८ वैशाख २०८१ शनिबार
ब्लग

कसरी गर्ने हस्तलिखित ग्रन्थको संरक्षण?

हस्तलिखित ग्रन्थ संरक्षण गरिँदै।

विदुर भट्टराई

नेपालमा हस्तलिखित ग्रन्थ परम्पराको इतिहास लामो छ। यस्ता हस्तलिखित ग्रन्थहरू धर्म, संस्कृति, इतिहास, भाषा, ज्ञान आदि वाहक सामग्रीका दृष्टिले महत्वपूर्ण छन्। यिनीहरूको अध्ययन तथा अनुसन्धानमार्फत देशको सामाजिक, सांस्कृतिक अवस्थाको वस्तुस्थिति बुझ्न सकिन्छ। त्यसैले यिनलाई देशकै आँखीझ्यालका रूपमा लिन सकिन्छ।  

नेपालको सन्दर्भमा यस्ता हस्तलिखित ग्रन्थहरू राष्ट्रिय अभिलेखालय, विभिन्न सरकारी, अर्धसरकारी वा व्यक्तिगत संग्रहालय, मठमन्दिर, विहार, गुम्बा आदिमा संग्रहित छन्। तिनलाई उचित र वैज्ञानिक तवरले संरक्षण गर्नु हाम्रो दायित्व पनि हो।

भौगोलिक अवस्थिति, मानव सृजित घटना तथा परिघटना, प्राकृतिक विपत्तिजस्तै भूकम्प, बाढीपहिरो, तापक्रम, हावापानी आदिको उतारचढाव, समयसापेक्ष उपयुक्त वैज्ञानिक ज्ञान, प्रविधि र सीपको अभावले वा यस्ता सामग्रीप्रतिको हाम्रो उपेक्षाले विभिन्न संग्रहमा रहेका ग्रन्थ नष्ट हुने अवस्थामा पुग्न लागेका छन्। जस्तो कि प्राचीन ग्रन्थ ताडपत्र एकदमै टुक्रिने वा भाँचिने प्रकृतिको हुन्छ। 

विदुर भट्टराई

हस्तलिखितग्रन्थ तथा ऐतिहासिक सामग्रीहरूको संरक्षण सम्बन्धी बटुलेका ज्ञान, सीप तथा अनुभवका आधारमा केही कुरा गर्दैछु।  

म वर्षौंदेखि हस्तलिखित ग्रन्थसँग सम्बन्धित विषयमा अध्ययनअनुसन्धान गर्दै आएको छु। नेपाली तथा भारतीय हस्तलिखित ग्रन्थका विषयवस्तु, इतिहास, संस्कृति, परम्परा, भाषा आदि विषय मेरा अनुसन्धानका केही क्षेत्र हुन्। मैले अनुसन्धान क्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुस्तकालय, संग्रहालय आदि अवलोकन गर्न पाएँ। त्यहाँको संरक्षण, व्यवस्थापनसम्बन्धी थोरै भए पनि देख्ने र बुझ्ने अवसर पनि प्राप्त गरेको हुँदा त्यसले मलाई हाम्रा पुरातात्विक तथा ऐतिहासिक सामग्रीको वैज्ञानिक संरक्षण गर्नुपर्छ भन्ने विषयले झकझक्याएको छ।  अझ २०७२ सालको भूकम्पपछि त यस्ता ऐतिहासिक सामग्रीहरूको जतिसक्दो चाँडो उपयुक्त संरक्षण र व्यवस्थापन अपरिहार्य देखिएको छ।

केही समयअघि मेरो प्रयास र आशा सफूकुथिसँगको (आशा आर्काइभस्)को  सहकार्यमा दुईपटक हस्तलिखितग्रन्थ र पुरातात्विक सामग्रीको संरक्षणसम्बन्धी साप्ताहिक र पाक्षिक तालिम ‘केयर एण्ड कन्जरभेशन वर्कशप’ आयोजना गरिएको थियो। जसमा राष्ट्रिय अभिलेखालय, केशर पुस्तकालय, त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय, योगी नरहरिनाथ पुस्तकालय तथा संग्रहालय, डिल्लीरमण (कल्याणी रेग्मी स्मारक पुस्तकालय, राष्ट्रिय संग्रहालय आदिका प्रतिनिधिहरू पनि सहभागी भएका थिए।

