचन र कर्मले उनीहरूको घाउमा मलमपट्टी लगाउनुपर्छ।  

सबै घरधनी अव्यवहारिक भएका हैनन्। पोखरामा पनि घरभाडामा सहुलियत दिने, ६ महिनाका लागि पूरा छुट दिने मनकारी घरधनी पनि छन्। यस्तो मानवीय गुण भएका घरधनीलाई मेरो सलाम!  

समस्या पोखरामा मात्र होइन, मुलुकभर छ। काठमाडौंको पर्यटकीय बासस्थल ठमेलको अवस्था पनि त्यस्तै छ।  

सबै घरधनी अव्यवहारिक भएका हैनन्। केहीकेहीले घरभाडामा ५० प्रतिशतसम्म छुट दिएका पनि छन्। यस्तो सुखद खबर सुनिरहन मन लाग्छ। पोखरामा पनि घरभाडामा सहुलियत दिने, ६ महिनाका लागि पूरा छुट दिने, त्यसपछि पनि ५० प्रतिशत मात्र लिन्छु भन्ने मनकारी घरधनी पनि छन्। यस्तो मानवीय गुण भएका घरधनीलाई मेरो सलाम!  

‘बत्ती र पानीको शुल्क मात्र तिर्नुस्। अवस्था राम्रो भएपछि पूरा शुल्क दिनु होला’ भन्नेहरू पनि छन्। यसरी सहुलियत दिनेको संख्या भने ठूलो छैन।  

पोखरामा भाडाका घरमा होटल चलाउनेहरूमध्ये करिब ४० प्रतिशतले व्यवसाय छोडिसकेको अवस्था छ। धेरै घर र सटर खाली भइसके। आगामी दिनमा पर्यटन क्षेत्रमा अनुभवी व्यक्तिको अभाव हुनेछ। श्रमजीवी विस्थापित हुने र पुँजीवादी स्थापित हुने वातावरण बन्दैछ।  

कोभिड–१९ ले सबैतिर असर पारेको छ। केही दिनअघि सिमरा बस्ने दिदीसँग कुरा हुँदा भन्दै थिइन्, ‘लकडाउनअघि नै छोराछोरी घर आए। सामान सारिएन चार महिना भयो कोठाको भाडा दिएको छैन, घरधनीले फोन गर्लान् भनेर डराएर बसेका छौं।’

पोखरामा भाडाका घरमा होटल चलाउनेमध्ये करिब ४० प्रतिशतले व्यवसाय छोडिसकेको अवस्था छ। आगामी दिनमा पर्यटन क्षेत्रमा अनुभवी व्यक्तिको अभाव हुनेछ।  

धेरैको अवस्था यस्तै छ। सामान्य ज्याला मजदूरी गर्नेहरूदेखि अरबौं लगानी गर्ने व्यवसायीका पीडा पनि आआफ्नै छन्।  प्रकृति र स्वरूप फरक हुन्। पर्यटन, हवाई क्षेत्र र यातायात प्रत्यक्ष रूपमा प्रभावित छन्। लाखौं मजदूर बेरोजगार बनेका छन्। भोकमरीको अबस्था सिर्जना भइसक्यो। व्यवसायी दैनिक खर्च र ऋण धान्न नसकेर व्यवसायबाट सधैंका लागि पलायन हुँदैछन्।  

लकडाउनमा अन्य समयको तुलनामा आत्महत्या गर्नेको संख्या बढेको छ। केही दिनअघि रामेछापका एक जना गाडी धनीले आत्महत्या गरे। बैंकबाट ऋण लिएर गाडी किनेका रहेछन् । ३ महिनादेखि गाडी चलाउन पाएनन्। कम्पनीले गाडी तानिदियो। उपाय केही देखेनन् र आत्महत्याको बाटो रोजेछन्। तिनका परिवारको अवस्था कस्तो होला?

आज धेरैलाई मनोवैैज्ञानिक उपचार चाहिएको छ। बेरोजगार, भोकमारी, ऋणको चिन्ता र डुब्दो व्यापारले धेरैलाई मनोरोगी बनाइसक्यो।  

सरकारले घरभाडा छुट दिनु भनेर घोषणा त ग¥यो तर व्यवहारमा लागु भएन। घरधनीलाई पनि त सरकारले करमा छुट दिनुपथ्र्यो। त्यस्तै बैंकमा ऋण हुनेलाई सहुलियत दिने व्यवस्था गर्दिने हो भने घरभाडा छुट भन्ने घोषणा प्रभावकारी हुन्थ्यो होला। 

समस्यै समस्यामा छौं हामी। यतिबेलाको सानो सहयोग, एउटा आश्वासन र सकारात्मक सोचले फेरि उठेर केही गर्छु भन्ने आत्मवल बढाउँछ। पहिला बाँचौं अनि समस्यासँग जुधौंला। अहिलेको अवस्थामा ‘चिन्ता नलिनु जे जस्तो पर्छ मिलेर सामना गरौंला’ भनेर हौसला दिनु नै ठूलो काम हो।  

आउनुस् हामी मानसिक स्वास्थ्यका विषयमा कुरा गरौं। सकिन्छ सबैलाई मद्दत गरौं। सकिँदैन कसैलाई हतोत्साही नबनाऔं।

झन्डै सय वर्षअघि फैलेको स्पेनिस फ्लुले करोडौंका ज्यान लिएको थियो। विज्ञानको राम्रो विकास भइनसकेका बेला धेरैले ज्यान गुमाउनुपरेको थियो। अहिले अवस्था त्यस्तो छैन। ढिलोचाँडो खोप र ओखती आउला। त्यसैले हामी कोरोनालाई जितेर फेरि आआफ्नो क्षेत्रबाट उठ्नुपर्नेछ। त्यसैले सकारात्मक सोचौं। पहिला आफू बाँचौं अनि अरूलाई बचाऔं।

प्रकाशित: २७ असार २०७७ ११:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App