यसरी ग्रन्थहरू संरक्षण बक्समा राख्दा केही गरी कुनै कारणले -याक वा अध्ययन अनुसन्धान क्रममा वा एक स्थानबाट अर्को स्थानमा सार्दा व्यक्तिको हातबाट वा भूकम्प आदिको कम्पनले राखिएको ठाउँबाट भुइँमा झरेको खण्डमा पनि बक्सले केही हदसम्म त्यसभित्र रहेका हस्तलिखित ग्रन्थलाई टुक्रिन तथा च्यातिनबाट जोगाउन मद्दत गर्दछ।  

तालीमका उद्देश्यमा पहिलो, कसरी वैज्ञानिक, समयसापेक्ष, सामग्रीमैत्री ढङ्गले हस्तलिखितग्रन्थ तथा ऐतिहासिक कागजपत्रको संरक्षण गर्न सकिन्छ भन्ने सैद्धान्तिक तथा प्रयोगात्मक तालिम दिनु रहेको थियो। दोस्रो, त्यस्ता सामग्रीको संरक्षणप्रति जनमानसमा जनचेतना वृद्धि गर्नु र प्रचलित नवीन विधि तथा प्रविधिका बारेमा सुसूचित गर्नु थियो। त्यस्तै तेस्रो, युवा पुस्तालाई संरक्षणसम्बन्धी कार्यमा सहभागी गराई दक्ष बनाउनु पनि रहेको थियो।

तालीम आयोजक आशा सफूकुथि आफैंमा बोर्ड अफ ट्रष्टीद्वारा सञ्चालित सार्वजनिक अभिलेखालय एवं पुस्तकालय हो जहाँ नौ हजारभन्दा धेरै हस्तलिखित ग्रन्थ, कागजात, विभिन्न विधाका पुस्तक, पत्रपत्रिका इत्यादि संग्रहित गरी राखिएका छन्। जुन सन् १९८७ मा विधिवत उद्घाटन गरी सर्वसाधारण पाठक, अनुसन्धानकर्ता आदिका लागि सार्वजनिक रूपमा खुला रहेको छ। त्यहाँ रहेका हस्तलिखितग्रन्थ हिन्दू धर्म, बौद्ध दर्शन, साहित्य, व्याकरण, ज्योतिष, आयुर्वेद तथा अनुष्ठानादि विषयवस्तुसँग सम्बन्धित छन् भने भाषाका हिसाबले केही सामग्रीहरू संस्कृत, नेवारी, नेपाली, हिन्दी इत्यादिमा लेखिएका छन्। तिनीहरूमध्ये केही मिश्रित भाषा जस्तो कि संस्कृत, नेवारी, संस्कृत, नेपाली आदिमा लेखिएका छन्।  

पछिल्लो समयमा मेरो संयोजकत्वमा हाम्रो एउटा सानो समूह त्यही आशा सफूकुथिमा रहेका तर समयसापेक्षित वैज्ञानिक संरक्षणको अभावले पर्खाइमा  रहेका तिनैमध्येका केही हस्तलिखित ग्रन्थहरूलाई परम्परागत तरीका आत्मसात गर्दै वैज्ञानिक तवरले संरक्षण गर्न जुटेका छौं। यस कामका लागि हाम्रो एउटा दक्ष तथा तालीम प्राप्त नेपाली समूह छ।

अब केही संरक्षणसम्बन्धी कार्यको संक्षिप्त चर्चा गरौं । हाम्रो संरक्षण कार्यको दौरानमा सर्वप्रथम हामीले संरक्षण गर्नुपर्ने हस्तलिखितग्रन्थहरू सूक्ष्म तरीकाले अवलोकन गर्छौं। ती ग्रन्थको अवस्थाअनुसार गर्नुपर्ने कार्यको तह निर्धारण गर्छौं। त्यसपछि त्यहीअनुसार संरक्षणमा जुट्छौं। मिनिमल इन्टरभेन्सन स्ट्राटेजीको ‘न्यूनतम संरक्षणविधि’ आधारमा हाम्रो समूहले हस्तलिखित ग्रन्थहरूको संरक्षण कार्य गर्दछ। यसो गर्दा हामीले हस्तलिखित ग्रन्थलाई हानि पुग्ने कुनै किसिमको रासायनिक पदार्थ भने प्रयोग गर्दैनौं। हामीले गर्ने सबै कार्य ‘पुनः पहिलेको अवस्थामा फर्काउन सकिने’ तथा पूर्ण सामग्रीमैत्री हुन्छन्। जसले पाठक, अनुसन्धानकर्ता आदिलाई उनीहरूको अध्ययनअनुसन्धानको दौरानमा कुनै असर गर्दैन।  

यदि ग्रन्थको अवस्था सामान्य छ भने ग्रन्थको पत्रपत्रको धूलो आदि सफाइ गरिन्छ। यसका लागि कन्जरभेसन ब्रस र विशेष किसिमको कन्जरभेसन भ्याकुम प्रयोग गरिन्छ। जुन विशेषतः यस्तै प्रकृतिको संरक्षण कार्यका लागि बनाइएको हुन्छ। जसले सानाभन्दा साना धूलाका कणहरू तथा हानिकारक कीटाणु हटाउँछ। ९०।३ माइक्रोनभन्दा ठूलो हावाले वहन गर्ने सबै खाले कणहरू ९९।९७ प्रतिशतसम्म तान्न र ट्रयाप गर्न सक्छ। उदाहरणका लागि धूलाको सबैभन्दा सानो कणको आकार १ माइक्रोन बराबर हुन्छ। यस्तो सफाइ गर्दा पनि ब्रस, भ्याकुम तथा हातको चाल कसरी प्रयोग गर्ने भन्ने आफ्नै किसिमको विधि हुन्छ र तदनुरूप गर्नुपर्छ। यदि ग्रन्थको अवस्था एकदम संवेदनशील र जीर्ण छ भने विशेष किसिमको ट्रिटमेन्ट गरिन्छ। त्यसका लागि केही समय बढी संरक्षण खर्चिनुपर्छ।  

त्यसपछि हाम्रो अर्को महत्वपूर्ण काम हस्तलिखित ग्रन्थहरूको आकार, अवस्थाअनुसार एसिड(फ्री कस्टमाइज्ड अर्काइभल बक्स) अम्लीयपन नआउने ठ्याक्कै मिल्दो संरक्षण बक्स बनाउने हो। संभवतः नेपालमा यस्तो किसिमको एसिड फ्रि सादा पाता प्रयोग गरि अवस्था सुहाउँदो तथा ठ्याक्कै आकार मिल्ने गरी फरकफरक प्रकार र शैलीका संरक्षण बक्स आफैंले हातैले बनाउने हाम्रो पहिलो नेपाली समूह हुनुपर्छ। यस्ता संरक्षण बक्सहरू पूर्ण रूपमा नियममा रहेर बनाइन्छ। त्यसका लागि धैर्यता र लगनशीलता चाहिन्छ। यस्ता संरक्षण बक्सका धेरै फाइदा छन्। तीमध्ये यहाँ केही संक्षिप्त रूपमा चर्चा गरौं।  

जसरी मानिसले बाहिरी हावापानी, तापक्रम, आद्र्रता र प्रकाशको उतारचढाव महसुस गर्छ र उसलाई त्यसले प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्छ त्यसैगरी यी तत्वहरूले हस्तलिखित ग्रन्थ वा यस्ता सामग्रीलाई झट्ट असर पारेको नदेखिए पनि दीर्घकालीन अवधिमा तिनलाई प्रभाव पारिरहेको हुन्छ। तसर्थ यस्ता संरक्षण बक्सहरूले बाहिरी हावापानी, तापक्रम, आद्र्रता तथा प्रकाशको उतारचढावबाट  ग्रन्थादि वस्तुहरूलाई केही हदसम्म जोगाउन मद्दत गर्दछन्। त्यस्तै धूलो आदि वस्तुबाट जोगाउँछ। धूलो आफैंमा पनि कीटाणुको घर मानिन्छ। यो संरक्षण बक्स बनाउन प्रयोग हुने सामग्री आंशिक जल प्रतिरोधि भएको हुनाले पानी आदि तरल पदार्थबाट केही मात्रामा जोगाउँछ र यसलाई सरक्क पुछेर राख्न पनि सकिन्छ।

यस्ता बक्सहरू व्यवस्थापकीय दृष्टिले पनि महत्वपूर्ण हुन्छन्। जस्तै ग्रन्थहरूको आकार र अवस्थाअनुसार बनाइएका यस्ता संरक्षण बक्सलाई -याक आदिमा ठाडो वा तेर्सो पारी तथा एउटा माथि अर्को राखी भण्डारण गर्न सकिन्छ। जसले संरक्षण कक्षमा उपलब्ध स्थानको भरपुर मात्रामा सदुपयोग गर्न सकिन्छ। सामान्यतः पुस्तकालय वा अभिलेखालय जस्ता दिनप्रतिदिन पुस्तकादि सामग्री बढिरहने संस्थामा यस्ता बक्सको प्रयोगबाट ती संस्थामा उपलब्ध सीमित ठाउँ व्यवस्थापनका लागि भविष्यसम्म पनि सहयोगी सिद्ध हुन्छ र धेरैभन्दा धेरै ग्रन्थादि संरक्षण गरी राख्न सहज हुन्छ।

अर्को महत्वपूर्ण कुरा यसरी ग्रन्थहरू संरक्षण बक्समा राख्दा  केही गरी कुनै कारणले ¥याक वा अध्ययनअनुसन्धान क्रममा वा एक स्थानबाट अर्को स्थानमा सार्दा व्यक्तिको हातबाट वा भूकम्प आदिको कम्पनले राखिएको ठाउँबाट भुइँमा झरेमा पनि बक्सले केही हदसम्म त्यसभित्र रहेका हस्तलिखितग्रन्थलाई टुक्रिन तथा च्यातिनबाट जोगाउन मद्दत गर्दछ। तसर्थ यस्ता बक्सहरूले ग्रन्थहरूलाई सुरक्षित प्रयोग र सन्तुलनमा पनि सहयोग पु¥याउँछन्।  

त्यस्तै हाम्रो संरक्षणको सिलसिलामा हामीले प्रत्येक हस्तलिखित ग्रन्थको समयसापेक्षित र वैज्ञानिक तरीकाले विषयवस्तुगत तथा विवरणयुक्त क्याटलग पनि बनाउँछौं जसबाट पाठक तथा अनुसन्धानकर्तालाई अध्ययन तथा अनुसन्धानका लागि सामग्री खोज्न र पत्ता लगाउन सहज हुन्छ। प्रत्येक हस्तलिखितग्रन्थको संरक्षण बक्समा स्पष्ट देखिने गरी दुईतर्फ सूची नम्बर राखिन्छ। जसले ग्रन्थलाई ¥याक आदिमा ठाडो वा तेर्सो गरी राख्दा सूची नम्बर देखिन्छ। यसले गर्दा त्यस संग्रहालयका कर्मचारीलाई सामग्री व्यवस्थापनका दृष्टिले सहज हुन्छ भने चाहेको सामग्री सजिलै भेट्टाउन सकिन्छ। जसले पाठक वा अनुसन्धानकर्तालाई पनि उनीहरूको अनुसन्धानको समय बचतमा सहजीकरण गर्छ।  

हामीले वर्तमान पुस्ताका लागि त छदैंछ, भोलिका लागि पनि यस्ता ऐतिहासिक सामग्री सुरक्षित राख्नुपर्छ।  

अन्त्यमा, संस्कृत हस्तलिखित ग्रन्थहरूको प्रायः अन्त्यतिर पाइने हस्तलिखितग्रन्थको रक्षा गरौं  भन्ने आशयको संस्कृत श्लोकले पनि संरक्षण कार्यको महत्व अझ प्रष्ट बनाउँछ ।

जलाद्रक्षेत्तैलाद्रक्षेद्रक्षेच्छिथिलबन्धनात्।

मूर्खहस्तेनमांदद्यादितिवदतिपुस्तकम् ।  

अर्थात् हस्तलिखित ग्रन्थ भन्छ, ‘मलाई पानीबाट बचाऊ, मलाई तेलबाट बचाऊ, मलाई लूज बाइन्डिङबाट बचाऊ।अनि मलाई मूर्खहरूको हातमा नदेऊ।’   

(जर्मनीको ह्याम्बर्ग विश्वविद्यालयबाट विद्यावारिधि गरेका भट्टराई हस्तलिखित ग्रन्थ संरक्षण तथा अनुसन्धानमा संलग्न छन्।)  

प्रकाशित: २० असार २०७७ १५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App